Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णाली याक्सको जित

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णाली याक्सको जित


  • 253
    Shares

    • images
    हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णाली याक्सको जित

    काठमाडौं । हुसेन तलतको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ।

    यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको कर्णालीले लिग चरणको अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। सुरुवाती दुई खेल जितेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित भएको थियो।

    अर्कोतर्फ, चितवनले यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो। सात खेलबाट सात अंक जोडेको चितवन लिग चरणमा चौथो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ।

    कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा सबै विकेट गुमाएर १२९ रनमा समेटियो। चितवनका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका उसामा मिरले अविजित २८ रन बनाए। उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे।

    ओपनर कमिल मिशाराले १७ बलमा दुई चौका र दुई छक्कासहित २५ रन बनाए भने देव खनालले १४ रन जोडे। कमिल र देवले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए।

    त्यसपछि चितवनको ब्याटिङ धराशायी बन्यो। कप्तान सिकन्दर राजा दुई, विवेक यादव ६ र डान मोस्ली आठ रनमा आउट भए। ६४ रन जोड्दा पाँच विकेट गुमाएको चितवनले त्यसपछि पनि सम्हालिन सकेन।

    कुशल मल्लले १८ तथा सलाउद्दिन खानले सात रन बनाए। अशोक धामीले ११ रन जोड्दा कमल सिंह ऐरी र रिजन ढकाल समान एक रनमा आउट भए।

    कर्णालीका लागि हुसेन तलतले ३.१ ओभरमा १७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। मार्क वाट र पवन सर्राफले दुई-दुई तथा सोमपाल कामीले एक विकेट लिए।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो।

    कर्णालीका लागि हुसेन तलतले ३३ बलमा दुई चौका र एक छक्कासहित अविजित ५१ रन बनाए। ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडे।

    त्यस्तै, पवन सर्राफले १५ र गुल्सन झाले ६ बलमा एक चौका तथा दुई छक्कासहित आक्रामक १८ रन बनाए। अन्य ब्याटरले भने उल्लेखनीय योगदान दिन सकेनन्।

    चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले दुई-दुई विकेट लिए। रिजन ढकाल र कप्तान सिकन्दर राजाले एक-एक विकेट हात पारे।

    यस खेलमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका हुसेन तलत कर्णालीको जितका मुख्य नायक बने।

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १६:४३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij