Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी पक्राउ


  • 533
    Shares

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी पक्राउ
    images

    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको विरोध प्रदर्शनअघि उनकाे पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) पार्टीले यस गिरफ्तारीको पुष्टि गरेको छ। 

    पीटीआईका अधिकारीहरूका अनुसार अलिमालाई आइतबार दिउँसो पूर्वी शहर लाहोरबाट नियन्त्रणमा लिइएको हो। पार्टीले यसलाई गैरकानुनी हिरासत भनेको छ भने उनका छोराले उनलाई तत्काल छाड्न माग गरेका छन्।

    लाहोरका डेपुटी कमिसनरको आदेशमा अलिमाले सामाजिक सञ्जाल र सार्वजनिक सभाहरूमार्फत इमरान खानका समर्थकहरूलाई सङ्गठित गरिरहेको आरोप लगाइएको छ। आदेशअनुसार उनलाई ३० दिनका लागि हिरासतमा राखिनेछ। अलिमा आफ्ना भाइको गिरफ्तारीको खुला विरोध गर्दै आएकी थिइन् र उनी लगातार समर्थक तथा सञ्चारमाध्यमसँग संवादमा थिइन्।

    प्रहरी अधिकारीले अलिमाको गिरफ्तारीको पुष्टि गरेका छन्। आदेशानुसार उनलाई लाहोरको कोट लखपत जेलमा लगिनेछ। गिरफ्तारीअघि उनको परिवारले उनको अवस्थाबारे कुनै जानकारी नभएको बताएको थियो। सरकारले तत्काल उनको अवस्था सार्वजनिक गर्नुपर्ने र उनको सुरक्षित फिर्ती सुनिश्चित गर्नुपर्ने माग उनका छोरा शहरेज खानले सामाजिक सञ्जाल एक्समा गरेका छन्।

    अलिमाको गिरफ्तारीलाई सेप्टेम्बर २७ मा देशभर आयोजना गर्न लागिएको प्रदर्शनसँग जोडेर हेरिएको छ, जहाँ प्रदर्शनकारीहरूले राजधानी इस्लामाबादतर्फ मार्च गर्ने योजना बनाएका छन्। उनले सर्वसाधारणलाई भड्काएर शान्ति सुरक्षामै खलल पुर्‍याएको र सरकारविरुद्ध आपत्तिजनक नाराबाजी गराउन मानिसहरूलाई उचालेको आरोप आदेशमा उल्लेख छ।

    सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै इस्लामाबादका सडकहरूमा सरकारी भवनहरूको सुरक्षाका लागि कन्टेनरहरू राखिएका छन्। पाकिस्तानका गृहमन्त्रीले यस्ता प्रदर्शनले देशलाई हानि पुर्‍याउने भन्दै सरकारले यसलाई रोक्न जुनसुकै कदम चाल्ने बताएका छन्।

    इमरान खान सन् २०२३ देखि हिरासतमा छन्। पदमा छँदा पाएका उपहार बिक्रीबाट प्राप्त रकम नदेखाएको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि राज्यका गोपनीयता लीक गरेकोदेखि सरकारी उपहार बेचेकोसम्म १०० भन्दा बढी मुद्दा लगाइएको छ, जसलाई उनले राजनीतिक प्रतिशोध भनेका छन्।

    गत वर्ष पूर्वक्रिकेटर तथा राजनीतिज्ञ खानलाई जग्गा भ्रष्टाचारको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको थियो, जुन उनले पाएको अहिलेसम्मकै लामो सजाय हो। जेलमा रहँदा उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ र गत महिना उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो।

    एजेन्सी

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १४:०२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij