२०८३ कार्तिक १८ गते बुधवार
काठमाडौं । अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले लामो समयदेखि रिपब्लिकन पार्टीको प्रभाव रहेको पाँच राज्यमा ऐतिहासिक जित हासिल गरेको छ । कान्सास, टेक्सास, साउथ क्यारोलिना, नर्थ क्यारोलिना र आयोवामा दशकौंपछि डेमोक्रेटिक उम्मेदवार सिनेटर निर्वाचित भएका छन् । यीमध्ये कान्सासमा ९४ वर्षपछि डेमोक्रेटिक पार्टीले सिनेट निर्वाचन जितेको हो ।
रोयटर्सका अनुसार, यी राज्यमा डेमोक्रेटिक पार्टीले पछिल्लोपटक सिनेट निर्वाचन जितेको लामो समय भइसकेको थियो । सन् २०२६ को निर्वाचनमा प्राप्त सफलताले ती राज्यमा रिपब्लिकन पार्टीको परम्परागत राजनीतिक वर्चस्वलाई चुनौती दिएको छ ।
यी पाँच राज्यमा डेमोक्रेटिक पार्टीले हासिल गरेका ऐतिहासिक जित र त्यसअघिको निर्वाचनको विवरण यस्तो छ :
१. कान्सास : ९४ वर्षपछि जित
कान्सासमा डेमोक्रेटिक उम्मेदवार एडम ह्यामिल्टनले सन् २०२६ मा सिनेट निर्वाचन जित्दै ९४ वर्षदेखिको हारको शृंखला तोडेका छन् । यसअघि डेमोक्रेटिक पार्टीले सन् १९३२ मा मात्र यहाँ सिनेट निर्वाचन जितेको थियो । यसपटकको सफलता लामो समयदेखि रिपब्लिकन प्रभाव रहेको यस राज्यमा डेमोक्रेटिक पार्टीका लागि सबैभन्दा ठूलो उपलब्धि बनेको छ ।
२. टेक्सास : ३८ वर्षपछि सफलता
टेक्सासमा जेम्स टालारिकोले सिनेट निर्वाचन जितेका छन् । सन् १९८८ मा लोयड बेन्टसनले पुनः निर्वाचन जितेयता यहाँ डेमोक्रेटिक पार्टीका कुनै उम्मेदवार सिनेटमा निर्वाचित भएका थिएनन् । टालारिकोको जितसँगै ३८ वर्षपछि डेमोक्रेटिक पार्टीले टेक्सासमा सिनेट निर्वाचन जितेको हो ।
३. साउथ क्यारोलिना : २८ वर्षपछि जित
साउथ क्यारोलिनामा एनी एन्ड्र्युजले सिनेट निर्वाचन जित्दै डेमोक्रेटिक पार्टीको २८ वर्षदेखिको प्रतीक्षा अन्त्य गरेकी छन् । यसअघि सन् १९९८ मा फ्रिट्ज होलिङ्सले पुनः निर्वाचन जित्दा डेमोक्रेटिक पार्टीले यस राज्यमा सफलता हासिल गरेको थियो ।
४. नर्थ क्यारोलिना : १८ वर्षपछि पुनरागमन
नर्थ क्यारोलिनामा रोय कुपरको जितले डेमोक्रेटिक पार्टीलाई १८ वर्षपछि सिनेटमा पुनरागमन गराएको छ । यसअघि सन् २००८ मा के हागनले यहाँबाट सिनेट निर्वाचन जितेकी थिइन् । त्यसयता पहिलोपटक डेमोक्रेटिक उम्मेदवारले सफलता हासिल गरेका हुन् ।
५. आयोवा : १८ वर्षपछि सफलता
आयोवामा जोस टुरेकले सिनेट निर्वाचन जितेका छन् । उनको सफलतासँगै डेमोक्रेटिक पार्टीले सन् २००८ पछि पहिलोपटक यस राज्यमा सिनेट निर्वाचन जितेको छ । यसअघि टम हार्किनले पुनः निर्वाचन जित्दा डेमोक्रेटिक पार्टीले यहाँ सफलता हासिल गरेको थियो ।
यी पाँच राज्यमा प्राप्त जितले सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको प्रभाव विस्तार भएको देखाएको छ । विशेषगरी दशकौंदेखि रिपब्लिकन पार्टीको बलियो पकड रहेका राज्यमा डेमोक्रेटिक उम्मेदवार विजयी हुनुले अमेरिकी राजनीतिक समीकरणमा आएको परिवर्तनलाई संकेत गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij