२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती र लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिन लागेका बेला राप्रपाले दुवै प्रदेशमा पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय गरेको हो ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रदेश सरकारसम्बन्धी विषयमा अर्को निर्णय नभएसम्म पार्टी तटस्थ रहनेछ ।
उनले भने, “प्रदेश सरकारमा आज विश्वासको मत लिँदै गरेका बागमती र लुम्बिनी प्रदेशमा राप्रपा तटस्थ बस्ने निर्णय गरेको छ । यस सम्बन्धमा प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई निर्देशन दिइएको छ ।”
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशसभा संसदीय दलका नेताहरूलाई पठाएको निर्देशनमा पनि सरकार निर्माणसम्बन्धी विषयमा अर्को निर्णय नहुँदासम्म तटस्थ रहने उल्लेख गरिएको छ ।
बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीहरूले विश्वासको मत लिने तयारी गरिरहँदा राप्रपाको तटस्थ निर्णयले प्रदेश सरकार गठनको समीकरणमा चासो बढाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij