२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्दै आफ्नो नीतिबाट पछि नहट्ने अडान व्यक्त गरेका छन्।
ह्वाइट हाउसले बुधबार सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको तस्बिरसहित ‘कहिल्यै पछि नहट्ने’ सन्देश सार्वजनिक गरेको छ।
डेमोक्रेटिक पार्टीले कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गर्ने प्रक्षेपण भइरहेका बेला ट्रम्पले इरान युद्धका कारण छोटो अवधिमा पेट्रोलको मूल्य बढेको र त्यसले चुनावी परिणाम प्रभावित पारेको स्वीकार गरेका छन्।
तर, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सैन्य अभियान आवश्यक रहेको उनको भनाइ छ। चुनावमा आफू उम्मेदवार भएको भए रिपब्लिकन पार्टीले जित्ने दाबी गर्दै ट्रम्पले चुनावी सभामा देखिएको आफ्नो लोकप्रियता अन्य उम्मेदवारमा हस्तान्तरण हुन नसकेको बताएका छन्।
यसैबीच, उपराष्ट्रपति जेडी भान्सले आन्तरिक सर्वेक्षणले इरान युद्ध, मुद्रास्फीति, ‘अमेरिका फर्स्ट’ नीति र इजरायलसँगको सम्बन्धबारे मतदातामा असन्तुष्टि देखाएको बताएका थिए।
उनले इरान युद्धलाई रिपब्लिकन पार्टीको चुनावी पराजयको प्रमुख कारणका रूपमा औँल्याएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij