Logo

२०८३ कार्तिक २५ गते बुधवार

२०८३ कार्तिक २५ गते बुधवार

एकै दिन पुगे तनहुँको थानीमाई मन्दिरमा ९१ डोली

एकै दिन पुगे तनहुँको थानीमाई मन्दिरमा ९१ डोली


  • 561
    Shares

    एकै दिन पुगे तनहुँको थानीमाई मन्दिरमा ९१ डोली
    images

    तनहुँ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर पछिल्लो समय धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ। 

    अग्लो डाँडाको थुम्कोमा अवस्थित यस मन्दिरमा पूजा, आराधना र भाकल गर्न तनहुँसहित देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन्। विशेषगरी वर्षका निश्चित महिनाका मङ्गलबार यहाँ लाग्ने भक्तजनको भीड, फूलको डोली र पञ्चैबाजाको गुञ्जनले बसन्तपुर क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने गरेको छ।

    थानीमाई मन्दिरमा भक्तजनको आकर्षण कति छ भन्ने पछिल्लो कात्तिक महिनाको तथ्याङ्कले पनि देखाउँछ । कात्तिकका दुई मङ्गलबारमा मात्रै यहाँ ९३ वटा फूलको डोली भित्रिएका छन्। 

    तीमध्ये कात्तिकको तेस्रो मङ्गलबार ९१ र चौथो मङ्गलबार दुईवटा फूलको डोली चढाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए। उक्त अवधिमा दश हजारभन्दा बढी भक्तजनले मन्दिरमा पुगेर पूजाआजा गरेका थिए।

    कात्तिकको पहिलो मङ्गलबार महानवमी परेकाले फूलको डोली नआएको र दोस्रो मङ्गलबार पनि डोली चढाउने क्रम नभएको अध्यक्ष थापाले बताए। त्यसपछि तेस्रो मङ्गलबार एकै दिन ९१ वटा डोली भित्रिएपछि मन्दिरमा भक्तजनको उल्लेख्य चहलपहल देखिएको थियो । चौथो मङ्गलबार भने तिहारका कारण दुई वटामात्रै डोली आएको उनले बताए।

    थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा यहाँको धार्मिक संस्कृतिको विशिष्ट पक्ष हो । प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार यहाँ विशेष रूपमा फूलको डोली चढाउने गरिन्छ । ती महिनाका मङ्गलबार देशका विभिन्न स्थानबाट भक्तजन आफ्नो मनोकामना लिएर मन्दिर पुग्ने गर्छन्।

    थापाका अनुसार थानीमाई मन्दिरमा फूलको डोली चढाउँदा मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका कारण वर्षौंदेखि भक्तजन यहाँ आउने र भाकल पूरा भएपछि पुनः फूलको डोली चढाउन आउने परम्परा छ । यहाँ डोली चढाउने प्रक्रिया पनि आफ्नै मौलिक धार्मिक विधिअनुसार सम्पन्न गरिन्छ। 

    भक्तजनले मन्दिरमा फूलको डोली चढाउनुभन्दा अघिल्लो दिन अर्थात् सोमबार सत्यनारायणको पूजा गरी डोली तयार पार्ने गर्छन् । भाकलअनुसार फूल, तोरण र अन्य सामग्रीसहित तयार गरिएको डोली लिएर मङ्गलबार बिहानैदेखि भक्तजन मन्दिर पुग्ने गर्छन्।

    प्रकाशित मिति :कार्तिक २५ २०८३ बुधवार - ११:१७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij