२०८३ मंसिर १२ गते शनिवार
काठमाडौं । डिउटीमा खटिएको समयमा सेवाग्राहीसँग घुस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले विज्ञप्ति जारी गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहतका दुई प्रहरी जवानलाई निलम्बन गरिएको जानकारी दिएको छ। निलम्बनमा पर्नेहरूमा अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जमा कार्यरत प्रहरी जवान टोप बहादुर खड्का रहेका छन्।
कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार उनीहरूले गत मंसिर ८ गते ट्राफिक प्रहरीको पोसाकमा डिउटीमै रहेको अवस्थामा सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको भिडियो मंसिर १० गते फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
उक्त भिडियोप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) बमोजिम दुवै जनालाई मंसिर ११ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij