२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। पछिल्ला दिनमा उपत्यकाका विभिन्न क्षेत्रमा वायुको गुणस्तर खस्किँदै गएको छ।
स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने संस्था आईक्यूएयरका अनुसार बिहीबारजस्तै शुक्रबार बिहान पनि उपत्यकाको वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको छ। आगामी आइतबारसम्म प्रदूषणको अवस्था अस्वस्थकर रहने पूर्वानुमान गरिएको छ।
आईक्यूएयरले सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ मापन भएको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ पुगेको थियो भने शुक्रबार बिहान सवा ९ बजेसम्म उक्त क्षेत्रमा १२७ मापन गरिएको छ।
काठमाडौं महानगरपालिकाको एयर क्वालिटी मनिटरिङ ड्यासबोर्डअनुसार स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडीबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँलगायतका क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर अवस्थामा छ। महानगरपालिकाले प्रदूषण बढाउने गतिविधि नगर्न पनि सबैलाई आग्रह गरेको छ।
सुक्खा मौसममा वर्षा कम हुने तथा हावामा धुलो र प्रदूषित कणको मात्रा बढ्ने भएकाले वायुको गुणस्तर खस्किने गर्छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू प्रदूषणको उच्च जोखिममा रहने गर्छन्।
हावामा पाइने २.५ माइक्रोमिटरभन्दा साना सूक्ष्म कणलाई पीएम २.५ भनिन्छ। यस्ता कण श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुग्न सक्ने भएकाले स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छन्।
दिल्लीमा वायु प्रदूषण गम्भीर अवस्थामा
छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा भने वायु प्रदूषण झन् भयावह बनेको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार शुक्रबार बिहान ८ बजे दिल्लीको एक्यूआई ४२२ पुगेको छ।
दिल्लीका विभिन्न क्षेत्रमा पनि प्रदूषणको स्तर अत्यधिक देखिएको छ। जवाहरलाल नेहरू स्टेडियम क्षेत्रमा एक्यूआई ४२१ र नजफगढमा ४१४ मापन गरिएको छ। त्यस्तै, चाँदनी चोक क्षेत्रमा ३९१ पुगेको छ।
सीपीसीबीका अनुसार एक्यूआई ४०१ देखि ५०० सम्म पुग्नुलाई गम्भीर अर्थात् ‘सिभियर’ अवस्था मानिन्छ। यस्तो अवस्थामा स्वस्थ व्यक्तिमा समेत स्वास्थ्य समस्या देखिन सक्ने र पहिलेदेखि बिरामी रहेका व्यक्तिमा थप जटिलता निम्तिन सक्ने जोखिम हुन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पीएम २.५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर हावामा ५ माइक्रोग्रामभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij