Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सुनवल कांग्रेस अधिवेशनमा तनाव, पूर्वमन्त्री कँडेलले कागजपत्र च्यातेपछि मतदान रोकियो

सुनवल कांग्रेस अधिवेशनमा तनाव, पूर्वमन्त्री कँडेलले कागजपत्र च्यातेपछि मतदान रोकियो


  • 1.4K
    Shares

    सुनवल कांग्रेस अधिवेशनमा तनाव,  पूर्वमन्त्री कँडेलले कागजपत्र च्यातेपछि मतदान रोकियो
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगर अधिवेशनमा मतदान सुरु हुनै लाग्दा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ । दुई पक्षबीच विवाद बढेपछि निर्वाचन समितिले तत्कालका लागि मतदान रोक्ने निर्णय गरेको हो ।

    उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी मतदानको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल निर्वाचनस्थलमा प्रवेश गरेपछि विवाद चर्किएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार कँडेलले उम्मेदवारको नामावलीसहितका कागजपत्र च्यातेका थिए ।

    कँडेलले ‘यो चुनाव हुँदैन’ भन्दै माइक खोसेर फालेको र निर्वाचनसम्बन्धी फाइलसमेत च्यातेपछि दुई पक्षबीच विवाद बढेको बताइएको छ । स्थिति थप तनावपूर्ण बन्न सक्ने देखिएपछि शान्ति–सुरक्षाको कारण देखाउँदै मतदान स्थगित गरिएको हो ।

    सुनवल नगर समितिका बाँकी पाँच पदाधिकारीका लागि मात्रै मतदान हुन बाँकी थियो । नगर समिति सदस्यका लागि आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेकाले ती पदमा निर्विरोध चयन भइसकेका थिए । बाँकी पदाधिकारीका लागि ३५६ मतदाता कायम गरिएको थियो ।

    सभापति पदमा यमलाल पाण्डे र यज्ञप्रसाद पाण्डेबीच प्रतिस्पर्धा तय भएको थियो । दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । स्थानीय कांग्रेस नेताहरूका अनुसार सुनवलको नेतृत्व चयनमा देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत) पक्षबीच प्रतिस्पर्धा देखिएको छ ।

    निर्वाचन अधिकृत दीपक अर्यालले दुई पक्षबीच आवश्यक छलफल र समन्वयपछि स्थगित मतदान प्रक्रिया अघि बढाइने बताएका छन् । कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत पालिका तहका अधिवेशनहरू सञ्चालन गरिरहेको जनाएको छ ।

    नवलपरासीका सात स्थानीय तहमध्ये सुनवलबाहेक प्रतापपुर, पाल्हीनन्दन, रामग्राम, बर्दघाट, सुस्ता र सरावलमा अधिवेशन सम्पन्न भएको जनाइएको छ । सुनवलको नेतृत्व चयन भने विवादका कारण रोकिएको छ ।

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १२:५८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij