२०८३ मंसिर ३ गते बिहिवार
१. समितिको बैठक बोलाउन विपक्षीको दबाब
संसदका विषयगत समितिहरूलाई सक्रिय बनाउन र सरकारका कामकारबाहीमाथि संसदीय निगरानी बढाउन विपक्षी दलहरूले समितिको बैठक बोलाउन दबाब बढाएका छन् । नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै निवेदन दर्ता गराएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले पनि राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् ।
२. महादेवटार सुरुङको बाँकी काम समयमै सक्ने चिनियाँ कम्पनीको प्रतिवद्धता
काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेकथ्रु सम्पन्न भएसँगै चिनियाँ निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै पूरा गर्ने प्रतिवद्धता जनाएको छ । बुधवार सुरुङको ब्रेकथ्रु समारोहमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रतिनिधि वाङ सीले निर्माणका बाँकी कामलाई तिब्रता दिँदै गुणस्तर र सुरक्षामा विशेष ध्यान दिने बताउनुभएको हो । उहाँले सुरुङ निर्माणको आगामी चरणमा सेकेन्डरी लाइनिङ र सहायक संरचनाको कामलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो । निर्माण प्रक्रियाको कडाइका साथ पालना गर्दै सम्भावित जोखिमको निरन्तर पहिचान र व्यवस्थापन गरिने पनि उहाँले बताउनु भयो ।
३. भोटेकोशीका पीडितको सम्झनामा कोप–३१ मा प्रदर्शन
अन्ताल्या (टर्की) । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) को वार्ताबीच नेपालका युवा, आदिवासी जनजाति अगुवा तथा अन्तर्राष्ट्रिय जलवायु न्याय आन्दोलनका सहभागीहरूले भोटेकोशी विपद्का पीडितको सम्झनामा सांकेतिक प्रदर्शन गर्दै ग्लोबल साउथका लागि जलवायु न्याय, क्षतिपूर्ति र ऋणरहित वित्तको माग गरेका छन् । नेपालमा अगस्ट २६ मा भएको विनाशकारी बाढीले ज्यान, घरबार र जीविकोपार्जनमा पु¥याएको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रश्तुत गर्न सम्मेलनस्थलमा मृतकको प्रतिकका रूपमा पुत्ला राखिएको थियो । प्रदर्शनमा सहभागीहरूले जलवायु संकटबाट प्रभावित समुदायले आफ्ना प्रियजनको शवसमेत फेला पार्न नसकेको पीडादायी अवस्थालाई स्मरण गर्दै जलवायु वार्तालाई ठोस कार्यमा रूपान्तरण गर्न आग्रह गरेका थिए । जलवायु अभियन्ता आकृति डोटेलले नेपालले भोगेको ठूलो क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायबाट सहानुभूति प्राप्त भएपनि अब वास्तविक वित्त र क्षतिपूर्तिको आवश्यकता रहेको बताउनु भयो ।
४. नेपालको पूर्वाधार विकासमा दीर्घकालीन साझेदारी गर्न दक्षिण कोरिया तयार
दक्षिण कोरियाले नेपालको पूर्वाधार विकासमा प्रविधि, प्राविधिक ज्ञान र लगानीमार्फत दीर्घकालीन साझेदारी गर्न तयार रहेको जनाएको छ । बुधवार काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाली राजदुत जे क्युङ पार्कले नेपालको विकास प्राथमिकतामा भरपर्दो साझेदारका रूपमा सहयोग गर्न कोरिया इच्छुक रहेको बताउनुभएको हो । उहाँले पूर्वाधार विकास आर्थिक वृद्धि, राष्ट्रिय सम्पर्क विस्तार र नागरिकको जीवनस्तर सुधारको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । दक्षिण कोरियाले सडक, एक्सप्रेसवे, पुल तथा सुरुङ निर्माणमा हासिल गरेको अनुभव र प्राविधिक विशेषज्ञता नेपालसँग साझा गर्न चाहेको उहाँको भनाइ छ ।
५. नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि लगानीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने चीनको प्रतिवद्धता
चीनले नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि सडक, जलविद्युत, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने प्रतिवद्धता जनाएको छ । बुधवार काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेकथ्रु समारोहमा बोल्दै नेपालस्थित चिनियाँ दुतावासका मिनिस्टर काउन्सिलर झाओ पानले नेपालसँगको पूर्वाधार सहकार्यलाई थप गहिरो बनाउने बताउनुभएको हो । उहाँले चीन र नेपालबीचको सम्बन्ध असल छिमेकी तथा साझेदारका रूपमा स्थापित रहेको उल्लेख गर्दै पूर्वाधार विकास दुई देशबीचको सहकार्यको महत्वपूर्ण आधार भएको बताउनु भयो ।
६. निर्वाचन रणनीतिक सडक धमाधम कालोपत्रे हुँदै
टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका जोड्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ रणनितिक सडक निर्माणको अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन काठमाडौं माताहत रहेका यो योजना २०७९ मंसिर १५ बाट निर्माण शुरु भएको थयो । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा यो योजना अन्तर्गत सडक स्तरोन्नति थालिएको थियो । देशभरका निर्वाचन क्षेत्र रणनितिक सडक २०७७ मा शुरुवात भएपनि यो सडक २०७९ बाट निर्माण थालिएको सडक डिभिजन काठमाडौंका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनुभयो । निर्माण आयोजनामा, मुअब्जा, विद्युतीय पोल, खानेपानीको व्यवस्थापन र ढल निकासका समस्याका कारण समय भन्दा ढिला भएको खतिवडाको भनाई छ । यो सडकले भद्रकाली स्कुल, लुडे खोला, पासीकोट, पहेले गणेश मन्दिर, विष्णुमती पुल, टोखा चण्डेश्वरी हुँदै सपनतीर्थसम्म सडक स्तरोन्नती गरिएको हो ।
७. ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर बैठकको तयारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन बुधवार चीनको शेन्जेन पुग्नुभएको छ । उहाँको यो सन् २०२६ मा चीनको दोस्रो भ्रमण हो। यसअघि मे महिनामा उहाँले बेइजिङको राजकीय भ्रमण गर्नुभएको थियो । मे महिनाको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दुई देशको सम्बन्धलाई रणनीतिक स्थिरतासहित रचनात्मक दिशामा अघि बढाउने सहमति भएको थियो । यसपटकको भ्रमणमा पनि दुई नेताबीच द्विपक्षीय शिखर बैठक हुने अपेक्षा गरिएको छ। यस वर्ष दुई नेताबीच हुन लागेको यो तेस्रो शिखर भेट हुनेछ । ट्रम्पको चीन भ्रमण अमेरिकी घरेलु राजनीतिका दृष्टिले पनि महत्वपूर्ण समयमा भएको छ । करिव दुई साताअघि सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले निर्णायक पराजय व्यहोरेपछि उहाँ पहिलोपटक चीन भ्रमणमा निस्कनुभएको हो ।
८. चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रश्ताव
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका पाँच क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा यस्तो प्रश्ताव गरिएको हो । भेटमा नेपाली पक्षले सुरक्षित सीमापार सडक तथा भन्सार प्रणाली, मौसम पूर्वानुमान र विपद् पूर्वसूचना, जलविद्युत् तथा हरित उद्योग, चेङ्दुबाट नेपालका प्रमुख शहरमा थप हवाई उडान र कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिमा सहकार्यको प्रश्ताव राखेको थियो । त्यस्तै, नेपालका जडीबुटी, चिया, फलफूल र हस्तकलाको चिनियाँ बजारमा पहुँच विस्तार गर्न प्रशोधन, भण्डारण र गुणस्तर सुधारमा सहयोग गर्न पनि आग्रह गरिएको थियो ।
९.कोप–३१ मा नेपालको रणनीतिक सफलता, हिमाली मुद्दाका लागि छुट्टै ‘माउण्टेन वर्क प्रोग्राम’ प्रश्ताव
अन्ताल्या (टर्की) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा हिमाली मुद्दालाई औपचारिक निर्णयको मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक पुगेको छ । सम्मेलनको अध्यक्षताले सार्वजनिक गरेको निर्णय मस्यौदामा हिमाली जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम (माउन्टेन वर्क प्रोग्राम) प्रस्ताव गरिएको छ । यसले हिमाली क्षेत्रको जलवायु संकटलाई अन्तर्राष्ट्रिय वार्ताको नियमित प्रक्रियामा स्थापित गर्ने नेपालको लामो कुटनीतिक प्रयासलाई नयाँ आधार दिएको छ । नेपालका वार्ता टोली सदस्य तथा अति कम विकसित देश समूह (एलडीसी) अध्यक्षका सल्लाहकार मञ्जित ढकालले हिमाली मुद्दा निर्णय मस्यौदामा समेटिनु नेपालको रणनीतिक सफलता भएको बताउनु भयो ।
१०. काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताउनुभएको छ । बुधवार काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभएको हो । उहाँले करिव ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उल्लेख गर्नुभयो ।
११. काठमाडौं–तराई द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न, महादेवटार सुरुङको ब्रेकथ्रु
राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको करिव ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको दुवैतर्फको खण्ड जोड्ने (ब्रेकथ्रु) कार्य पनि सम्पन्न भएको हो । नेपाली सेनाकाअनुसार आयोजनाअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये तीन स्थानका पाँचवटा सुरुङको यसअघि नै ब्रेकथ्रु भइसकेको छ । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै सुरुङ निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ । आयोजना निर्माणबारे जानकारी दिँदै नेपाली सेनाले अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको जनाएको छ । उच्च प्रविधियुक्त पुललगायत द्रुतमार्गका अन्य संरचना निर्माणको काम पनि अपेक्षित गतिमा अघि बढिरहेको सेनाको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार ३ हजार ४ सय २२ मिटर लम्बाई रहेको महादेवटार सुरुङको ब्रेक थ्रु गर्नुभयो ।
१२. एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यकः महानिर्देशक भट्टराई
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा बुधवार आयोजित प्रभातफेरी कार्यक्रममा उहाँले एन्टिबायोटिकको अनावश्यक, बढी तथा न्युन प्रयोगले जनस्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको बताउनुभएको हो । उहाँले एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न यसको प्रयोगलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा जोड दिनुभयो । विशेषगरी भविष्यमा आवश्यक पर्ने रिजर्भ एन्टिबायोटिक औषधिहरूलाई जथाभावी प्रयोग नगरी सुरक्षित राख्नुपर्ने उहाँको भनाइ छ ।
१३. ‘प्रतिनिधि सभा विघटनमा मुद्दासम्बन्धी मुद्दामा अदालत मौन बस्यो’ः केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ । पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उहाँले गतवर्ष असंवैधानिक ढंगले सरकार विस्थापित गरिएपछि अनधिकृत व्यक्तिको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको दाबी गर्नुभयो । मन्त्रिपरिषद्को सिफारिसबिना व्यक्तिको एकल सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने कार्य संविधानविपरित भएको उहाँको जिकिर छ । विगतमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतबाट भएका फैसलालाई आफूहरूले स्वीकार गर्दै आएको भएपनि यसपटकको विघटनसम्बन्धी मुद्दामा अदालतको भूमिका सन्तोषजनक नरहेको उहाँले बताउनु भयो ।
१४. अहिले देश आतंकको छायामुनी चलेको छः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार स्वेच्छाचारी बन्दै गएको टिप्पणी गर्नुभएको छ । पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उहाँले देशमा असंवैधानिक र गैरकानूनी गतिविधि बढेको बताउनुभएको हो । उहाँले विगतमा हिंसात्मक, अलोकतान्त्रिक तथा आतंककारी गतिविधिमार्फत सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट र तोडफोडबाट लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था कमजोर बनाउने काम भएको आरोप लगाउनु भयो । त्यस्ता गतिविधिलाई वैधानिकता दिन निर्वाचनको मञ्चन गरिएको उहाँको दाबी छ । उहाँले हाल भय र त्रासको वातावरणको सरकार चलिरहेको बताउनु भयो । सरकार दमनकारी र प्रतिशोधी व्यवहारसहित फासिवादतर्फ उन्मुख भएको उहाँको आरोप छ । आर्थिक अवस्था निरन्तर खस्किँदै गएको उल्लेख गर्दै उहाँले सरकारसँग ठूलो रकम थन्किएर बसेपनि पीडित जनताले राहत समेत पाउन नसकेको बताउनु भयो । सरकार जनताप्रति उत्तरदायी नभएको उहाँको आरोप छ ।
१५. एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गर्नुभएको छ । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गर्नुभएको हो । उहाँले एमाले कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा पुगेको बताउनु भयो । उहाँले प्रतिक्रियावादी, जनविरोधी तथा देशको अहित चाहने शक्तिले चौतफी घेराबन्दीमा पारेर असंवैधानिक बाटोबाट सत्ताबाट हटाएपनि फेरि सत्तामा पुग्ने दाबी गर्नुभयो । उहाँले एमाले फेरि सरकारमा फर्किने र देशको विकास तथा समृद्धिका कामलाई अगाडि बढाउने बताउनु भयो । उहाँले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ अघि बढाउने बताउनु भयो ।
१६. केपी ओली भन्छन्, ‘केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी ?’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण भएको उहाँले बताउनु भयो । राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको राजनीतिक नेतृत्वलाई सामान्य रूपमा नलिन उहाँले चेतावनी समेत दिनुभयो । उहाँले कसैविरुद्ध अपराधको प्रमाण भेटिए कानूनी कारबाही गर्न आग्रह गर्नुभयो । तर पक्राउ गर्ने धम्की नदिन चेतावनी दिनुभयो । अध्यक्ष ओलीले गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने र १०१ जनालाई पक्राउ गर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै सके सबैलाई थुन्न चुनौति दिनुभयो ।
१७. ग्रासरुट अभियान चलायौँ तर जनतासँग संवाद गरेनौँः एमाले महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले जनताकोबीचमा जानेगरि विभिन्न अभियान संचालन गरेपनि जनतासँग प्रभावकारी संवाद गर्न नसकेको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रश्तुत गर्दै उहाँले जनतासँग सम्बन्ध विस्तार गर्न असफल भएको बताउनुभएको हो । उहाँले वडा केन्द्रित अभियान, जरा केन्द्रित अभियान र ग्रासरुट अभियान सञ्चालन भएपनि ती अभियानमा जनतासँग संवाद गर्ने काम पर्याप्त हुन नसकेको बताउनु भयो । हाल पार्टीका अभियानहरू औपचारिकता र देखावटी गतिविधिमा सीमित हुन थालेको उहाँको भनाई छ । त्यसलाई नसुधारे आगामी निर्वाचनमा पनि अपेक्षित परिणाम हासिल गर्न नसकिने उहाँले बताउनु भयो ।
१८. निजामती कर्मचारी अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा विस्तार गर्ने तयारी
निजामती कर्मचारी अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा विस्तार गरिने भएको छ । अस्पतालको नेत्ररोग विभागलाई स्तरोन्नति गर्दै शल्यक्रियासहितको सेवा विकास गर्न लागिएको हो । अस्पतालमा बुधवार आयोजित तीनदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरको उद्घाटन कार्यक्रममा मुख्यसचिव गोविन्दबहादुर कार्कीले चीन सरकार, लाइफलाइन एक्सप्रेस, तियानजिन मेडिकल युनिभर्सिटी र नेपालस्थित चिनियाँ दुतावासको सहयोगमा अस्पतालको नेत्ररोग विभागको क्षमता विस्तार गर्न लागेको जानकारी दिनुभयो । अस्पतालमा हालसम्म सामान्य आँखा परीक्षणको सुविधा मात्रै उपलब्ध रहेको उल्लेख गर्दै उहाँले अब मोतियाबिन्दुको उपचार तथा शल्यक्रिया सेवा स्थायी रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भयो ।
१९. पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल
नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीप्रतिको धरमराउँदै गएको जनविश्वास पुनःआर्जन गर्न आत्मसमीक्षा गर्दै संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उहाँले पार्टीलाई शक्तिशाली र बलियो बनाउने विषय अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने बताउनुभएको हो । उहाँले अब अरुले के गरे भन्नेभन्दा पनि एमालेले आफूलाई कसरी सुधार्न सक्छ ? भन्ने प्रश्नमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीका कमजोरी स्वीकार गर्दै जनताको कुरा सुन्ने, जनतासँग छलफल गर्ने, पार्टीका धारणा स्पष्ट पार्ने र नयाँ सदस्यलाई पार्टीमा आबद्ध गराउने अभियानमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
२०. रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’
नेकपा अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने क्लव बनाएर पार्टी नबन्ने बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै यस्तो बताउनुभएको हो । उहाँले विभिन्न व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सारेर चुनाव लड्ने समूह निर्माण गर्दैमा पार्टी सङ्गठन बलियो नहुने टिप्पणी गर्नुभयो । उहाँले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने लक्ष्यसहित सङ्गठन निर्माण र परिचालनमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । निर्वाचनसम्म आराम नगरी निरन्तर सक्रियता र परिश्रमका साथ अभियानमा जुट्न उहाँले आग्रह गर्नुभयो । एमाले सशक्त सङ्गठनसहित निर्वाचनमा होमिने उहाँले बताउनु भयो ।
२१. एपेक बैठकमा सहभागी हुन चिलीका राष्ट्रपति चीनमा
चिलीका राष्ट्रपति जोसे एन्टोनियो कास्ट एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३ औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन मंगलवार चीनको सेन्जेन पुगेका छन् । चीनको दक्षिणी ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १८ र १९ मा एपेक बैठक आयोजना हुँदैछ । बैठकमा एशिया–प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति कास्ट बैठकमा सहभागी हुन चीन पुगेका हुन् । एपेक बैठकमा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा लगानीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
२२. एपेक बैठकमा सहभागी हुन दक्षिण कोरियाका राष्ट्रपति चीनमा
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३ औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन बुधबार चीनको सेन्जेन पुगेका छन् । चीनको दक्षिणी ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १८ र १९ मा आयोजना भइरहेको बैठकमा सहभागी हुन राष्ट्रपति ली त्यहाँ पुगेका हुन् । बैठकमा एशिया–प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुँदैछन् । सम्मेलनमा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार, लगानी तथा आर्थिक विकासका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
२३. एपेक बैठकमा सहभागी हुन ब्रुनाईका सुल्तान चीनमा
ब्रुनाईका सुल्तान हाजी हसनल बोल्कियाह मुइज्जादिन वाद्दौलाह एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन बुधबार चीनको सेन्जेन पुगेका छन् । चीनको दक्षिणी ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १८ र १९ मा एपेक बैठक आयोजना भइरहेको छ । बैठकमा एशिया–प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुँदैछन् । बैठकमा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार, लगानी तथा आर्थिक विकासका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । ब्रुनाईका सुल्तानको सहभागितालाई एपेक सदस्य राष्ट्रहरूबीचको उच्चस्तरीय भेटघाटका रूपमा हेरिएको छ ।
२४. एपेक बैठकमा सहभागी हुन मलेसियाका प्रधानमन्त्री चीनमा
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३ औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन बुधबार चीनको सेन्जेन पुगेका छन् । चीनको दक्षिणी ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १८ र १९ मा आयोजना भइरहेको बैठकमा सहभागी हुन प्रधानमन्त्री इब्राहिम त्यहाँ पुगेका हुन् । बैठकमा एशिया–प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुँदैछन् । सम्मेलनमा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार, लगानी तथा आर्थिक विकासका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
२५. कम्बोडियामा एक हजार वर्ष पुरानो मन्दिरको पुनर्निर्माण सम्पन्न
कम्बोडियाको प्रसिद्ध अङ्कोर पुरातात्विक क्षेत्रमा रहेको करिव एक हजार वर्ष पुरानो वेस्ट मेबोन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत अङ्कोर क्षेत्रमा रहेको उक्त मन्दिरको १४ वर्ष लामो पुनर्निर्माण परियोजना पूरा भएपछि उद्घाटन गरिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको मन्दिरको संरक्षण र पुनस्र्थापनाका लागि लामो समयदेखि काम हुँदै आएको थियो । १४ वर्षको प्रयासपछि मन्दिरलाई पुनःस्थापना गरी उद्घाटन गरिएसँगै कम्बोडियाको प्राचीन सम्पदा संरक्षणमा अर्को उपलब्धि थपिएको छ । वेस्ट मेबोन मन्दिर अङ्कोर क्षेत्रको महत्वपूर्ण ऐतिहासिक संरचनामध्ये एक हो । यसको पुनस्र्थापनाले कम्बोडियाको प्राचीन वास्तुकला, इतिहास र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
२६. चीनको पिङटाङ पुल ः ११० तले भवन बराबर अग्लो टावर
चीनको दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित पिङटाङ पुल आधुनिक इन्जिनियरिङको नमुनाका रूपमा स्थापित भएको छ । चीनको कुइचोउ प्रान्तमा रहेको उक्त पुलले २ हजार १३५ मिटर लामो गहिरो खोँच पार गर्दै दुई क्षेत्रलाई जोडेको छ । पिङटाङ–लुओडियान एक्सप्रेसवेको महत्त्वपूर्ण संरचनाका रूपमा रहेको यो पुल केबलको सहायताले निर्माण गरिएको भायाडक्ट हो । पुलको बीचमा रहेको मुख्य टावर ३३२ मिटर अग्लो छ । यो करिव ११० तले भवन बराबरको उचाइ हो । सन् २०१९ मा सञ्चालनमा आएको यस पुलले त्यस क्षेत्रको यातायात सहज बनाउनुका साथै स्थानीय विकासमा समेत योगदान पु¥याएको छ । चीनको कुइचोउ प्रान्तलाई विश्वका पुलहरूको संग्रहालयका रूपमा समेत चिनिन्छ ।
२७. जलवायु वित्तसम्बन्धी प्रतिवद्धता पूरा गर्न कोप–३१ अध्यक्षको आग्रह
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) अन्तिम सातामा प्रवेश गरेसँगै सम्मेलनका अध्यक्ष मुरात कुरुमले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्न सहभागी राष्ट्रहरूलाई आग्रह गरेका छन् । टर्कीको अन्टाल्यामा जारी सम्मेलनका अध्यक्षसमेत रहेका टर्कीका वातावरण, शहरीकरण तथा जलवायु परिवर्तनमन्त्री कुरुमले सोमवार सिन्ह्वासँगको विशेष अन्तर्वार्तामा यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन नगरी नयाँ घोषणा गर्नुको औचित्य नरहेको बताएका हुन् । उनले जलवायु परिवर्तनविरुद्धको प्रभावकारी कदमका लागि विद्यमान आर्थिक प्रतिबद्धता पूरा गर्नु आवश्यक रहेको बताए ।
२८. भोकमरी र कुपोषण अन्त्यका लागि विश्वका सांसदहरू केन्यामा भेला
विश्वव्यापी भोकमरी, कुपोषण तथा दिगो खाद्य प्रणालीका विषयमा छलफल गर्न विश्वका विभिन्न देशका २५० भन्दा बढी सांसद तथा प्रतिनिधि केन्याको राजधानी नैरोबीमा भेला भएका छन् । सोमवारदेखि शुरु भएको भोकमरी तथा कुपोषणविरुद्धको तेस्रो विश्वव्यापी संसदीय सम्मेलनको उद्घाटन गर्दै केन्याका राष्ट्रपति विलियम रुटोले भोकमरी अन्त्यका लागि कानूनी सुधार, बजेट विनियोजन र प्रभावकारी अनुगमन आवश्यक रहेको बताएका छन् । उनले भोकमरीसँगै स्वस्थकर खानामा पहुँचको समस्या पनि उत्तिकै चुनौतीपूर्ण रहेको उल्लेख गरे । राष्ट्रपति रुटोकाअनुसार विश्वका करिव २ अर्ब ७० करोड मानिस स्वस्थकर खाना किन्न सक्ने अवस्थामा छैनन् । भोकमरी अन्त्य गर्ने जिम्मेवारी सरकार र संसद्को भएकाले यसका लागि आवश्यक नीति, कानुन र बजेट निर्माणमा सांसदहरूले विशेष भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
२९. यमनमा १० जिल्लामाथि नियन्त्रण कायम गरेको हुथी समूहको दाबी, साउदी तेल केन्द्रमा आक्रमणको चेतावनी
यमनको हुथी विद्रोही समूहले सरकारी सेनाविरुद्ध ठूलो सैन्य कारबाही गर्दै दुई प्रान्तका १० जिल्लामाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ । समूहले आगामी दिनमा साउदी अरबका तेल केन्द्र र विमानस्थललाई समेत निशाना बनाउने चेतावनी दिएको छ । हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाले मंगलबार ताइज र लहज प्रान्तका १० जिल्लामा नियन्त्रण कायम गरिएको बताएका हुन् । उनकाअनुसार नियन्त्रणमा लिइएका क्षेत्रको कुल क्षेत्रफल करिब ७ हजार १०० वर्ग किलोमिटर छ । उनले साउदी नेतृत्वको गठबन्धनका १२ सैन्य डिभिजनअन्तर्गतका ६० ब्रिगेडलाई पराजित गरेको दाबीसमेत गरेका छन् । यद्यपि, हुथी समूहका यी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । प्रवक्ता सारियाले साउदी अरबले यमनमा जारी सैन्य अभियान र हुथी नियन्त्रित क्षेत्रमा लगाएका प्रतिवन्ध अन्त्य नगरेसम्म साउदी भूमिभित्र सैन्य आक्रमण जारी राख्ने चेतावनी दिएका छन् ।
३०. लगानीमैत्री वातावरण कायम राख्ने घानाका राष्ट्रपतिको प्रतिवद्धता
घानाका राष्ट्रपति जोन ड्रामानी महामाले देशमा स्थिर र लगानीमैत्री वातावरण कायम राख्ने सरकारको प्रतिबद्धता दोहो¥याएका छन् । उनले विदेशी तथा स्वदेशी लगानीकर्तालाई घानामा लगानी गर्न आह्वानसमेत गरेका छन् । सोमवार शुरु भएको दुईदिने ‘इन्भेस्ट इन घाना समिट’ को उद्घाटन गर्दै राष्ट्रपति महामाले देशको आर्थिक सूचकमा सुधार, राजनीतिक स्थिरता र अन्तर्राष्ट्रिय बजारमा पहुँचलाई लगानीका लागि अनुकूल वातावरणका प्रमुख आधारका रूपमा प्रश्तुत गरे । उनले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्थाहरूले घानाको आर्थिक अवस्थाबारे सकारात्मक संकेत दिएको पनि उल्लेख गरे । स्ट्यान्डर्ड एन्ड पुअर्सले घानाको ‘बी माइनस’ रेटिङलाई स्थिर दृष्टिकोणसहित कायम राखेको, फिचले रेटिङ ‘बी’ मा बढाएको र मुडिजले दीर्घकालीन विदेशी तथा स्थानीय मुद्राको रेटिङ ‘बी३’ पु¥याएको उनले बताए ।
३१. लाटभियामा नयाँ गठबन्धन सरकारलाई संसद्को अनुमोदन
लाटभियाको संसद्ले प्रधानमन्त्री आन्द्रिस कुलबग्र्सको नेतृत्वमा गठन भएको नयाँ गठबन्धन सरकारलाई अनुमोदन गरेको छ । मंगलवार भएको मतदानमा नयाँ सरकारको पक्षमा ५७ र विपक्षमा ३४ मत परेको थियो । विपक्षी दलका केही सांसदको समर्थनमा नयाँ गठबन्धन सरकारले संसद्बाट अनुमोदन पाएको हो । प्रधानमन्त्री कुलबग्र्सको युनाइटेड लिस्ट र नेसनल एलायन्स पार्टी सम्मिलित गठबन्धनसँग १०० सदस्यीय संसद्मा ५१ सिट रहेको छ । सामान्य बहुमत भए पनि महत्वपूर्ण सुधारका कार्यक्रम अघि बढाउन सरकारले विपक्षी दलहरूको समर्थन लिनुपर्ने अवस्था छ । नयाँ सरकारले आर्थिक वृद्धि, सरकारी बजेटको खर्च कटौती, राष्ट्रिय प्रतिरक्षा सुदृढीकरण तथा सार्वजनिक प्रशासनलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ ।
३२. यौन हिंसापीडितलाई समेत अदालतमा साक्षी खोज्न लगाइन्छ, यो व्यवस्था हटाइयोस्ः सांसद विक
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले यौन हिंसासम्बन्धी मुद्दामा समेत पीडितलाई न्यायका लागि अदालतमा साक्षी उपलब्ध गराउनुपर्ने व्यवस्था हटाउनुपर्ने बताउनुभएको छ । रोल...
बुधवार सिंहदरबारमा बसेकोे प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जबरजस्ती करणीका मुद्दामा समेत पीडितलाई साक्षी उपलब्ध गराउनुपर्ने अवस्थाले पीडितलाई थप पीडा दिने बताउनु भयो । यौन हिंसापीडित किशोरी तथा महिलाले कसरी साक्षी जुटाउन सक्छ ? उहाँको प्रश्न छ । उहाँले यस्ता विशिष्ट प्रकृतिका मुद्दमा न्याय निरुपण प्रक्रियालाई सहज र पीडितमैत्री बनाउनेगरी विधेयकमा सुधार गर्नुपर्ने बताउनुभयो ।
३३. वैदेशिक रोजगारीको नाममा १ लाख ५० हजार महिलाहरु बेचबिखन र हिंसाको शिकारः नियन्त्रणका लागि नीतिगत सुधार गर्न विज्ञहरुको सुझाव
मानब बेचबिखन नियन्त्रणका नाममा खुलेका संस्थाबाटै गैरकानूनी गतिविधि भइरहेको छः महिला आयोग
विज्ञहरुले वैदेशिक रोजगारीको नाममा महिलाहरु मानव बेचबिखन तथा विभिन्न प्रकारका हिंसाको सिकार भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनीहरुले आन्तरिक तथा अन्तर्रष्ट्रिय रुपमा बेचबिखनलाई नियन्त्रत्रण गर्नेगरी विधेयकलाई समृद्ध बनाउनुपर्ने बताए । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाले नेपालमा मुख्यतः तीन प्रकारबाट मानव बेचबिखन भइरहेको उल्लेख गर्नुभयो । खुला सीमाबाट भारतमा लगेर गरिने बेचबिखन, स्वदेशमै नाबालिक बालबालिकामाथि हुने शोषण र यौन हिंसा तथा वैदेशिक रोजगारीका नाममा हुने हिंसा तथा शोषण प्रमुख समस्याका रुपमा व्याख्या गर्नुभयो ।
३४. काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्ध गर्छौंः मन्त्री लम्साल
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्ध गर्ने बताउनुभएको छ । काठमाडौं तराई मधेस द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा उहाँले फास्ट ट्र्याक निर्माणका क्रममा केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको बताउनुभएको हो । मन्त्री लम्सालले अब कुनैपनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार प्याकेज नम्बर ९ ए, ९बी, ८बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक छैन । पटक–पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन तथा पत्राचार गर्दा पनि निर्माण कम्पनीहरूले आफ्नै प्रतिवद्धताअनुसार काम गर्न नसकेको उहाँको भनाइ छ ।
३५. तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्छः सांसद पराजुली
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले नेपाल–चीनबीचको ऐतिहासिक व्यापारिक नाका तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभएको छ । २०४७ सालको राजनीतिक परिवर्तनपछि विशेषगरी तातोपानी नाकाको विषय ओझेलमा पर्दै गएको बताउँदै अब विशेष पहल गरेर पूर्ववत अवस्थामा फर्काउनुपर्ने बताउनु भयो । राजधानीमा चीन सरकारले तातोपानी क्षेत्रमा आधुनिक संरचना निर्माण तथा स्मार्ट सिटी विकासको काम अघि बढाइरहेको भएपनि अन्य नाकाहरूको तुलनामा तातोपानीले पर्याप्त प्राथमिकता नपाएको आफूले महशुस गरेको पराजुलीले बताउनु भयो ।
३६. पहिलो चौमासिकमै ३ खर्ब ७८ अर्ब राजश्व संकलन
सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चौमासिकमा ३ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ७८ अर्ब २३ करोड ३३ लाख रुपैयाँ राजश्व संकलन गरेको हो । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । तर अर्थमन्त्री डा. स्वर्णिम वाग्लले १९ अर्ब ६८ करोड भन्दा बढी बढाएर राजश्व प्राप्त गर्ने भन्सार विभाग र आन्तरिक राजश्व विभागलाई ‘मिसन १६ खर्ब’ राजश्व संकलन गर्ने लक्ष्यका साथ अगाडि बढ्न निर्देशन दिएका छन् । यसअनुसार पहिलो चौमासिकको अवधिसम्म वार्षिक लक्ष्यको २३.९३ प्रतिशत राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सरकारले ३ खर्ब ३० अर्ब १६ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा ४८ अर्ब ६ करोड ४६ लाख रुपैयाँ बढी राजश्व उठेको छ । यो १४.५६ प्रतिशतको वृद्धि थियो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij