२०८३ कार्तिक ३० गते सोमवार
काठमाडौं । सप्तरीमा मोटरसाइकलले स्याललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बोदेबरसाईन नगरपालिका–७ हैठीस्थित हुलाकी सहाय खण्डमा प्र.२–०१–००२ प ४१६३ नम्बरको मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परेर मोटरसाइकल चालक अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ मल्हनियाँका करिब ५० वर्षीय नजरुल मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेका मियाँको उपचारका क्रममा निधन भएको हो । मोटरसाइकलको पछाडि सवार उनका २२ वर्षीय छोरा मो। नजामुल मियाँ भने घाइते भएका छन् ।
त्यस्तै, सिरहाको बलान बिहुल गाउँपालिका–६ सेहरा चोकस्थित हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको छ ।
चन्हीबाट बोदेबरसाईनतर्फ जाँदै गरेको म.प्र.०१–००५ प ५६७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक बलान बिहुल गाउँपालिका–२ चन्हीका २० वर्षीय राजीव पासवान घाइते भएका थिए ।
उनको उपचारकै क्रममा आइतबार दिउँसो १:१० बजे चिकित्सकले उनलाई मृत घोषणा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यसैगरी बोदेबर्साइन नगरपालिका वडा नम्बर–७ हैठीस्थित हुलाकी सहाय खण्डमा मोटरसाइकल दुर्घटना हुँदा बोदेबरसाईन नगरपालिका वडा नम्बर– १० श्रीपुरका मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय विजय मण्डल र पछाडि सवार २१ वर्षीय राम प्रकाश साह घाइते भएका छन् ।
यस्तै, सप्तकोशी नगरपालिका–११ भगनीमा भारतीय नम्बरको कारको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते भएका छन् । फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको भारतीय कारले सोही दिशातर्फ गइरहेका साइकलयात्रीलाई पछाडिबाट ठक्कर दिएको हो ।
ठक्करबाट सप्तकोशी नगरपालिका–११ भगनीका करिब ५० वर्षीय दनाई सदा घाइते भएका हुन् । त्यसैगरी, अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ बग्दुवामा मोटरसाइकल अनियन्त्रित भई नहरमा खस्दा एक युवक गम्भीर घाइते भएका छन् ।
महुलीबाट लोहजरातर्फ जाँदै गरेको प्रदेश १–२०४५ प ९८४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको नहरमा खसेर दुर्घटना भएको हो । सो दुर्घटनामा मोटरसाइकल चालक तिरहुत गाउँपालिका–५ लोहजराका १९ वर्षीय छोरा शैलेश कुमार साह घाइते भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij