२०८३ कार्तिक २९ गते आइतवार
काठमाडौं । काठमाडौंमा चोरीको मोटरसाइकलसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सुरक्षा जाँचका क्रममा बा ८४ प ५४८४ नम्बरको मोटरसाइकल शंकास्पद अवस्थामा फेला पारेपछि अनुसन्धान अघि बढाएको थियो।
सो क्रममा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेञ्जिङ लामा र जुगल गाउँपालिका–३ का १९ वर्षीय लाक्पा शेर्पालाई पक्राउ गरिएको थियो। उनीहरूसँगको सोधपुछका क्रममा मोटरसाइकल २८ वर्षीय समिर तामाङ (दशलाल)ले बिक्री गरेको खुलेपछि प्रहरीले उनलाई सुन्दरीजलबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट एनएस–२०० मोटरसाइकल, एनटीओआरक्यू स्कुटर, दुई थान नम्बर प्लेट, एउटा सवारी दर्ता किताब, टुल बक्स, टुलकिट र चार थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij