२०८३ आश्विन २२ गते बिहिवार
काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो।
रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो। तर उनको ज्यान बचाउन सकिएन। चिकित्सक डा. शेखर सालकरका अनुसार नाना पाटेकरको बिहान ५ः२० बजे निधन भएको हो। उनको निधनपछि मेडिको–लिगल केस (एमएलसी) दर्ता गरी पोस्टमार्टमको तयारी गरिएको छ।
नाना पाटेकरले लामो समयदेखि हिन्दी र मराठी फिल्ममा अभिनय गर्दै आएका थिए। सन् १९८९ मा रिलिज भएको ‘परिन्दा’मा उनले अन्नाको भूमिका निर्वाह गरेका थिए। उक्त भूमिकाका लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए।
त्यसपछि सन् १९९४ को ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार तथा सन् १९९६ को ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए। उनले आफ्नो करियरमा तीनवटा राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए। भारतीय सिनेमामा योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो।
नाना पाटेकर गम्भीर भूमिकासँगै हास्य भूमिकामा पनि लोकप्रिय थिए। सन् २००७ मा आएको ‘वेलकम’मा उनले ग्याङ्स्टर उदय शेट्टीको भूमिका निभाएका थिए। उक्त भूमिका निकै चर्चित बनेको थियो। उनले ‘वेलकम ब्याक’मा पनि यही भूमिका निर्वाह गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij