Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

विवादमा मुछिएका बैदवार उपरथीमा बढुवा हुँदै

विवादमा मुछिएका बैदवार उपरथीमा बढुवा हुँदै


  • 197
    Shares

    • images
    विवादमा मुछिएका बैदवार उपरथीमा बढुवा हुँदै

    काठमाडौं । नेपाली सेनाका सहायक रथी मनोज बैदवारलाई उपरथी पदमा बढुवा गर्न प्रक्रिया अघि बढाइएको छ। जङ्गी अड्डाले बढुवा सिफारिस गर्नुअघि आवश्यक सूचना प्रकाशन गरेको हो।

    हाल मध्यपश्चिम पृतना हेडक्वार्टरमा कार्यरत बैदवार २०८२ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा राष्ट्रपतिको सुरक्षाको मुख्य कमाण्डरका रूपमा जिम्मेवारीमा थिए। भदौ २४ गते प्रदर्शनकारीहरू शीतल निवास प्रवेश गरी राष्ट्रपति कार्यालय तथा निवासमा आगजनी गरेका थिए। त्यसपछि नेपाली सेनाले राष्ट्रपतिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो।

    राष्ट्रपति कार्यालयको सुरक्षा गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगले बैदवारमाथि विभागीय कारबाही गर्न सिफारिस गरेका थिए। यद्यपि, उनीमाथि हालसम्म कुनै कारबाही भएको छैन।

    जङ्गी अड्डाले सैनिक ऐन, २०६३ को परिच्छेद ४ को दफा २१ तथा सैनिक सेवा नियमावली, २०६९ अनुसार बैदवारलाई उपरथीमा बढुवा सिफारिस गर्न सूचना प्रकाशन गरेको सेनाका एक उच्च अधिकृतले बताएका छन्।

    बढुवा सिफारिसप्रति चित्त नबुझ्ने व्यक्तिले सैनिक सचिव विभागमा उजुरी दिन सक्ने व्यवस्था छ। उजुरीको टुङ्गो लागेपछि जङ्गी अड्डाले बढुवाका लागि रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा सिफारिस गर्ने कानुनी प्रक्रिया रहेको छ।

    यसैबीच, नेपाली सेनाको रथी पदमा उपरथी अनुपजंग थापालाई बढुवा गर्न सिफारिस गरिएको छ। आवश्यक प्रक्रिया पूरा गरी उनको नाम रक्षा मन्त्रालयमा पठाइएको सैनिक अधिकारीहरूले बताएका छन्। उनी हालका रथी गणेश श्रेष्ठको स्थानमा बढुवा हुन लागेका हुन्। श्रेष्ठ मंसिरको पहिलो साता अवकाशमा जाँदै छन्।

    त्यस्तै, मंसिरको तेस्रो साता अर्का रथी प्रदीपजंग केसी पनि अवकाशमा जाने भएकाले उनको स्थानमा उपरथी मधुकर कार्कीलाई बढुवा सिफारिस गर्न सूचना प्रकाशन गरिएको छ।

    उच्च सैनिक अधिकृतहरू अवकाशअघि बिदामा बस्ने प्रचलन रहेकाले रिक्त हुने पदमा समयमै बढुवा प्रक्रिया अघि बढाउन सूचना प्रकाशन गरिएको एक उच्च सैनिक अधिकृतले बताएका छन्।

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १६:१२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij