२०८३ कार्तिक २८ गते शनिवार
बुटवल । खसीबोकाको अङ्ग गलामा भिरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने एक मासु व्यवसायी विवादमा परेका छन् । अस्वाभाविक र असभ्य शैलीमा भिडियो बनाएर टिकटक तथा फेसबुकमा सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भएको हो ।
रुपन्देही तिलोत्तमा नगरपालिका–२ मा सञ्चालित आदीखोले मासु पसलका सञ्चालक ऋषिराम रानाभाटले खसीबोकाको ‘राजखानी’को माला लगाएर बनाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
घटनापछि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले व्यवसायी रानाभाटलाई सचेत गराउँदै १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताए । नगर प्रमुख खाँणका अनुसार व्यवसायी रानाभाटले आफ्नो गल्ती स्वीकार गर्दै जरिवाना तिर्ने र आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् ।
नगरपालिकाले मासु पसल सञ्चालन गर्दा खाद्य स्वच्छता तथा निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ । साथै, जनस्वास्थ्यमा असर पुग्ने तथा व्यवसायको मर्यादाविपरीतका गतिविधि नगर्न चेतावनीसमेत दिएको छ ।
आफ्नो गल्ती स्वीकार गर्दै व्यवसायी रानाभाटले आगामी दिनमा व्यवसायलाई मर्यादित, जिम्मेवार र जवाफदेही ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि उक्त घटनालाई लिएर मासु व्यवसायी संघ रुपन्देहीले पनि अनुगमन गरी रानाभाटलाई जरिवाना गरेको थियो । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij