२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारबाही गर्ने सरकारको निर्देशन कार्यान्वयन गर्नुपर्ने बताएको छ ।
महासङ्घका महासचिव तुलबहादुर थापामगरले शिक्षकहरू प्रत्यक्ष रूपमा राजनीतिक गतिविधिमा संलग्न हुनु उचित नभएको धारणा राखे । उनले वर्तमान परिस्थितिलाई समेत ध्यानमा राखेर शिक्षकहरूले आफ्नो भूमिकाप्रति सचेत हुनुपर्ने बताए ।
शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएका तस्बिर तथा गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि शिक्षामन्त्री सस्मित पोखरेलले विद्यालयमा कार्यरत शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएका थिए ।
मन्त्रीको निर्देशनपछि विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइहरूले समेत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न स्थानीय तहलाई निर्देशन दिएका छन् ।
महासङ्घले पनि शिक्षकलाई राजनीतिक दलका गतिविधिमा प्रत्यक्ष संलग्न हुनबाट अलग राख्ने सरकारी निर्देशन कार्यान्वयनमा जोड दिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij