Logo

२०८३ कार्तिक २५ गते बुधवार

२०८३ कार्तिक २५ गते बुधवार

नर्स ममता काफ्लेलाई उनकै पति नरेश भट्टले मारेको अदालतको ठहर

नर्स ममता काफ्लेलाई उनकै पति नरेश भट्टले मारेको अदालतको ठहर


  • 610
    Shares

    नर्स ममता काफ्लेलाई उनकै पति नरेश भट्टले मारेको अदालतको ठहर
    images

    अमेरिकामा बेपत्ता नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्ट अदालतबाट दोषी ठहर भएका छन्।

    करिब ६ हप्तासम्मको सुनुवाइपछि अमेरिकाको भर्जिनियास्थित अदालतले मंगलबार नरेशविरुद्ध 'फर्स्ट-डिग्री मर्डर' (गम्भीर प्रकृतिको हत्या) मा दोषी पाइएको फैसला गरेको हो।

    साथै भट्टले काफ्लेको शवको अपमान गरेको र त्यसलाई लुकाएको ठहर पनि गरेको छ।

    यसअघिको सुनुवाइमा नरेशले काफ्ले बेडरुममा मृत भेटिएको र आफूले शव व्यवस्थापन मात्र गरेको दाबी गरेका थिए। तर मंगलबार बहसको अन्तिम चरणमा सरकारी वकिलले जुरीलाई भट्टको ‘मनगढन्ते र बेतुकका कुरा’मा विश्वास नगर्न आग्रह गरेका थिए।

    वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी (सरकारी वकिल) सारा सामीले भनिन्, ‘प्रतिवादी (नरेश) ले ममता काफ्लेको हत्या गरे, उनको शरीर टुक्राटुक्रा पारे र फोहोरजस्तै फाले।’

    ‘उनले भर्जिनियाको लुरायस्थित फोहोर फाल्ने ठाउँ (ल्यान्डफिल) लाई नै ममताको अन्तिम विश्रामस्थल बनाइदिए। पीडित परिवारका लागि ममता सधैँ 'हराइरहेकी' हुनेछिन्। उनी अब जीवित छैनन्, तर उनी अझै पनि 'हराएकी' छिन्, किनभने परिवारले कहिल्यै उनको अन्त्येष्टि वा अन्तिम संस्कार गर्न पाउने छैन। उनी टुक्रा-टुक्रा भएर कतै फोहोरको थुप्रोमा थिचिएर रहेकी छन्। यो परिवारले अब यही यथार्थसँग बाँच्नुपर्नेछ’, सामीले थपिन्।

    प्रथम श्रेणीको हत्यामा दोषी ठहरिएका भट्टलाई कम्तीमा २० वर्षदेखि बढीमा आजीवन कारावाससम्मको सजाय हुन सक्छ। शव लुकाएको र अपवित्र पारेको अन्य कसुर प्रत्येकमा पाँच/पाँच वर्षसम्म कैद हुन सक्छ। भट्टलाई हुने सजाय अब मार्च महिनामा सुनाइनेछ।

    भट्ट दोषी ठहर भएको फैसला सुनाइँरहँदा काफ्लेका साथी र स्थानीय नेपालीहरू अदालत भवनबाहिर भेला भएर खुसियाली मनाइरहेका थिए। 

    ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। सन् २०२४ अगस्ट १ मा उनी काममा उपस्थित नभएपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो व्यक्त गरेका थिए।

    त्यसपछि प्रहरी ममताको दम्पती बस्ने घरमा पुगेको थियो। नरेशले सुरुमा ममता हराएको विश्वास नभएको र आफूले उनलाई जुलाई २९ मा अन्तिमपटक देखेको बताएका थिए। त्यसबेला उनले ममता घर छाडेर जान चाहेको र सम्बन्ध विच्छेदको कुरा गरेको पनि प्रहरीसँग दाबी गरेका थिए। नरेशले अगस्ट ५ मा औपचारिक रूपमा ममता हराएको उजुरी दिएका थिए। तर परिवार र साथीहरूले ममता सानी छोरी छाडेर कसैलाई खबर नगरी घरबाट निस्केको कुरामा विश्वास गरेनन्।

    यसपछि प्रहरीले २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। ममताको शव अहिलेसम्म फेला परेको छैन।

    प्रकाशित मिति :कार्तिक २५ २०८३ बुधवार - ११:२५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij