२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनको प्रस्ताव तयार गर्न गठित कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । रिपोटर्स क्लबले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन् ।
उनले कार्यदलको समझदारीअनुसार महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार गरी सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराएपनि अध्यक्षको असहमतिपछि छलफल अघि बढ्न नसकेको र त्यसको काउन्टरमा उपाध्यक्ष राम बहादुर थापालाई अर्को प्रतिवेदन लेख्न लगाइएको दाबी गरे ।
पार्टी नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने समेत सचिव भट्टराईले बताएका छन्। एमाले यथास्थितिमा रहन नसक्ने भन्दै नीति, सङ्गठनात्मक ढाँचा, कार्यशैली, बोली–वचनको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताएका छन् ।
साथै उनले वर्तमान सरकार गठन भएको करिब ६ महिना पुग्न लागेको सन्दर्भमा सरकारको समग्र गति र मति सही ट्रयाकमा नरहेको टिप्पणी गरेका छन् । सरकारले सहजकर्ताको भूमिका खेल्नुको सट्टा त्रास, भय र आतङ्क सिर्जना गरेर शासन गर्न खोजेको उनले आरोप लगाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij