२०८३ भाद्र ७ गते आइतवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक हस्तक्षेपविरुद्धको निरन्तर संघर्षलाई गम्भीरतापूर्वक आत्मसात नगरेका कारण अहिलेको असाधारण संकट उत्पन्न भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वर्ग, मूल विचार र रणनीतिक पक्षलाई नजरअन्दाज गर्दै सत्ता, समीकरण र निर्वाचनकेन्द्रित राजनीतिमा मात्रै ध्यान दिँदा कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताए ।
उनले आफूहरू प्रधानमन्त्री बन्ने, सत्ता समीकरण बनाउने–भत्काउने, मन्त्री बन्ने र चुनाव जित्ने कुरामा मात्रै केन्द्रित भएको उल्लेख गरे । विरोधी शक्तिहरू भने नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभावलाई रणनीतिक रूपमा समाप्त पार्ने योजनामा निरन्तर लागिरहेको बताए ।
प्रचण्डले भने, “अहिले हामीले जे असाधारण संकट भोग्नुपरेको छ, त्यो भोग्न पर्दैनथ्यो । यदि हामीले अमेरिकालाई पनि जित्यौँ, अरूलाई पनि जित्यौँ, नेपाली जनता विजयी भयो भनेर खाली प्रधानमन्त्री बन्ने, समीकरण बन्ने–भत्काउने, मन्त्री बन्ने र चुनाव जित्नेतिर मात्रै केन्द्रित भयौँ ।”
उनका अनुसार, आफूहरू सत्ताको जोडघटाउमा केन्द्रित भइरहँदा विरोधी शक्तिहरू भने नेपालबाट कम्युनिस्टहरू जसरी बढिरहेका छन्, त्यसलाई रणनीतिक रूपमा समाप्त पार्नुपर्छ भन्ने ध्येयमा केन्द्रित थिए ।
“जबकि हाम्रो विरोधी चाहिँ नेपालबाट कम्युनिस्टहरू जसरी बढेका छन्, यसलाई रणनीतिक सिध्याउनुपर्छ भन्नेमा केन्द्रित भएर उनीहरू लागिरहेकै थिए,” उनले भने ।
त्यही रणनीतिक केन्द्रीकरणको ‘भयानक अभिव्यक्ति’ गत वर्ष भदौ २४ गते देखिएको प्रचण्डको भनाइ थियो । उनले पछिल्लो राजनीतिक अवस्थालाई विगतका कमजोरी, वैदेशिक हस्तक्षेप र कम्युनिस्ट आन्दोलनको मूल विचार तथा रणनीतिबाट विचलनसँग जोडेर व्याख्या गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij