Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

तालिबानको नयाँ नियम : महिलाको उपचार पुरुष चिकित्सकले गर्न नपाउने

तालिबानको नयाँ नियम : महिलाको उपचार पुरुष चिकित्सकले गर्न नपाउने


  • 197
    Shares

    • images
    तालिबानको नयाँ नियम : महिलाको उपचार पुरुष चिकित्सकले गर्न नपाउने

    काठमाडौं । अफगानिस्तानमा तालिबानले महिलामाथि लगाएका प्रतिबन्ध थप कडा बनाउँदै पुरुष चिकित्सक र दन्त चिकित्सकलाई महिला बिरामीको उपचार गर्न अनौपचारिक रूपमा रोक लगाएको छ । आकस्मिक अवस्थामा समेत महिलासँग पुरुष अभिभावक (महरम) अनिवार्य हुनुपर्ने नियम लागू गरिएको छ । यसले महिलाका लागि आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नसमेत कठिन बनाएको छ ।

    द गार्जियन र जान टाइम्सको संयुक्त प्रतिवेदनअनुसार, पुरुष चिकित्सकले महिलाको उपचार गर्न नपाउने अघोषित प्रतिबन्धका कारण धेरै महिला उपचारबाट वञ्चित भएका छन् । तालिबानले औपचारिक घोषणा नगरे पनि अस्पताल र निजी क्लिनिकहरूमा यस्तो नियम कार्यान्वयन भइरहेको छ ।

    यसको प्रत्यक्ष मारमा हेरात सहरकी ३७ वर्षीया फरीदा (परिवर्तित नाम) परेकी छन् । यसै वर्ष इरानबाट फर्किएकी उनको परिवार आर्थिक समस्यासँग जुधिरहेको छ । दाँतमा असह्य पीडा भएपछि उनी जुलाईको सुरुवातमा एक दन्त क्लिनिक पुगेकी थिइन् । चिकित्सकले नक्कली दाँत प्रत्यारोपण गर्न सुझाव दिएपछि उनले उपचारको सम्पूर्ण रकम अग्रिम भुक्तानी गरिन् ।

    तर तेस्रो चरणको उपचारमा प्रत्यारोपण गर्ने समयमा उनलाई उपचार गर्न नसकिने भन्दै घर फर्काइयो । दुई दिनपछि क्लिनिकले पुरुष दन्त चिकित्सकले अब महिलाको उपचार गर्न नपाउने जानकारी दियो । त्यसयता तीन महिना बितिसक्दा पनि उनको उपचार पूरा हुन सकेको छैन ।

    महिलामाथिका प्रतिबन्ध स्वास्थ्य सेवामा मात्र सीमित छैनन् । उत्तरी बल्ख प्रान्तका अधिकारीहरूले गत मे महिनामा सरकारी तथा निजी अस्पताललाई महिला बिरामीलाई उनीहरूको वास्तविक नामबाट नबोलाउन निर्देशन दिएका थिए । चिकित्सकले दिने औषधिको पुर्जामा समेत महिलाको नामको सट्टा ‘श्रीमती’ लेख्न भनिएको छ ।

    कुनार प्रान्तकी रहीमा (परिवर्तित नाम)ले पनि आफ्नी वृद्ध आफन्तलाई उपचार गराउन निकै कठिनाइ भएको बताएकी छन् ।

    छापा र जेलको त्रास

    तालिबानका सुरक्षा बलले स्वास्थ्य क्लिनिकहरूमा छापा मार्न थालेका छन् । क्लिनिकमा महिला बिरामी भेटिए पुरुष चिकित्सकलाई जेल हाल्ने चेतावनी दिइएको छ । एक शल्यचिकित्सकका अनुसार, पुरुष अभिभावक अर्थात् महरमबिना महिला बिरामीको उपचार नगर्न आफूहरूलाई निर्देशन दिइएको छ ।

    गत फेब्रुअरीमा तालिबानका सञ्चारमन्त्री हमदुल्लाह नोमानीले उपचार गर्ने क्रममा पुरुष चिकित्सकलाई नै महिलाको महरम मानिने दाबी गरेका थिए । तर व्यवहारमा भने त्यसको ठिक विपरीत नियम लागू भइरहेको छ ।

    पूर्वी सहर जलालाबादस्थित एक दन्त क्लिनिकमा सहायकका रूपमा काम गर्ने नरगिस (परिवर्तित नाम) का अनुसार, केही चिकित्सकले महिला बिरामीको उपचार गर्दा क्लिनिकबाहिर एक व्यक्तिलाई निगरानीका लागि राख्ने गरेका छन् । उनका चिकित्सकले त तालिबान अधिकारी छापा मार्न आए बुर्का लगाएर उम्किन सकियोस् भन्दै कार्यालयमा एउटा अफगानी बुर्का (चादरी) राख्नुपर्ने ठट्टासमेत गर्ने गरेका छन् ।

    महिला चिकित्सकको अभावले थप समस्या

    महिला स्वास्थ्यकर्मीको अभावले पनि अफगान महिलाको स्वास्थ्य सेवा पहुँच थप कमजोर बनेको छ । सन् २०२४ डिसेम्बरदेखि महिलालाई चिकित्सा शिक्षासम्बन्धी संस्थामा अध्ययन गर्न र अस्पतालमा महिला कर्मचारीका रूपमा भर्ना हुन रोक लगाइएपछि महिला चिकित्सकको संख्या घटेको छ ।

    हाल कार्यरत सीमित महिला चिकित्सकले समेत पुरुष अभिभावक साथमा राख्नुपर्ने बाध्यता छ । एक महिला बिरामीले आफ्ना बुबासँगै क्लिनिक पुग्दासमेत पुरुष चिकित्सकले महिला बिरामीलाई छुन नपाउने नियमका कारण घण्टौँ कुर्नुपरेको बताएकी छन् ।

    उपचारबाट वञ्चित हुने जोखिम

    तालिबानका प्रतिबन्धका कारण अफगान महिलासँग अहिले उपचारका सीमित विकल्प मात्र बाँकी छन् । उनीहरूले आफ्नो र चिकित्सकको जोखिम मोलेर लुकीछिपी उपचार गराउनुपर्ने, पर्याप्त तालिम नलिएका महिला स्वास्थ्यकर्मीबाट उपचार लिनुपर्ने वा रोग पालेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।

    यसरी महिला चिकित्सकको उत्पादन र नियुक्तिमा रोक लगाउनुका साथै पुरुष चिकित्सकबाट उपचार लिनसमेत अवरोध सिर्जना हुँदा अफगानिस्तानमा महिलाको आधारभूत स्वास्थ्य अधिकार नै गम्भीर संकटमा परेको छ ।

    एजेन्सी

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - ०९:२५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij