Logo

२०८३ कार्तिक २१ गते शनिवार

२०८३ कार्तिक २१ गते शनिवार

आज दिनभरको २७ खबर एकै ठाउँमा

आज दिनभरको २७ खबर एकै ठाउँमा


  • 379
    Shares

    आज  दिनभरको २७ खबर एकै ठाउँमा
    images

    १. सर्वोच्च अदालतका लागि प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन

    सर्वोच्च अदालतका लागि प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । 
    शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले चार जना प्रश्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेको हो । बैठकमा प्रश्तावित न्यायाधीशहरुको नाम समिति समक्ष अनुमोदन गर्दै समितिका सभापति वोधनारायण श्रेष्ठले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि प्रश्तावित रत्नबहादुर वागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे, झापा र गोकर्ण डाँगी, दाङ्गलाई समितिले अनुमोदन गरेको घोषणा गर्नुभयो । न्याय परिषद्ले असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदका लागि चार जना न्यायाधीशहरुको नाम सिफारिस गरेको थियो । 

    २. रास्वपा सांसद चौलागाईंले मागे प्रश्तावित न्यायाधीश जनक पाण्डेसँग ससुरालीको जग्गाबारे स्पष्टीकरण 

    सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रश्तावित जनक पाण्डेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले विगतको न्यायिक फैसला र पारिवारिक जग्गा विवादबारे स्पष्टीकरण माग गर्नुभएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसद चौलागाईंले पाण्डे उच्च अदालत पाटनमा रहँदा गरेको हिमालयन रिइन्स्योरेन्ससम्बन्धी फैसला र उहाँको ससुरालीसँग जोडिएको सरकारी जग्गा विवादबारे प्रश्न उठाउनुभएको हो । चौलागाईंले हिमालयन रिइन्स्योरेन्सको शेयर निष्कासनसम्बन्धी विवादमा पाण्डेको इजलासबाट भएको अन्तरिम आदेश प्रक्रियामाथि समेत प्रश्न गर्नुभयो। उजुरीकर्ताहरूले अन्तरिम आदेशको एउटा मस्यौदा तयार भइसकेपछि पाण्डे आएर त्यसलाई च्यातेर नयाँ आदेश तयार गरेको आरोप लगाएको उहाँले उल्लेख गर्नुभयो। उक्त आरोपको वास्तविकता स्पष्ट पार्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै, बीमा ऐन, २०७९ को दफा ४५ को उपदफा ५ विपरित हुनेगरी प्रिमियम मूल्य जोडेर शेयर जारी गर्न पाउने व्याख्यासहित फैसला भएको आरोप पनि उहाँले उठाउनु भयो । 

    ३. फैसला बुझ्नै वकिल खोज्नुपर्ने अवस्था अन्त्य हुनुपर्छः प्रश्तावित न्यायाधीश पाण्डे

    सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रश्तावित न्यायाधीश जनक पाण्डेले सर्वोच्च अदालतका फैसला सर्वसाधारणले सहजै बुझ्ने खालको हुनुपर्ने बताउनुभएको छ । फैसला भइसकेपछि त्यसको अर्थ बुझ्न पनि कानून व्यवसायीकहाँ पुगेर थप शुल्क तिर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उहाँको भनाइ छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै पाण्डेले न्याय सम्पादनमा स्पष्टता, तर्कसंगतता र कानूनी शुद्धतालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले न्याय दिनु मात्रै पर्याप्त नहुने भन्दै न्याय दिएको देखिने गरी निष्पक्ष सुनुवाइ सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । मुद्दाका दुवै पक्षको कुरा सुन्ने, विवादका मूल तथ्य पहिचान गर्ने तथा प्रमाण र कानूनी व्यवस्थाको निष्पक्ष विश्लेषण गरेर निर्णयमा पुग्नुपर्ने उहाँको भनाइ छ । 

    ४. प्रश्तावित न्यायाधीश डाँगीलाई सांसद अर्यालको प्रश्नः सर्वोच्चमा बिचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न डाँगीको भुमिका के हुन्छ ? 

    नेकपा (एमाले) की सांसद पद्मा अर्यालले सर्वोच्च अदालतमा बढ्दै गएको विचौलियाको प्रभाव, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न प्रश्तावित न्यायाधीश गोकर्ण डाँगीको भुमिका के हुने भन्दै प्रश्न गर्नुभएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा डाँगीसँग प्रश्न गर्दै सांसद अर्यालले सर्वोच्च अदालतजस्तो पवित्र संस्थामाथि भ्रष्टाचार र अनियमितताको आरोप लाग्नु तथा फैसलाको गुणस्तरमाथि प्रश्न उठ्नु गम्भीर विषय भएको बताउनुभएको हो । उहाँले न्यायालयमा विचौलियाको बिगबिगी रहेको जनगुनासो बढिरहेको उल्लेख गर्दै न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्न पुगेपछि यस्ता विकृति नियन्त्रणका लागि डाँगीले कस्तो भुमिका निर्वाह गर्ने भन्ने स्पष्ट पार्न आग्रह गर्नुभयो । अर्यालले डाँगीसँग सम्बन्धित तुलसीपुर उपमहानगरपालिकाको नगर विकास परियोजनाबारे पनि प्रश्न उठाइन् । 

    ५. पाण्डेलाई वर्षमानको प्रश्नः श्रीमतीको मुद्दा सर्वोच्चमा विचाराधीन हुँदा न्यायाधीश भएपछि स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गर्नुहुन्छ

    सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रश्तावित जनक पाण्डेको न्यायिक निष्पक्षता र विगतका फैसलामाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको छ ।  शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले पाण्डेकी श्रीमतीसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले स्वार्थको द्वन्द्व हुनसक्ने विषयमा स्पष्ट जवाफ माग गर्नुभएको हो । पुनले पाण्डेकी श्रीमतीको सरकारी जग्गा कब्जासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै न्यायाधीश नियुक्त भएपछि उक्त मुद्दामा पाण्डेको भुमिकालाई लिएर प्रश्न उठ्न सक्ने बताउनु भयो । उक्त मुद्दामा विशेष अदालतबाट भ्रष्टाचारसम्बन्धी विषयमा सफाइ पाएको देखिए पनि दुवै पक्ष सर्वोच्च अदालत गएको उहाँको भनाइ छ । आफ्नै श्रीमतीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा न्यायाधीशका रूपमा नियुक्त हुँदा स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने विषयमा पाण्डेले समितिलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने पुनले बताउनु भयो । उहाँले न्यायाधीशहरूबीच व्यक्तिगत सम्बन्ध र सहकर्मीको निकटताले न्याय सम्पादनमा प्रभाव पार्न सक्ने आशंका जनतामा उत्पन्न हुन नदिन स्पष्ट जवाफ आवश्यक रहेको उल्लेख गर्नुभयो । 

    ६. न्यायिक फैसला कार्यान्वयन नगर्नेमाथि कडा कदम चाल्ने आँट छ ? प्रश्तावित न्यायाधीश डाँगीलाई सांसद केसीको प्रश्न

    नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतका न्यायाधीश पदमा नियुक्तिका लागि प्रश्तावित गोकर्ण डाँगीसँग न्यायिक फैसला कार्यान्वयनमा हुने ढिलासुस्ती, न्यायमा पहुँचको असमानता र न्यायपालिकाभित्रको विचौलिया प्रवृत्ति अन्त्य गर्ने प्रतिवद्धताबारे प्रश्न गर्नुभएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा उहाँले कार्ययोजना प्रश्तुत गर्नु मात्रै पर्याप्त नहुने भन्दै त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति र आँट देखाउन डाँगीलाई चुनौती दिनुभएको हो । केसीले सर्वोच्च अदालतमा २५ देखि २७ हजारसम्म मुद्दा विचाराधीन रहेको आफूले जानकारी पाएको उल्लेख गर्दै मुद्दाको चापसँगै फैसला कार्यान्वयन नहुने समस्या पनि उत्तिकै गम्भीर रहेको बताउनु भयो ।


    ७. नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा ¥याली, सभापति थापा सहभागी

    नेपाली काँग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा ¥याली आयोजना गरेको छ । 
    ¥यालीमा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा सहभागी हुनुभएको छ । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको हो । ¥यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । नेपाल संवत नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत हो । विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्ले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ । 

    ८. नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैनः प्रकाशमान सिंह

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटता भन्दा पनि जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित नेपाली काँग्रेसको जिल्ला कार्यसमितिको १५ औं नियमित अधिवेशनलाई सम्बोधन गर्दै उहाँले राजधानी केन्द्रित राजनीति गर्ने र जिल्लाको ठेक्का लिने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने स्पष्ट पार्नुभयो । नेता सिंहले संगठनको आधारस्तम्भ नै स्थानीय तहमा काम गर्ने कार्यकर्ता भएको उल्लेख गर्दै उनीहरूलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको संगठनलाई थप चलायमान बनाउन कार्यकर्ताहरूलाई फिल्डमा खटिन आग्रह गर्नुभयो । आफ्नो प्रस्ट वक्ताको छविलाई कायम राख्दै नेता सिंहले कार्यकर्ताहरूलाई जनताको माझमा पुगेर काम गर्न निर्देशन दिनुभयो । उहाँकाअनुसार संगठन बलियो बनाउने एकमात्र विकल्प भनेको जनतासँग भिज्नु र उनीहरूका समस्यामा साथ दिनु हो । 

    ९.तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी

    तिहार तथा छठ पर्वमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणले विशेष तयारी गरेको छ । पर्वका समयमा विद्युत माग बढ्ने भएपनि आन्तरिक उत्पादनले नै माग धान्ने प्रक्षेपणसहित प्राधिकरणले नियमित र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाएको जनाएको छ । प्राधिकरणले विद्युत उत्पादन, प्रशारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गरेको छ । विद्युत आपूर्ति व्यवस्थापन तथा प्रणाली सञ्चालनबारे प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो । बैठकले पर्व अवधिमा विद्युत आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौती व्यवस्थापनबारे समीक्षा गरेको थियो । त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको छ ।

    १०. जनकपुरधाममा मनाइयो हनुमान जयन्ती

    हिन्दु धर्माबलम्बीहरु यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाई रहँदा जनकपुरधाममा आज हनुमान जयन्ती मनाइँदैछ । रोल...
    हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन किर्तन लगायतको कार्यक्रमको आयोजना गरेको छ । यसअघि परिषदले हनुमान जयन्तीको अवसरमा जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शोभा यात्रा निकाली नगर परिक्रमा समेत गरेको छ । शोभा यात्रामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको पनि सहभागिता रहेको थियो । सभामुख यादवले भगवान हनुमान हिन्दु धर्माबलम्बीहरुको घर घरमा पुजिने देवता रहेको र उहाँको जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्राले सनातन संस्कृति संरक्षणमा बल पुर्याउने बताउनु भयो । 

    ११. जनक पाण्डेसँग न्यायिक आचरण, श्रीमतीको जग्गा र भूटानी शरणार्थी प्रकरणबारे सांसद अर्यालको प्रश्न
    सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रश्तावित जनक पाण्डेसँग नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायिक आचरण, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र विगतका फैसलाबारे स्पष्टीकरण माग गर्नुभएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसद अर्यालले पाण्डेको कार्ययोजना कार्यान्वयनमा आउने विश्वसनीयतामाथि प्रश्न उठाउँदै न्यायपालिकाप्रतिको जनविश्वास पुनःस्थापित गर्ने ठोस योजना माग गर्नुभएको हो । उहाँले न्यायाधीशहरूले हरेक सुनुवाइमा न्यायपालिकाका समस्या पहिचान गर्ने गरे पनि व्यवहारमा समाधान हुन नसकेको बताउनु भयो । कार्ययोजना प्रश्तुत गर्नु मात्रै पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा गम्भीर हुन पाण्डेलाई आग्रह गर्नुभयो । 


    १२. चाडपर्व सुरक्षा योजनाअन्तर्गत धनुषामा १,२४० भन्दा बढी प्रहरी परिचालन

    तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले शनिवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार तिहारका बेला जुवातास, पटका पड्काउने, आगलागीलगायतका घटना नियन्त्रणमा विशेष ध्यान दिइएको छ । शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका प्रहरी, पैदल तथा मोटरसाइकल गस्ती र रातिको समयमा एम्बुसिङ टोलीसमेत परिचालन गरिएको उहाँले बताउनु भयो । चाडपर्वमा धेरै मानिस घर छाडेर गाउँ तथा अन्य स्थानमा जाने भएकाले चोरीका घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले निगरानी बढाएको उहाँको भनाइ छ ।

    १३. गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ 


    नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाउनुभएको छ । उहाँले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टीको आधिकारिकता पैसाको प्रभावमा टुंग्याइएको दाबी गर्नुभएको हो । शनिवार काठमाडौंमा आयोजित नेपाली काँग्रेस काठमाडौं जिल्ला समितिको नियमित १५ औँ अधिवेशनलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन आयोगमा भएको निर्णय प्रक्रियालाई अस्वाभाविक भन्दै आर्थिक चलखेलमार्फत पार्टीको आधिकारिकता प्रभावित पारिएको आरोप लगाउनु भयो ।  बताउँदै उहाँले पार्टीको पहिचान र चुनाव चिह्न रुख कायम रहनेमा आफू आशावादी रहेको बताउनु भयो । 

    १४. काग तिहारमा रत्नपार्कमा काग सम्मेलन

    काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा ‘काग सम्मेलन’ गरिएको छ । 
    यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो । दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उहाँको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत लामो समयदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । 

    १५. काँग्रेसको असली शत्रु गरिबी र बेरोजगारी हो, गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. कोईराला

    नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र एकअर्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित नेपाली काँग्रेसको १५ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उहाँको चर्चा र महत्व बढाइरहेको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो । डा. कोईरालाले महाधिवेशनलाई पार्टीको भविष्य उजागर गर्ने ऐतिहासिक कडीको रूपमा अथ्र्याउनु भयो । उहाँले १५ औँ महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिन कार्यकर्ताहरूलाई आग्रह गर्दै अधिवेशनको सफलतामा सहभागिताको ठूलो भुमिका रहने बताउनु भयो । शुरुवाती चरणमा देखिएको उत्साहजनक उपस्थितिले अधिवेशन सफल भएको आभास दिएको उहाँको भनाइ छ । 

    १६. ‘उल्टी’ फैसला भनेको के हो ? सर्वोच्चका प्रश्तावित न्यायाधीश डाँगीसँग ढुंगानाको प्रश्न

    नेपाली काँग्रेसका सांसद आनन्द ढुंगानाले सर्वोच्च अदालतका फैसलाको भाषा र व्याख्या सर्वसाधारणले बुझ्न नसक्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित गोकर्ण डाँगीसँग प्रश्न गर्दै उहाँले न्यायालयका फैसला सामान्य नागरिकले समेत सहजै बुझ्ने गरी लेखिनुपर्ने बताउनुभएको हो । ढुंगानाले एउटा मुद्दामा जिल्ला अदालतले चार जनालाई कैद सजाय सुनाएको र पुनरावेदन अदालतले दुई जनाको सजाय १८ महिनामा घटाएको अवस्थामा सर्वोच्च अदालतले ‘उल्टी’ भन्ने फैसला मात्रै गरेको उदाहरण प्रश्तुत गर्नुभयो । सर्वोच्चको फैसलामा ‘उल्टी’ भन्नुको अर्थ जिल्ला अदालतको फैसला उल्टिएको हो वा पुनरावेदन अदालतको फैसला उल्टिएको हो भन्ने स्पष्ट नहुँदा पीडित नै अन्योलमा परेको उहाँले बताउनुभयो। फैसलाको अर्थ बुझ्न पीडित कानून व्यवसायीकहाँ पुग्नुपर्ने अवस्था न्याय सम्पादनको कमजोरी भएको उहाँको टिप्पणी छ  

    १७. ‘मान्छेमा राजनितिक विचार हुन्छ, तर न्यायाधीश भएपछि त्यसलाई अदालतबाहिरै छाडेको छु’ ः सर्वोच्चमा प्रश्तावित न्यायाशीश पाण्डे

    सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाडेको प्रष्टिकरण दिनुभएको छ । शनिवार संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा आफ्नो न्यायिक निष्पक्षताबारे उठेका प्रश्नको जवाफ दिँदै पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले न्यायाधीशका रूपमा इजलासमा बसेपछि राजनीतिक विषय गौण हुने र प्रमाण तथा मिसिलका आधारमा मात्रै निर्णय गर्ने गरेको बताउनु भयो । उहाँले भूटानी शरनार्थी प्रकरणमा बालकृष्ण खाँणसम्बन्धी मुद्दामा दिएको राय पनि तत्काल प्राप्त प्रमाणका आधारमा भएको स्पष्ट पार्नुभयो । उक्त मुद्दामा आफूले खाँणलाई छाड्नुपर्ने राय दिएको भएपनि फैसला आफूले नगरेको बताउनु भयो । उहाँले राजनीतिक प्रकृतिका मुद्दाहरू अदालतमा प्रशस्त आउने भएपनि न्यायाधीशले राजनीतिक आग्रहबाट मुक्त भएर प्रमाण र मिसिलका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।


    १८. जग्गा प्रकरणमा प्रश्तावित न्यायाधीश पाण्डेको स्पष्टीकरणः ‘म सर्वोच्चको न्यायाधीश बन्दैमा मुद्दा प्रभावित हुँदैन’


    सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित जनक पाण्डेले आफन्तको मुद्दा कुनैपनि न्यायधीशले हेर्न नमिल्ने बताउनुभएको छ । रोल...
    शनिवार संसदीय सुनुवाई समितिमा उहाँले आफ्नो जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा रहेपनि उक्त मुद्दामा आफूले कुनै प्रभाव पार्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले कुनैपनि न्यायधीशले आफ्नो करियर दाउमा राखेर कसैको प्रभावमा फैसला नगर्ने बताउनु भयो । उहाँले जग्गासम्बन्धी मुद्दामा आफ्नो परिवारले विशेष अदालतबाट सफाइ पाइसकेको पनि जानकारी दिनुभयो । सर्वोच्च अदालतमा आफूले गरेको पुनरावेदन जग्गाको स्वामित्वसँग नभई जफतसम्बन्धी फैसलासँग सम्बन्धित रहेको उहाँले स्पष्टीकरण दिनुभयो । संसदीय सुनुवाइका क्रममा पाण्डेले आफ्नी श्रीमतीको नाममा रहेको साविकको एक बिघा १४ कट्टा १५ धुर जग्गा हालसाबिक गर्दा दुई बिघाको जग्गाधनी पुर्जा प्राप्त भएको बताउनु भयो ।


    १९. बाह्य प्रभावमा परेर फैसला गर्दिनँ, १० वर्षको कार्यकाल हेर्नुस्ः प्रश्तावित न्यायाधीश डाँगी

    सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले आफू कुनै पनि वाह्य प्रभाव तथा दलीय पक्षधरबाट प्रभावित भएर फैसला नगर्ने बताउनुभएको छ । शनिवार संसदीय सुनुवाई समितिमा आफ्नो न्यायिक आचरणबारे उठेका प्रश्नको जवाफ दिँदै उहाँले उच्च अदालतमा बिताएको १० वर्षको कार्यकाल हेर्न सांसदहरुला आग्रह गर्नुभयो । उहाँले उक्त अवधिमा दलीय पक्षधरता राखेर फैसला गरेको कुनै अभिलेख नरहेको दाबी गर्नुभयो । सर्वोच्च अदालत मुलुकको लोकतन्त्रको आधारस्तम्भ भएकाले यसको गरिमा र विश्वसनीयता कायम राख्न न्यायाधीशहरू जिम्मेवार हुनुपर्ने उहाँले बताउनु भयो । संविधानसँग बाझिएका कानुन तथा संविधान कार्यान्वयनका विषयमा आफू सधैँ सचेत र दृढ रहने उहाँको भनाइ छ । उहाँले न्याय धनी, राजनीतिकर्मी वा शक्तिशाली व्यक्तिका लागि मात्र नभई सबै नागरिकका लागि समान हुनुपर्ने बताउनु भयो । 

    २०. कङ्गोमा एदिएफ विद्रोहीको आक्रमणः ३० जनाको मृत्यु

    लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भूभागमा रहेको उत्तरी किभु प्रान्तस्थित बेनी क्षेत्रमा विद्रोही समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एदिएफ) ले गरेको शङ्कास्पद आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । बिहीवार रातिदेखि शुक्रवार बिहानसम्म चलेको उक्त हिंसात्मक आक्रमणमा सर्वसाधारण, सुरक्षाकर्मी र नागरिक समाजका सदस्यहरू मारिएका हुन् । स्थानीय सुरक्षा स्रोतकाअनुसार क्यान्टिन क्षेत्रमा भएको यो आक्रमणमा विद्रोहीहरूले निहत्था नागरिकहरूलाई निशाना बनाउँदै घरहरूमा आगजनी गरेका थिए । घटनापछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने विद्रोहीहरूको खोजीका लागि सैन्य अपरेशन शुरु गरिएको छ । आक्रमणकारीहरू भाग्ने क्रममा स्थानीयवासीहरूलाई बन्धक बनाएर लगेको सूचना प्राप्त भएकाले मृतकको संख्या थप बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ । हाल सुरक्षाकर्मीहरूले थप पीडितहरूको खोजी र उद्धार कार्य जारी राखेका छन् । इस्लामिक स्टेटसँग सम्बन्ध रहेको मानिने एदिएफ युगाण्डाको एक विद्रोही समूह हो, जसले लामो समयदेखि कङ्गोको पूर्वी भूभागमा हिंसा मच्चाइरहेको छ । पछिल्ला केही महिनायता उत्तरी किभु र इतुरी प्रान्तमा यस समूहले सर्वसाधारणविरुद्धका आक्रमणहरूलाई तीव्रता दिँदै आएको छ ।  

    २१. चालु आर्थिक वर्षको सात महिनामा म्यानमारद्वारा २ लाख टन माछाजन्य उत्पादन निर्यात

    चालु आर्थिक वर्ष २०२६–२७ को पहिलो सात महिनामा म्यानमारले २ लाख ८० हजार टनभन्दा बढी माछाजन्य उत्पादन निर्यात गरेको छ । म्यानमारको मत्स्यपालन विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा देशले ३४३ मिलियन अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार चालु आर्थिक वर्षको सुरुवात अप्रिल महिनादेखि भएको थियो । यद्यपि, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष माछा निर्यातको परिमाणमा भने कमी देखिएको छ । गत वर्षको सोही अवधिमा म्यानमारले २ लाख ३४ हजार १०७ टन माछाजन्य उत्पादन निर्यात गरेको थियो । पछिल्लो तथ्याङ्कले निर्यातमा आएको गिरावटलाई स्पष्ट पारेको छ । हाल म्यानमारले विश्वका ४० भन्दा बढी मुलुक तथा क्षेत्रहरूमा आफ्ना माछाजन्य उत्पादनहरू निर्यात गर्दै आएको छ। म्यानमारको माछाको मुख्य बजारका रूपमा चीन, थाइल्याण्ड, मध्यपूर्वका देशहरू र युरोप रहेका छन् ।

    २२. टर्कीको संसदद्वारा साउदी र पाकिस्तानसँगको ‘मक्का संयुक्त रक्षा सम्झौता’ अनुमोदन

    टर्कीको संसदले साउदी अरब र पाकिस्तानसँगको ‘मक्का संयुक्त रक्षा सम्झौता’ लाई बिहीवार औपचारिक रूपमा अनुमोदन गरेको छ । ६०० सदस्यीय टर्कीको संसदमा भएको मतदानमा २७९ मतका साथ उक्त सुरक्षा विधेयक पारित भएको हो । टर्कीको ‘ग्रान्ड नेशनल एसेम्बली’ले पारित गरेको यो विधेयकले तीन मुलुकबीचको सैन्य सहकार्यलाई नयाँ उचाइमा पु¥याएको छ । तीन धारामा विभाजित उक्त विधेयकको पहिलो धाराले १६ बुँदे रक्षा सम्झौतालाई अनुमोदन गरेको छ । बाँकी दुई धाराले सम्झौताको कार्यान्वयन प्रक्रिया र राष्ट्रपतिको भूमिकाबारे स्पष्ट पारेका छन् । 

    २३. टर्कीमा सामूहिक हत्याकाण्डः ८ जनाको ज्यान लिने संदिग्ध पक्राउ

    टर्कीको पश्चिमी क्षेत्रमा बिहीवार तीनवटा गाउँमा फैलिएको भीषण गोलीकाण्डमा ८ जनाको हत्या भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा २८ वर्षीय कम्बाइन हार्भेस्टर अपरेटर अरिफ सेफा ओज्देमिरलाई छिमेकी प्रान्तबाट बिहीवार नै प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय सञ्चारमाध्यमहरूकाअनुसार ओज्देमिरले अनुसन्धानका क्रममा व्यक्तिगत रिसिबी र सवारी साधन कब्जा गर्ने उद्देश्यले हत्या गरेको स्वीकार गरेका छन् । उनले कम्बाइन हार्भेस्टर खरिदको विषयलाई लिएर शुरु भएको विवादपछि पहिलो तीन जनाको ज्यान लिएको बयान दिएका छन् । 

    २४. दक्षिण कोरियाली सेयर बजारमा ऐतिहासिक गिरावटः ‘सर्किट ब्रेकर’ सक्रिय

    दक्षिण कोरियाको मुख्य शेयर बजारमा शुक्रवार बिहानै भारी गिरावट आएपछि ‘सर्किट ब्रेकर’ सक्रिय गरिएको छ । प्रविधि क्षेत्रका कम्पनीहरूको सेयरमा व्यापक विक्री भएपछि कोस्पी (प्इक्एक्ष्) परिसूचक ८ प्रतिशतभन्दा बढीले घटेको हो, जसका कारण बजारको कारोबार २० मिनेटका लागि स्थगित गर्नुपरेको थियो । शुक्रवार बिहान बजार खुलेको तीन मिनेटमै कोस्पी परिसूचक ८.५५ प्रतिशत अर्थात ४६०.३३ अंकले गिरावट आएर ४,९२३.४७ विन्दुमा पुगेको थियो । यो गिरावटसँगै सूचकांक करिव नौ महिनायता पहिलो पटक ५,००० को मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको छ । यसअघि फेब्रुअरी ६ मा बजार यति कमजोर देखिएको थियो ।

    २५. पाकिस्तानको पञ्जावमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

    पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा बिहीबार यात्रुवाहक बस र ट्रक–ट्रेलर एकापसमा ठोक्किँदा कम्तीमा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३३ जना यात्रु गम्भीर घाइते भएका छन् । उद्धार संस्था ‘रेस्क्यू ११२२’ काअनुसार दुर्घटना पञ्जाबको पाकपट्टन जिल्लामा भएको हो । मुल्तानबाट कसुरतर्फ जाँदै गरेको तिब्र गतिको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई ठक्कर दिएको थियो । तिब्र गतिका कारण नियन्त्रण गुमाउँदा बस सडकमा पल्टिएको थियो । दुर्घटना लगत्तै घटनास्थलमा पुगेको उद्धार टोलीले बसको भग्नावशेषमा च्यापिएका यात्रुहरूलाई बाहिर निकालेको थियो ।

    २६. यमनको उत्तरी सादा प्रान्तमा हवाई आक्रमण, सात जनाको मृत्यु

    यमनको उत्तरी सादा प्रान्तमा भएको हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको अल–मसिराह टेलिभिजनकाअनुसार बिहीवार भएको आक्रमणमा कृषि कार्यमा संलग्न दुई परिवार र उद्धारकर्मीहरू निशानामा परेका थिए । टेलिभिजनले आक्रमणको आरोप साउदी अरेबियाका लडाकु विमानमाथि लगाएको छ । समाचारअनुसार साहर जिल्लाको अत तल्ह क्षेत्रमा खेतमा काम गरिरहेका दुई परिवारमाथि सुरुमा हवाई आक्रमण गरिएको थियो । त्यसपछि घाइते तथा प्रभावितको उद्धारका लागि पुगेका उद्धारकर्मीलाई लक्षित गरी दोस्रो आक्रमण गरिएको जनाइएको छ । 

    २७. रुस–युक्रेन युद्ध अन्त्य गर्न ‘ठूलो सम्झौता’ हुन सक्ने ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न चाँडै नै ठूलो सम्झौता हुन सक्ने दाबी गर्नुभएको छ । उहाँले उक्त सम्झौतामा युक्रेनबाहेक युरोपका अन्य देशहरू पनि सहभागी हुन सक्ने बताउनुभएको हो । बिहीवार ह्वाइट हाउसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग भेटवार्ता गरेपछि ट्रम्पले यस्तो बताउनु भयो । ट्रम्पले रुस–युक्रेन युद्ध समाधानको नजिक पुगेको उल्लेख गर्दै सम्झौता निकै ठूलो हुने र यसले युरोपलाई समेत समेट्न सक्ने बताउनु भयो ।

    प्रकाशित मिति :कार्तिक २१ २०८३ शनिवार - १९:०८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij