Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय


  • 379
    Shares

    हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय
    images

    काठमाडौं । हङकङको लोकतन्त्र समर्थक आन्दोलनका प्रमुख अनुहार जोसुवा वङलाई विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । 

    चीनको बढ्दो नियन्त्रणविरुद्ध लोकतन्त्रको माग गर्दै भएका आन्दोलनमा अग्रणी भूमिका खेलेका ३० वर्षीय वङलाई हङकङको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत बिहीबार सजाय सुनाइएको हो ।

    वङ यसअघि नै विध्वंसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका थिए । उनी आगामी जनवरीमा रिहा हुने तयारीमा थिए । तर, पछिल्लो फैसलासँगै उनले थप एक दशक जेलमा बिताउनुपर्ने भएको छ । नयाँ सजायमध्ये दुई महिना दुई दिनको अवधि भने यसअघिको सजायसँगै गणना हुने अदालतले जनाएको छ ।

    सन् २०२० मा चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि वङसहित सयौँ लोकतन्त्र समर्थक अभियन्ता तथा सर्वसाधारण पक्राउ परेका थिए । उक्त कानुनले असहमतिको आवाज दबाएको मानव अधिकारवादीहरूको आरोप छ । तर, हङकङका अधिकारीहरूले भने शान्ति र स्थायित्व कायम गर्न कानुन आवश्यक रहेको बताएका छन् ।

    अभियोजन पक्षका अनुसार वङले निर्वासनमा रहेका अर्का अभियन्ता नाथन ल लगायतसँग मिलेर बेइजिङविरुद्ध विदेशी प्रतिबन्ध र नाकाबन्दी लगाउन अन्तर्राष्ट्रिय समुदायसँग पैरवी गरेका थिए । सन् २०२० को जुलाईदेखि नोभेम्बरसम्म भएका गतिविधिलाई विदेशी शक्तिसँगको साँठगाँठका रूपमा व्याख्या गरिएको छ । वङले गत सेप्टेम्बरमा उक्त अभियोग स्वीकार गरेका थिए ।

    वङका साथी तथा अभियन्ता फ्रान्सिस हुईले फैसलाप्रति दुःख र आक्रोश व्यक्त गर्दै यसलाई हङकङको लोकतन्त्रवादी पुस्ताको योगदान मेटाउने राजनीतिक दमनको हिस्सा भनेकी छन् । 

    वङले १४ वर्षको उमेरमै सन् २०११ मा विद्यार्थी समूह ‘स्कलरिज्म’ स्थापना गरेर राजनीतिक अभियान सुरु गरेका थिए । सन् २०१४ को ‘अम्ब्रेला मुभमेन्ट’ र सन् २०१९ को लोकतन्त्र समर्थक आन्दोलनमा उनी प्रमुख अनुहार बनेका थिए । सन् २०२० मा राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि उनको राजनीतिक दल ‘डेमोसिस्टो’ विघटन भएको थियो ।

    यसअघि सञ्चार उद्यमी तथा लोकतन्त्र समर्थक जिमी लाइलाई पनि विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

    एजेन्सी

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १३:५१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij