२०८३ भाद्र ७ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी असोजमा तय भएको १५औं महाधिवेशन रोक्न माग गर्दै दिएको निवेदनमा सर्वोच्च अदालतले थप अध्ययन गर्ने भएको छ ।
१५औं महाधिवेशनका सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवणकुमार श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए ।
तर उक्त रिट निवेदन भने दर्ता नभएको कांग्रेसका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार सर्वोच्च प्रशासनले थप अध्ययन आवश्यक रहेको भन्दै निवेदन दर्ता नगरेको हो ।
संस्थापनइतर समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो । उक्त मुद्दामा सर्वोच्चले पुनः सुनुवाइ गर्ने आदेशसमेत गरिसकेको छ ।
कांग्रेसले एकपक्षीय रूपमा महाधिवेशनको तालिका सार्वजनिक गरेको आरोप लगाउँदै संस्थापनइतर समूहले प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च पुगेको हो ।
नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij