२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानमाथि सहज जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ११३ रनले हराएको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ३९.६ ओभरमा १५० रनमै अलआउट भयो ।
कप्तान विनायक शुक्लाले ७७ रनको तारिफयोग्य इनिङ्स खेलेपनि टोलीलाई माथि उकास्न सकेनन् । यस्तै, जय ओडेद्राले २५ तथा जतिन्दर सिंहले १८ रन बनाए ।
ओमानलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र नन्दन यादवले तीन–तीन विकेट लिए । यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक सफलता हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन जोड्यो ।
रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ६७ बलमा ६१ रन बनाए । करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको योगफल उकासे । केसीले मात्र १६ बलमा ४० रन जोडे । उनको ब्याटबाट ४ छक्का र १ चौका निस्कियो ।
यस्तै, अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले ३७–३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।
बलिङतर्फ ओमानका शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए । हसनइन शाहले एक सफलता हात पारे । यो सर्कलअन्तर्गत यसअघिको खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij