Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

प्रधानमन्त्री राहत कोषबाट पुनर्निर्माणका लागि १० अर्ब दिने तयारी

प्रधानमन्त्री राहत कोषबाट पुनर्निर्माणका लागि १० अर्ब दिने तयारी


  • 421
    Shares

    प्रधानमन्त्री राहत कोषबाट पुनर्निर्माणका लागि १० अर्ब दिने तयारी
    images

    काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय सडक तथा पुलहरूको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट करिब १० अर्ब रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ।

    प्रतिनिधिसभाको विशेष समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट सीमाभित्र रहेर पुनर्निर्माणका काम तत्काल अघि बढाउन उक्त रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उपलब्ध गराउनेबारे छलफल भइरहेको जानकारी दिएका हुन्।

    चालु आर्थिक वर्षको बजेट सीमा २१ खर्ब २४ अर्ब रुपैयाँ रहेकाले थप बजेट ल्याउँदा कानुनी जटिलता हुन सक्ने भन्दै सरकारले उद्धार कोषमा रहेको रकम परिचालन गर्न लागेको हो। उक्त रकमबाट बहुवर्षीय ठेक्का आह्वान तथा निर्माण व्यवसायीलाई मोबिलाइजेसन पेस्की उपलब्ध गराउने योजना छ।

    अर्थमन्त्री वाग्लेका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म करिब १८ अर्ब रुपैयाँ सङ्कलन भएको छ। उक्त रकममा सर्वसाधारणदेखि अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन वाङले उपलब्ध गराएको १० मिलियन डलरसमेत समावेश छ।

    कोषबाट विपद्पछिको राहत तथा उद्धारका लागि स्थानीय तहलाई यसअघि नै १ अर्ब रुपैयाँ निकासा भइसकेको छ। बाँकी रकम पूर्वाधार पुनर्निर्माण, कृषि राहत तथा आवास निर्माणमा खर्च गर्ने सरकारको योजना छ।

    यसैगरी, बाढीपहिरोबाट प्रभावित कृषि क्षेत्रका लागि पनि ५० करोडदेखि १ अर्ब रुपैयाँसम्मको राहत तथा अनुदान प्याकेज ल्याउने तयारी भइरहेको छ। कृषि उत्पादनमा भएको क्षति, बजारसम्मको पहुँचमा परेको अवरोध र मलको उपलब्धतालाई ध्यानमा राखेर राहत कार्यक्रम अघि बढाउन लागिएको हो।

    अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच कात्तिक ३० गते बैठक बसेर रकम परिचालनको प्राविधिक प्रक्रिया टुङ्ग्याउने तयारी छ। तत्कालका लागि भोटेकोशी र त्रिशूली करिडोरलगायत देशभर बाढीपहिरोले अवरुद्ध बनाएका सडक सञ्चालन तथा क्षतिग्रस्त पुल पुनर्निर्माणमा उक्त रकम खर्च गरिने सरकारको योजना छ।
     

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १४:११:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij