२०८३ आश्विन २१ गते बुधवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक आउँदो असोज २२ गते बिहीबार बिहान ९:०० बजेदेखि बस्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा आयोजना हुने सो बैठकको सञ्चालन त्रिविका शिक्षाध्यक्ष एवं सभाका सदस्य-सचिव प्रा.डा. अन्जना महर्जन सिंहले गर्नेछन् ।
बैठकमा उपकुलपति प्रा.डा. भोला थापाले स्वागत मन्तव्य राख्नेछन् भने सहकुलपति एवं मन्त्री पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।
बैठकमा मुख्य रूपमा त्रिविको आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत र स्वीकृत गर्ने मुख्य एजेन्डा रहेको छ। रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले उक्त नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नेछन्। यसका साथै त्रिविका नियम, विनियम, कार्यविधि, कार्यव्यवस्थापन प्रणाली तथा निर्देशिका अनुमोदन सम्बन्धी प्रस्तावहरू पनि बैठकसमक्ष पेस गरिनेछन्।
साथै, त्रिवि कार्यकारी परिषद्को सदस्यमा भएको मनोनयन समर्थन र पुनरावेदन आयोगको अध्यक्ष तथा सदस्य मनोनयन सम्बन्धी प्रस्तावहरूमाथि पनि छलफल गरी निर्णय गरिनेछ।
यसैगरी, वार्षिक दिवस बैठकअन्तर्गत त्रि.वि.अन्तर्गतका विभिन्न अध्ययन संस्थान र सङ्कायका डीनहरूले सिफारिस गरेबमोजिमका विद्यार्थीहरूलाई उपाधि प्रदान गर्ने र ६४ औँ ग्रेस लिस्ट स्वीकृत गर्ने एजेन्डा पनि रहेको छ। बैठकको अन्त्यमा शिक्षाध्यक्ष प्रा.डा. अन्जना महर्जन सिंहले कृतज्ञता ज्ञापन गर्नेछिन् भने सहकुलपति एवं मन्त्री पोखरेलको मन्तव्यसहित सभा विसर्जन गर्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij