२०८३ कार्तिक २७ गते शुक्रवार
अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार गोली चलेको छ।
वासिङ्टन डिसीका प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार घटनामा गोली हान्ने व्यक्तिसमेत २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
घटनालगत्तै आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीले आफैँलाई गोली हानेको जस्तो देखिएको बताएका छन्। वासिङ्टन डिसीका अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्लु क्यारोलले पत्रकार सम्मेलनमा प्रहरी घटनास्थलमा ३० सेकेन्डभित्रै पुगेको बताए।
वासिङ्टन डीसीमा रहेको ह्वाइट हाउसबाट करिब १.६ किलोमिटर टाढा मात्र गोली चलेको हो। अमेरिकी समाचार एजेन्सी एपीका अनुसार आक्रमणकारीले सुरुमा फिटनेस सेन्टरभित्र एक व्यक्तिलाई गोली हानेका थिए।
त्यसपछि ती व्यक्तिले जिमबाट बाहिर निस्किएर पार्किङ ग्यारेजमा पनि गोली चलाए। जहाँ एक जनालाई गोली लाग्यो। घटनापछि त्यस क्षेत्रमा भागदौड भएको थियो। मानिसहरू आफ्नो ज्यान बचाउन पसल र घरहरूमा लुकेका थिए।
लगत्तै प्रहरीले त्यस क्षेत्रलाई घेराबन्दी गरी मानिसहरूलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिएको थियो। प्रहरीले स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजे आसपास गोली चलेको खबर पाएको थियो।
गोली लागेर घाइते चार जनालाई अस्पताल लगिएको छ, जसमध्ये एकको अवस्था गम्भीर छ। प्रहरीले गोली चलाउने व्यक्ति एक गोरा पुरुष भएको बताएको छ। प्रहरीले अपार्टमेन्ट भवनको घरधनी संघसँग विवाद भएको हुन सक्ने अनुमान गरेको छ।
यद्यपि प्रहरीले गोली चलाउनुको कारण अझै पुष्टि गरेको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij