२०८३ कार्तिक २५ गते बुधवार
गोरखा । सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मङ्गलबार बिहान चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी कच्ची सडकको छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भई सडकबाट करिब ४० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी सिरानचोक गाउँपालिका–२ मैपतेकी ३२ वर्षीया मञ्जु परियार र सोही स्थानकी अन्दाजी ५० वर्षीया गीतामाया परियार गम्भीर घाइते भएका छन् । गीतामायाको टाउकोमा भित्री चोटका साथै दायाँ खुट्टा र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा सिरानचोक–२ कै २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार मध्यम घाइते भएका छन् । सिरानचोक–५ भाँगेका ४० वर्षीय ट्याक्सी चालक वीरबहादुर गुरुङको अवस्था भने सामान्य रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij