Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

वेस्ट बैंकमा मारिएका अमेरिकी र इजरायली हिरासतमा रहेका बालबालिकाबारे रिपोर्ट माग्ने प्रस्ताव अमेरिकी सिनेटद्वारा अस्वीकृत

वेस्ट बैंकमा मारिएका अमेरिकी र इजरायली हिरासतमा रहेका बालबालिकाबारे रिपोर्ट माग्ने प्रस्ताव अमेरिकी सिनेटद्वारा अस्वीकृत


  • 169
    Shares

    वेस्ट बैंकमा मारिएका अमेरिकी र इजरायली हिरासतमा रहेका बालबालिकाबारे रिपोर्ट माग्ने प्रस्ताव अमेरिकी सिनेटद्वारा अस्वीकृत
    images

    काठमाडौं।  अमेरिकी सिनेटले कब्जा गरिएको वेस्ट बैंकमा नौ जना अमेरिकी नागरिकको हत्या र इजरायली सैन्य हिरासतमा प्यालेस्टिनी बालबालिकामाथि भइरहेको दुर्व्यवहारबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग प्रतिवेदन माग्ने प्रस्ताव अस्वीकृत गरेको छ।

    मंगलबार भएको मतदानमा उक्त प्रस्तावको पक्षमा ४७ र विपक्षमा ५३ मत परेको थियो, जहाँ सिनेटरहरूले मुख्यतया दलीय आधारमा मतदान गरेका थिए। मेरिल्याण्डका डेमोक्रेटिक सिनेटर क्रिस भान होलेनले संसदमा प्रस्तुत गरेको यस प्रस्तावमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारको ‘जवाफदेहिताको कमी’ र अमेरिकी सरकारको ‘न्याय दिलाउन नसक्ने अक्षमता’ लाई उल्लेख गरिएको थियो।

    पेन्सिलभेनियाका सिनेटर जोन फेटरम्यान प्रस्तावको विपक्षमा मतदान गर्ने एक मात्र डेमोक्रेट बने भने केन्टकीका रिपब्लिकन सिनेटर र्‍यान्ड पोलले डेमोक्रेटहरूलाई साथ दिँदै प्रस्तावको पक्षमा मतदान गरे। भान होलेनले सन् १९६१ को वैदेशिक सहायता ऐनअन्तर्गत यो मतदान गराएका थिए। उक्त ऐनले कंग्रेसका कुनै पनि सदस्यलाई अमेरिकी सुरक्षा सहायता प्राप्त गर्ने जुनसुकै देशको मानव अधिकार अभ्याससम्बन्धी औपचारिक राज्य विभागको प्रतिवेदन माग्न अधिकार दिन्छ।

    मतदानपछि सामाजिक सञ्जालमा भान होलेनले न्यायका लागि दबाब दिइरहने प्रतिबद्धता व्यक्त गरे। उनले एक्समा लेखेका छन्, ‘वेस्ट बैंकमा मारिएका ९ अमेरिकी र दैनिक अन्याय भोगिरहेका प्यालेस्टिनीहरूका लागि जवाफदेहिता माग्न प्रस्तुत गरिएको मेरो प्रस्तावलाई ४७ जना सिनेटरले समर्थन गरे। यो मुद्दामा हामीले अहिलेसम्म पाएको सबैभन्दा ठूलो समर्थन हो। रिपब्लिकनहरूले हामीलाई रोके पनि न्याय नपाएसम्म हामी रोकिने छैनौं।’

    उक्त प्रस्ताव पारित भएको ३० दिनभित्र गैर(वर्गीकृत प्रतिवेदन बुझाउन माग गरिएको थियो। प्रतिवेदनमा अमेरिकी नागरिकहरूको मृत्युको छानबिन, इजरायली कारागारमा रहेका अमेरिकी नागरिकहरूको अवस्था र इजरायली सैन्य हिरासतमा रहेका प्यालेस्टिनी बालबालिकाले भोगिरहेका समस्याहरूको विवरण समावेश हुनुपर्ने उल्लेख थियो।

    प्रस्तावमा जनवरी २०२२ देखि कब्जा गरिएको वेस्ट बैंकमा मारिएका नौ जना अमेरिकी नागरिकको मृत्युको सन्दर्भ दिइएको छ। जसमा मे २०२२ मा जेनिन शहरमा रिपोर्टिङका क्रममा टाउकोमा गोली हानेर मारिएकी प्यालेस्टिनी(अमेरिकी पत्रकार तथा अल जजिरा प्रतिनिधि शिरीन अबु अकलेह, सेप्टेम्बर २०२४ मा इजरायली सैनिकको गोलीबाट मारिएकी आयसेनुर एज्गी एइगी र जुलाई २०२५ मा इजरायली बसोबासीहरूको कुटाइबाट मारिएका सैफुल्लाह कामेल मुसल्लेट सामेल छन्। अन्य मृतकहरूमा १४ वर्षीय आमेर मोहम्मद सादा रबी, १७ वर्षीय तौफिक अब्देल जब्बार र मोहम्मद अहमद अलखदुरका साथै ओमर असद, खामिद अय्याद, नस्रल्लाह अबु सियाम र खमिस रबी जबारा रहेका छन्।

    प्रस्तावमा इजरायली फौजद्वारा धेरै प्यालेस्टिनी(अमेरिकी बालबालिकालाई पक्राउ गरिएको विषयलाई पनि समेटिएको छ। जसमा फ्लोरिडाका १६ वर्षीय मोहम्मद इब्राहिम पनि छन्, जसलाई फेब्रुअरी २०२५ मा पक्राउ गरी परिवारसँग सम्पर्क गर्न नदिई नौ महिनासम्म मुद्दा चलाउनुअघिको हिरासतमा राखिएको थियो। उनलाई भेटेका अमेरिकी दूतावासका अधिकारी र वकिलहरूका अनुसार उनको शारीरिक तौल करिब एक चौथाइ घटेको, छालाको रोग ९स्केबिज० लागेको र यातना दिइएको जानकारी परिवारलाई गराइएको थियो। हिरासतमा रहेका अन्य प्यालेस्टिनी अमेरिकीहरूमा १६ वर्षीय एडम वाजेह अब्देलफत्ताह कराकरा र बिरजिट विश्वविद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको छापाका क्रममा जुनमा पक्राउ परेकी २० वर्षीया समा साफी रहेका छन्।

    अक्टोबर ७, २०२३ मा हमासको नेतृत्वमा भएको आक्रमणयता इजरायली सैन्य शिविरहरूमा कम्तीमा ४४ जना प्यालेस्टिनीको मृत्यु भएको दस्ताबेज अधिकार समूहहरूले तयार पारेको प्रस्तावमा उल्लेख छ। ती समूहहरूले कुटपिट, यौन हिंसा, उत्पीडन र धम्कीजस्ता व्यापक दुर्व्यवहारहरू भएको अभिलेख राखेको र यसले ‘प्रणालीगत तथा नियोजित दुर्व्यवहार’ लाई सङ्केत गर्ने जनाइएको छ। 

    प्रस्तावमा कब्जा गरिएको वेस्ट बैंकमा इजरायली बसोबासीहरूको हिंसामा तीव्र वृद्धि भएको उल्लेख गर्दै सन् २०२० यता प्यालेस्टिनी नागरिकको हत्यामा संलग्न कुनै पनि इजरायली बसोबासीलाई दोषी ठहर नगरिएको विषयमा जोड दिइएको छ।

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १४:३५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij