२०८३ कार्तिक ३० गते सोमवार
काठमाडौँ । नेपाल रेल्वे कम्पनीले जनकपुर–अयोध्या रेल सेवा सञ्चालनका लागि आवश्यक मोडालिटी र प्राविधिक तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । सेवा सञ्चालनको ढाँचा, समयतालिका तथा व्यवस्थापनका विषयमा निरन्तर छलफल र बैठकहरू भइरहेकाले एक–दुई दिनभित्रै सम्पूर्ण विषय टुंगो लाग्ने कम्पनीले जनाएको छ ।
रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सुरुवाती चरणमा सातामा एकपटक ‘राउन्ड ट्रिप’ सञ्चालन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाइएको छ । यता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह यही मंसिरको पहिलो हप्ता छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने तयारीमा रहेकाले भ्रमणकै अवसर पारेर जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन वा सञ्चालनसम्बन्धी घोषणा हुने चर्चासमेत चलेको छ ।
सरकारले भ्रमणको औपचारिक घोषणा गर्न बाँकी रहे पनि स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ देखि ८ गतेसम्म भारत भ्रमणमा जाने सम्भावना छ । ‘अहिले हामी निरन्तर सल्लाह र बैठकमै छौँ,’ प्रबन्ध सञ्चालक पराजुलीले भने, ‘कन्फर्मेसन भएपछि एक–दुई दिनमा फाइनल हुन्छ र भोलि–पर्सिसम्ममा आधिकारिक रूपमै बाहिर आउँछ ।’
प्रबन्ध सञ्चालक पराजुलीका अनुसार जनकपुर–अयोध्या रेल सेवा सुरुवाती चरणमा साप्ताहिक रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ । पहिलो चरणमा हप्तामा एउटा ‘राउन्ड ट्रिप’ अर्थात् हप्तामा एकपटक आउने–जाने गरी सेवा सुरु गर्ने तयारी गरिएको उनले बताए । पछि यात्रुहरूको चाप र माग बढ्दै गएमा सेवाको संख्या थप्दै लैजान सकिने उनको भनाइ छ ।
हाल नेपाल रेल्वे कम्पनीका दुईवटा रेल महोत्तरीको भंगाहास्थित बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगरसम्मको ५२ किलोमिटर खण्डमा नियमित सञ्चालनमा छन् । यही सञ्जालमा जनकपुर–अयोध्यालाई पनि जोड्ने गरी प्रक्रिया अगाडि बढाइएको पराजुलीले स्पष्ट पारे । उनका अनुसार अयोध्याबाट आउने रेल बिजलपुरासम्म नपुगी जनकपुरसम्म मात्रै आएर जनकपुरबाटै फर्किनेछ ।
भारततर्फको करिब ६०४ किलोमिटर लामो दूरी तय गर्ने क्रममा बिचमा धेरै वटा स्टेसनहरू पर्ने भएकाले यात्रु अभावको समस्या नहुने विश्वास कम्पनीको छ । ‘जनकपुरबाटै सबै यात्रु भरिनुपर्छ भन्ने छैन,’ उनले भने, ‘६०४ किलोमिटर कुद्ने क्रममा बिचमा थुप्रै स्टेसनहरू आउने भएकाले जनकपुरबाट यात्रु कम भए पनि जयनगर वा अगाडिका अन्य स्टेसनबाट पनि यात्रु लिन्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij