२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिक दलहरूले अवलम्बन गरेको ‘निषेधको राजनीति’ ले देशलाई अध्यारो सुरुङतर्फ धकेलेको टिप्पणी गरेका छन् ।
काठमाडौंको खुलामञ्चमा जारी नेपाली काँग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्था र संविधानमाथि प्रश्न उठाउँदै देशलाई निकास दिन सबै पक्ष समेटिने गरी राष्ट्रिय सहमतिको आवश्यकता औँल्याएका हुन् । लिङदेनले विगत ५ वर्षको राजनीतिक यात्राको समीक्षा गर्दै आम नागरिकमा नेता र राजनीतिप्रति वितृष्णा कायमै रहेको दाबी गरेका छन् ।
अध्यक्ष लिङदेनले समस्या केवल राजनीतिक पात्रमा मात्र नभएर विद्यमान शासन व्यवस्था र संविधानमा पनि रहेको जिकिर गरेका छन्। उनले संविधानलाई अपरिवर्तनीय गीता वा कुरानका रूपमा नबुझ्न आग्रह गर्दै त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्ने बताएका छन् ।
उनले भने, ‘पाँच वर्षपछि फेरि नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा आइपुग्दा पनि आम जनतामा राजनीति र नेताप्रतिको वितृष्णामा अपेक्षित सुधार आएको छैन । देश झन् जटिल राजनीतिक अवस्थातर्फ गइरहेको छ । हिजो गलत कुरा औँल्याउँदा गोली चल्थ्यो, आज सामाजिक सञ्जालमार्फत दबाब र आक्रमण हुन्छ । पात्र फेरिए, तर प्रवृत्ति अझै उस्तै छ । त्यसैले समस्या व्यक्तिमा मात्र होइन, व्यवस्था र संविधानका कमजोरीमा पनि छन् । संविधान कुनै अपरिवर्तनीय ग्रन्थ होइनस समयअनुसार देखिएका कमजोरी सुधार्दै जानुपर्छ । देश बिग्रिँदा कुनै एउटा दल मात्र बिग्रिँदैन, हामी सबै प्रभावित हुन्छौँ । त्यसैले निषेधको राजनीति छोडेर संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटोमा अघि बढ्नुपर्छ । अब कसैले नहार्ने र सिङ्गो देशले जित्ने राष्ट्रिय सहमति आवश्यक छ । २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था, २०६२÷६३ को समावेशी लोकतान्त्रिक परिवर्तन र नयाँ पुस्ताले उठाएका आकांक्षालाई संरक्षण गर्दै नयाँ समझदारीका साथ देशलाई अगाडि बढाऔँ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij