२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ खर्ब १० अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्षमा बैंकको कुल खुद नाफा १ खर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो । प्रतिवेदनअनुसार राष्ट्र बैंकको नाफामा यति ठुलो उछाल आउनुको मुख्य कारण विदेशी विनिमय तथा सुनचाँदीको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ हो ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले खुद विदेशी विनिमय पुनर्मुल्याङ्कन लाभबाट २ खर्ब ५४ अर्ब रुपैयाँ तथा सुन तथा चाँदी पुनर्मुल्याङ्कन लाभबाट ७१ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ ।
अघिल्लो वर्ष विदेशी विनिमय पुनर्मुल्याङ्कन लाभ ४५ अर्ब ३ करोड र सुनचाँदी पुनर्मुल्याङ्कन लाभ ४६ अर्ब ८८ करोड ६७ लाख रुपैयाँ मात्र रहेको थियो ।
पुनर्मुल्याङ्कन लाभ र हानि समायोजन गर्नु अघिको बैंकको नियमित खुद आय भने ३.८४ प्रतिशतले वृद्धि भई ८३ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो खुद आय ८० अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा वर्षमा बैंकको कुल खुद सञ्चालन आम्दानी ६.४८ प्रतिशतले बढेर ९३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यो आम्दानीमध्ये खुद ब्याज आम्दानी ८.६३ प्रतिशतले वृद्धि भई ९४ अर्ब ५६ करोड कायम भएको छ ।
यद्यपि, विदेशी विनिमय खरिद–बिक्रीबाट हुने आम्दानी २ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । अन्य आम्दानी १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको कुल सञ्चालन खर्च १० अर्ब ३५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा वर्षको लेखापरीक्षण सम्पन्न भएसँगै राष्ट्र बैंकले सञ्चालन नाफाबाट ४२ अर्ब सरकारलाई उपलब्ध गराएको छ । कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफामध्ये नेपाल राष्ट्र बैंक ऐन र आवश्यकताअनुसार विभिन्न कोषहरूमा रकम विनियोजन गरी बाँकी रकम सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
ऐनबमोजिम विदेशी विनिमय पुनर्मुल्याङ्कन लाभ विनिमय समीकरण कोषमा र सुनचाँदी पुनर्मुल्याङ्कन लाभ सुन तथा चाँदी समीकरण कोषमा सारिएको छ । यसैगरी खुला बजार कारोबार स्थिरीकरण कोषमा ३६ अर्ब ५० करोड रुपैयाँ र साधारण जगेडा कोषमा १३ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
मुनाफासँगै राष्ट्र बैंकको वासलातको आकारमा पनि उल्लेख्य वृद्धि भएको छ । २०८३ असार मसान्तमा बैंकको कुल सम्पत्ति तथा दायित्व अघिल्लो वर्षको तुलनामा ४५.०६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।
सोही अवधिमा बैंकको कुल इक्विटी ५४.०५ प्रतिशतले बढेर १० खर्ब ४१ अर्ब र जगेडा कोष १० खर्ब ३६ अर्ब रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij