२०८३ कार्तिक ३० गते सोमवार
१. सरकार प्रतिशोध र अधिनायकवादतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको आरोप
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाउनुभएको छ । उहाँले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानूनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको संवैधानिक व्यवस्थामाथि नै खलल पु¥याउने असामान्य घटनाका रूपमा व्याख्या गर्नुभयो । उहाँले उक्त घटनापछि मुलुक प्रतिगमनतर्फ गएको एमालेको विश्लेषण रहेको बताउनु भयो । फागुन २१ गते सम्पन्न निर्वाचन पनि असामान्य परिस्थितिमा भएको उल्लेख गर्दै उनले निर्वाचनबाट प्राप्त जनादेशलाई एमालेले सम्मान गरेको स्पष्ट पार्नुभयो । तर निर्वाचनपछि गठन भएको सरकारले लोकतान्त्रिक मूल्य मान्यता, संवैधानिक व्यवस्था र कानूनी प्रक्रियाअनुसार काम गर्न नसकेको उहाँको आरोप छ ।
२. मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको टोलीले चित्लाङस्थित प्रहरी चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो । प्रहरीकाअनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु जे ६ टी मोडलको एसयूभी गाडी जाँच गर्ने क्रममा डिक्कीमा राखिएका लगेजभित्र लुकाइएको अवस्थामा चरेसजस्तो पदार्थ फेला परेको थियो । कालो रङको लगेजभित्र लत्ताकपडासँगै सेतो प्लास्टिकले बेरिएका पाँचवटा पोका फेला परेका थिए ।
३. प्रधानमन्त्रीले भारत भ्रमणमा सीमा समस्या उठाउनुपर्छः महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसलाई व्यवहारबाट सच्याउनुपर्ने बताउनुभएको हो । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र राजनीतिक दलहरूले समेत आपत्ति जनाइसकेको बताउनु भयो । प्रधानमन्त्रीले संसद्मा सीमा विवाद समाधानका लागि तेस्रो पक्षलाई सहभागी गराउने आशयको अभिव्यक्ति दिएपछि त्यसको एउटा पक्ष सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति भने नसच्याएको पोखरेलको आरोप छ ।
४. जनताको समस्या संकलन गरेर प्रधानमन्त्री र पार्टी सभापतिलाई बुझाउने अमरेशको तयारी, वैशाखमा मध्यपहाडी लोकमार्गको पदयात्रा गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्राका क्रममा जनताबाट संकलन गरिएका समस्या र गुनासा प्रधानमन्त्री तथा पार्टी सभापतिलाई बुझाउने बताउनुभएको छ । सोमवार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै सिंहले जनताको घरदैलोमै पुगेर उनीहरूका समस्या सुन्ने र त्यसलाई अभिलेखीकरण गरी सम्बन्धित नेतृत्वसमक्ष पु¥याउने उद्देश्यले पदयात्रा गर्न लागेको बताउनुभएको हो । उहाँकाअनुसार पदयात्राका क्रममा संकलन गरिएका जनताका समस्या तीन प्रति तयार पारिनेछ । एउटा प्रति पार्टी सभापतिलाई पुस्तकका रूपमा हस्तान्तरण गरिने, दोस्रो प्रति प्रधानमन्त्रीलाई बुझाइने र तेस्रो प्रति आफैँले राखेर संसद्मा जनताका समस्या उठाउन प्रयोग गरिनेछ ।
५. जनताको कुरा सुन्न दुई महिने मेची–महाकाली पदयात्रामा अमरेशकुमार सिंह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह जनताको समस्या र गुनासा सुन्न दुई महिने मेची–महाकाली पदयात्रा गर्न मेची प्रस्थान गर्नुभएको छ । जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने तथा जनताको वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको बताउनुभएको हो । सोमवार जनकपुरधाममा आयोजित कार्यक्रममा सिंहले मंगलवार बिहान मेचीको किनारबाट शुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर समापन हुने जानकारी दिनुभयो । उहाँले पदयात्रालाई देश र समाज जोड्ने अभियान भएको बताउनु भयो । जात, धर्म, पहाड–मधेस तथा वर्ग समुदायका नाममा समाजमा द्वन्द्व हुन नहुने भन्दै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्नुपर्ने उहाँको भनाइ छ । सिंहले पदयात्राको अर्को मुख्य उद्देश्य जनताका कुरा सुन्नु रहेको बताउनु भयो ।
६. जनकपुरधाममा उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सकियो छठ पर्व
मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ । चार दिनसम्म श्रद्धा, भक्ति र आस्थाका साथ मनाइएको छठ पर्वको अन्तिम दिन सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै पर्व सम्पन्न भएको हो । छठ पर्वको अन्तिम दिन बिहानैदेखि जनकपुरधामका विभिन्न पोखरी, तलाउ तथा जलाशयहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको थियो । विशेषगरी गंगासागर, धनुषसागर, अरगज्जा पोखरी, रत्नसागरलगायतका पोखरीहरूमा व्रतालु तथा भक्तजनहरू बिहानैदेखि पूजाका सामग्रीसहित उपस्थित भएका थिए । उदाउँदो सूर्यको प्रतीक्षामा जलाशयमा पसेका व्रतालुहरूले सूर्यको पहिलो किरण देखिएसँगै विधिपूर्वक अघ्र्य अर्पण गरेका थिए ।
७. चिसो जलमा न्यानो आस्थाः काठमाडौंको छठ घाट
अब छठ केवल मधेस वा तराईको मात्र पर्व रहेन । यो आज काठमाडौंको साझा सांस्कृतिक धुकधुकी बनिसकेको छ । चिसो पानीमा घुँडासम्म डुबेर, नाकको टुप्पोदेखि सिउँदोसम्म पहेँलो–रातो सिन्दूर सजाई, हातमा करुवा, कलश र धूपबत्ती लिएर उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिइरहेका ब्रतालुहरूको मुहारमा देखिने शान्तिले हरेक दर्शकलाई भावविभोर बनाउँछ । बिहानैदेखि छठ घाटको सिँढीहरू सयपत्री फूलको माला, उखुका लाँक्रा, बाँसको छिटा र माटाका दियोहरूले भरिएका छन् । एकातिर ज्याकेट, ऊनी टोपी र न्यानो दोसल्लामा सजिएका परिवारजन हुन्छन् भने अर्कोतिर चिसो पानीको कुनै परवाह नगरी घुँडासम्म जलमा उभिएका व्रतालुहरू । यही विपरीत दृश्यले काठमाडौंको छठलाई अझ विशेष र मार्मिक बनाउँछ ।
८. घोषणापत्रका प्रतिवद्धता कार्यान्वयन गर्ने समय आयोः रवि लामिछाने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले चुनावी घोषणापत्र र नारामा सिमित भएका प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताउनुभएको छ । उहाँले जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिँदै मधेससहित देशभरका समस्या प्राथमिकताका आधारमा समाधान गर्न पार्टीले नीतिगत काम अघि बढाउने बताउनुभएको हो । सोमवार जनकपुरधाममा पार्टीका सांसद डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राका लागि झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै लामिछानेले नयाँ कानून निर्माण, विद्यमान कानूनको सुधार तथा नागरिकका हकअधिकार सुनिश्चित गर्ने कामलाई प्राथमिकता दिने बताउनु भयो ।
९.गोरखा मनकामना–बादलमाथिको आस्था
त्रिशूली र मस्र्याङ्दीको संगममाथिको कुहिरो छिचोल्दै जब केबलकारको डब्बा पहाडको टुप्पोतिर उक्लिन्छ, मनमा एउटा अलग्गै शान्ति र कौतूहल जाग्दछ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध मनकामना माईको मन्दिर केवल इँटा र काठको संरचना मात्र होइन, यो पुस्तादेखि पुस्तासम्म फैलिएको विश्वास, संस्कार, र आत्मीयताको जीवन्त संगम हो । बिहानीको चिसो सिरेटो र सेतो कुहिरोको घुम्टो ओढेको पहाडबीचबाट मनकामनाको यात्रा शुरु हुन्छ । आकाशमा झुण्न्स्टिेसनमा ओर्लिएपछि रातो सारीमा सजिएका आमा र ढाका टोपी लगाएका बुबादेखि तन्नेरी पुस्तासम्म सबैको अनुहारमा एउटै भाव झल्किन्छ । दर्शनको हतार र मनको पवित्रता। जुत्ता–चप्पल फुकालेर खाली खुट्टा चिसो ढुङ्गामा पाइला राख्नासाथ तीर्थयात्राको वास्तविक अनुभूति शुरु हुन्छ । जुत्तासँगै संसारको थकान बाहिरै फुकालेर जब खाली खुट्टा ढुङ्गे बाटोमा टेक्न पुगिन्छ, मन स्वतः हलुका हुँदोरहेछ ।
१०. गंगासागरमा रवि लामिछाने पत्नी निकिताद्वारा उदाउँदो सूर्यलाई अघ्र्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागरमा छठ पूजा गर्नुभएको छ । छठ पर्वको अन्तिम दिन सोमवार बिहान गंगासागर घाट पुगेर पौडेलले उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्नुभएको हो । उहाँले विधिपूर्वक सूर्यदेवको पूजा आराधना गर्दै छठी मातासँग सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभयो । छठ पर्वअन्तर्गत उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा गंगासागरमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको थियो । व्रतालुहरू पूजाका सामग्रीसहित घाटमा उपस्थित भई सूर्यको पहिलो किरणसँगै अघ्र्य अर्पण गरेका थिए । मिथिलाञ्चलको प्रसिद्ध धार्मिक स्थल गंगासागरमा छठ पर्वको विशेष रौनक देखिएको थियो ।
११. काठमाडौं उपत्यकामा उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न
काठमाडौं उपत्यकामा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै यस वर्षको छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ । चार दिनसम्म श्रद्धा, भक्ति र आस्थाका साथ मनाइएको छठ पर्वको अन्तिम दिन सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै सम्पन्न भएको हो । छठ पर्वको अन्तिम दिन बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न नदी, पोखरी तथा जलाशयमा व्रतालु र श्रद्धालु भक्तजनको भीड लागेको थियो । काठमाडौंको कमलपोखरी, गौरीघाट, थापाथली, गुह्येश्वरी, कुपण्डोललगायतका स्थानमा छठ मनाउन भक्तजनहरू बिहानैदेखि पूजाका सामग्रीसहित उपस्थित भएका थिए । विशेषगरी कमलपोखरी, बागमती नदी किनार तथा अन्य छठ घाटहरूमा बिहानैदेखि धार्मिक रौनक देखिएको थियो । व्रतालुहरू रातिदेखि नै घाटमा बसेर उदाउँदो सूर्यको प्रतीक्षा गरेका थिए ।
१२. एमालेको राष्ट्रिय भेलाले नयाँ निर्णय गर्दैनः महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाले कुनै नयाँ निर्णय नगर्ने स्पष्ट पार्नुभएको छ । उहाँले राष्ट्रिय भेलाको मुख्य उद्देश्य पार्टीले यसअघि गरेका निर्णयलाई कार्यान्वयनमा एकरूपता कायम गराउनु रहेको बताउनुभएको हो । सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले राष्ट्रिय भेला निर्णय गर्ने निकाय नभई भएका निर्णयलाई पार्टीका सबै तहसम्म पु¥याउने र कार्यान्वयनमा एउटै धारणा निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको बताउनु भयो । उहाँकाअनुसार नयाँ निर्णय गर्ने अधिकार पार्टीको कार्यकारिणी कमिटीमा रहनेछ । आवश्यकताअनुसार केन्द्रिय कमिटीले पनि नयाँ निर्णय गर्नसक्ने भएपनि राष्ट्रिय भेलाबाट भने कुनै नयाँ निर्णय नहुने उहाँले स्पष्ट पार्नुभयो ।
१३. एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने, स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा
नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ । पार्टीको केन्द्रिय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै भेलामा केन्द्रिय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागिता रहने बताउनु भयो । उहाँकाअनुसार पार्टीको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रिय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरिएको हो ।
१४. उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ सम्पन्न, राप्ती तटमा हजारौँको आस्था
सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ । आईतवार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका व्रतालुहरूले सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेसँगै चारदिने छठ पर्व समापन गरेका हुन् । हेटौँडाको राप्ती नदी तटमा पनि श्रद्धा, भक्ति र उत्साहका साथ छठ मनाइएको छ । दुई–तीन परिवारबाट शुरु भएको राप्ती तटको छठ पूजा ४६ वर्षमा हजारौँ परिवारको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ । आईतवार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै हेटौँडाको राप्ती नदी तटमा छठ पर्वको मुख्य पूजा गरिएको थियो । दिनभर पूजाको तयारीमा जुटेका व्रतालुहरू साँझ पूजाका सामग्रीसहित नदी किनारमा पुगे ।
१५. अन्तरदेशीय चुनौती समाधानमा एपेकको भूमिका महत्त्वपूर्णः अमेरिकी विज्ञ गुप्ता
अमेरिकी विज्ञ सौरभ गुप्ताले अन्तरदेशीय चुनौतीहरूको समाधान तथा क्षेत्रीय आर्थिक सहकार्य विस्तारमा एसिया प्रशान्त आर्थिक सहयोग मञ्च (एपेक) को भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा आयोजना हुने ३३ औँ एपेक आर्थिक नेताहरूको बैठकको पूर्वसन्ध्यामा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । चीन–अमेरिका अध्ययन संस्थानका आवासीय वरिष्ठ अनुसन्धानकर्ता गुप्ताले यस वर्षको एपेक कार्यसूचीमा समेटिएका खुलापन, नवप्रवर्तन र सहकार्यका विषयलाई समयसापेक्ष महत्त्वपूर्ण प्राथमिकताका रूपमा व्याख्या गरे । उनकाअनुसार एपेक क्षेत्रीय आर्थिक सहकार्यको यस्तो मञ्च हो, जसले खुलापन र आर्थिक उदारीकरणको दायरालाई निरन्तर विस्तार गर्दै आएको छ । यस मञ्चमा अमेरिका र चीन एउटै टेबलमा बसेर क्षेत्रीय तथा विश्वव्यापी आर्थिक विषयमा छलफल गर्ने अवसर प्राप्त गर्छन् ।
१६. अरब क्षेत्रमा पहिलोपटक परम्परागत चिनियाँ चिकित्सा शिक्षा विश्व सम्मेलन
परम्परागत चिनियाँ चिकित्सा शिक्षासम्बन्धी आठौँ विश्व सम्मेलन शनिबार इजिप्टको राजधानी कायरोमा शुरु भएको छ । पहिलोपटक अरब क्षेत्रमा आयोजना गरिएको सम्मेलनमा परम्परागत चिनियाँ चिकित्सा पद्धतिको अन्तर्राष्ट्रिय विस्तार, शिक्षा, अनुसन्धान तथा आधुनिक चिकित्सासँगको समन्वयका विषयमा छलफल भइरहेको छ । विश्व चिनियाँ चिकित्सा समाज महासङ्घ र इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन शुरु भएको हो । ‘पूर्वीय ज्ञान, विश्वव्यापी साझेदारी ः सबैका लागि स्वास्थ्यको विश्वव्यापी समुदाय निर्माणमा परम्परागत चिनियाँ चिकित्सा शिक्षा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनमा विभिन्न देशका सरकारी अधिकारी, चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक संस्था र व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका छन् । सम्मेलनमा चीन, अमेरिका, रुस, फ्रान्स, लेबनान, इजिप्टलगायतका देशबाट चार सयभन्दा बढी प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ।
१७. कम्बोडिया र फ्रान्सबीच द्विपक्षीय सहकार्य विस्तार गर्न २९ सम्झौतामा हस्ताक्षर
कम्बोडिया र फ्रान्सले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने उद्देश्यसहित २९ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । अर्थतन्त्र, लगानी, ऊर्जा, प्रविधि, संस्कृति तथा रक्षा क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउने लक्ष्यसहित दुवै देशबीच आइतबार सम्झौता भएको हो । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँगको औपचारिक वार्तापछि सम्झौतामा हस्ताक्षर गरिएको जानकारी दिएका हुन् । कम्बोडियाको राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा आयोजित हस्ताक्षर समारोहमा दुवै देशका उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो । फ्रान्सेली राष्ट्रपति म्याक्रों र कम्बोडियाली प्रधानमन्त्री मानेटबीच भएको द्विपक्षीय वार्तापछि विभिन्न क्षेत्रसँग सम्बन्धित २९ वटा सम्झौता तथा समझदारीपत्र आदानप्रदान गरिएको हो । सम्झौतापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मानेटले कम्बोडिया र फ्रान्स बहुपक्षीय सहकार्यको अवधारणाप्रति प्रतिवद्ध रहेको बताए ।
१८. कम्बोडियामा २० औँ फ्रान्कोफोनी शिखर सम्मेलन शुरु, शान्ति र बहुपक्षीय सहकार्यमा जोड
कम्बोडियाको राजधानी नोम पेन्हमा २० औँ फ्रान्कोफोनी शिखर सम्मेलन आईतवार औपचारिक रूपमा शुरु भएको छ । विश्व शान्ति स्थापना, अन्तर्राष्ट्रिय सहकार्य, बहुपक्षीयता र दिगो विकासलाई मुख्य प्राथमिकतामा राख्दै सम्मेलन शुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा अन्तर्राष्ट्रिय सङ्गठन फ्रान्कोफोनी (ओआईएफ) का ८० भन्दा बढी फ्रान्सेली भाषी देश तथा क्षेत्रका राष्ट्रप्रमुख, सरकार प्रमुख र उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएका छन् । ‘साझा समृद्धि र दिगो स्थायित्वका लागि शान्तिमा पुनः लगानी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनले सदस्य राष्ट्रहरूबीचको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखेको छ । सम्मेलनमा आपसी एकता, खुलापन, संवाद, सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय सहकार्यका साझा मूल्यलाई पुनः स्थापित गर्ने विषयमा समेत जोड दिइएको छ ।
१९. खाडी मुलुकको क्षतिपूर्ति माग इरानद्वारा अस्वीकार
इरानले आफ्ना आक्रमणबाट भएको क्षति, नोक्शानी तथा मानवीय क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने खाडी मुलुकहरूको माग अस्वीकार गरेको छ । इरानले अमेरिकी सैन्य अखडा तथा सम्पत्तिमाथि गरिएका आक्रमणबाट प्रभावित खाडी सहयोग परिषद् (जीसीसी) आवद्ध मुलुकहरूले क्षतिपूर्ति माग्नु उचित नभएको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले आईतवार आयोजित नियमित पत्रकार सम्मेलनमा खाडी सहयोग परिषद्ले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मार्फत अघि सारेको क्षतिपूर्तिको माग अस्वीकार गरेका हुन् । उनले इरानविरुद्धको सैन्य आक्रमणमा सक्रिय रूपमा सहभागी भएका तथा आक्रमणकारीलाई आफ्नो भूभाग प्रयोग गर्न दिएका क्षेत्रीय मुलुकहरूले इरानसँग क्षतिपूर्ति माग्न नसक्ने तर्क गरे ।
२०. चीन–थाइल्याण्ड अन्तरिक्ष सहकार्य विस्तार हुँदै, वैज्ञानिक आदानप्रदानबाट व्यावहारिक परियोजनासम्म
चीन र थाइल्यान्डबीच अन्तरिक्ष तथा अन्तरिक्ष विज्ञान प्रविधिको क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको छ । रेडियो टेलिस्कोप निर्माण, भूउपग्रह प्रक्षेपण तथा संयुक्त शैक्षिक कार्यक्रममार्फत दुई देशले वैज्ञानिक आदानप्रदानलाई व्यावहारिक परियोजनामा रूपान्तरण गरिरहेका छन् । यस सहकार्यबाट दुवै देशसँगै दक्षिणपूर्वी एसियाली क्षेत्रले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ । सन् २०२५ मे महिनामा थाइल्यान्डको पहिलो ‘भेरी लङ बेसलाइन इन्टरफेरोमेट्री (भीएलबीआई) ग्लोबल अब्जर्भिङ सिस्टम (भीजीओएस)’ रेडियो टेलिस्कोप सञ्चालनमा ल्याइएको थियो । थाइल्याण्डको चियाङ माईमा स्थापना गरिएको १३ मिटर क्षमताको उक्त टेलिस्कोप थाइल्यान्डको राष्ट्रिय खगोलीय अनुसन्धान संस्थान र चिनियाँ साझेदार संस्थाहरूको संयुक्त सहकार्यमा निर्माण गरिएको हो ।
२१. वर्तमान परिस्थिति कायम रहे आईएईएसँग सहकार्य सुधार सम्भव छैनः इरान
इरानले वर्तमान परिस्थिति यथावत रहे अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्यमा सुधार हुने सम्भावना नरहेको जनाएको छ । इरानले आफ्ना आणविक केन्द्रमाथि अमेरिका र इजरायलले गरेको आक्रमणलाई एजेन्सीले स्पष्ट रूपमा सैन्य आक्रमणका रूपमा उल्लेख नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका हुन् । आईएईएको सञ्चालक समिति बैठकअघि सार्वजनिक गरिएको गोप्य प्रतिवेदनका विषयमा प्रतिक्रिया दिँदै उनले एजेन्सीको पछिल्लो व्यवहारले इरानसँगको सम्बन्ध थप जटिल बनाएको बताए । बघाईकाअनुसार अमेरिका र इजरायलले इरानका आणविक केन्द्रमा गरेको आक्रमणका कारण आईएईएको अनुगमन तथा निरीक्षण गतिविधि प्रभावित भएको तथ्य एजेन्सीले स्वीकार गरेको छ।
२२. तीन देशका राजदुतले लिए राष्ट्रपतिसमक्ष सपथ
तीन देशका लागि नवनियुक्त राजदुतहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदुतहरूले शपथ लिनुभएको हो । भारतका लागि राजदुत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदुत डा.कल्याणराज शर्मा र इजरायलका लागि राजदुत सुरेश कर्णले शपथ लिनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई समितिले उहाँहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उहाँहरुलाई राजदुत पदमा नियुक्त गर्नुभएको थियो । मन्त्रीपरिषद्ले १३ जना राजदुतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाई समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो । संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरुमा राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । अग्रिमो आएका ३ जना राजदुतहरूले मात्रै सोमबार पद तथा गोपनियताको सपथ लिनुभएको हो ।
२३. नेपाल–भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छः बेहुरिया
भारतको सेन्टर फर पिस स्टडिजका प्रमुख डा. अशोककुमार बेहुरियाले नेपाल र भारतबीचको सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राखेर साझा हितका आधारमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल–भारत सम्बन्धका बदलिँदो आयामहरूबारे आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । यसका लागि दुवै देशले आफूलाई भूराजनीतिक उतारचढावबाट टाढा राख्नु पर्ने बताउनु भयो । अमेरिका र चीनबीच राजनीतिक तथा रणनीतिक प्रतिष्पर्धा रहेपनि आर्थिक सम्बन्ध र व्यापारिक सहकार्य कायम रहेको उदाहरण दिँदै उहाँले भूराजनीतिक प्रतिष्पर्धाले आर्थिक सहकार्य रोक्न नसक्ने बताउनु भयो । उहाँकाअनुसार अमेरिका र चीनबीच करिव ६०० अर्ब अमेरिकी डलरको व्यापार भइरहेको छ । भूराजनीतिले उनीहरूलाई एकअर्काबाट टाढा लैजान खोजे पनि अर्थतन्त्रले फेरि नजिक ल्याइरहेको उहाँले बताउनु भयो ।
२४. धेरैजसो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत राखे
वाणिज्य बैंकहरूले मंसिर १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार धेरैजसो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ बैंकले ब्याजदर परिवर्तन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट घटाएर ३.९० प्रतिशतमा झारेको छ । त्यस्तै, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशत, एनएमबि बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ग्लोवल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईएमबि बैंक र एनआईसी एसिया बैंक रहेका छन् ।
२५. पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति
चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ । अर्थमन्त्रालयलयका अनुसार वैदेशिक ऋण तथा अनुदान गरी असोज मसान्तसम्म उक्त रकम प्राप्त भएको हो । असोज मसान्तसम्मको विवरणअनुसार वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । यस शिर्षकमा सरकारले वार्षिक २ खर्ब ४७ अर्ब ३५ करोड ७ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । लक्ष्यको तुलनामा ऋण प्राप्तिको प्रगति १३.८८ प्रतिशत रहेको छ । त्यस्तै, अनुदानतर्फ ७ अर्ब ९८ करोड ४९ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असोज मसान्तसम्म १२.९३ प्रतिशत प्रगति भएको छ ।
ऋण र अनुदान गरी चालु आर्थिक वर्षमा कुल ३ खर्ब ९ अर्ब २९ करोड ६१ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने वार्षिक लक्ष्य रहेको छ । असोज मसान्तसम्म कुल ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij