२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि तत्काल रोक्न माग गरेका छन् ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले पार्टी केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाउँदै सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता र नेतृत्व विवादसम्बन्धी मुद्दाको अन्तिम फैसला नआएसम्म महाधिवेशन प्रक्रिया तथा दीर्घकालीन निर्णयहरू स्थगित गर्न माग गरेका हुन् ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकता र नेतृत्व विवादसम्बन्धी यसअघिको फैसलालाई पुनरावलोकन गर्ने अनुमति दिएपछि कोइरालाले यस्तो कदम चालेका हुन् ।
निर्वाचन आयोगमा साउन २६ गते दर्ता गरिएको पत्रमा सर्वोच्चको पूर्ण इजलासले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट दर्ता भएको पुनरवलोकन निवेदनमाथि सुनुवाइ गर्दै मुद्दा पुनः हेर्ने आदेश दिएको उल्लेख गरिएको छ ।
कोइरालाले अदालतको अन्तिम फैसला नआएसम्म १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका अघि नबढाउन आग्रह गरेका छन् ।
उनले पार्टीबाट हुने दीर्घकालीन प्रभाव पार्ने राजनीतिक, सांगठनिक र आर्थिक निर्णयहरू समेत यथास्थितिमा राख्न माग गरेका छन् ।
कांग्रेस नेता मिन विश्वकर्माका अनुसार महाधिवेशनका गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयमा पत्र दर्ता गरिएको हो ।
कोइरालाले अदालतमा विचाराधीन विषयलाई असर पार्ने गरी कुनै पनि गतिविधि अघि बढाएमा त्यसबाट उत्पन्न हुने कानुनी जटिलताको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने उल्लेख गरेका छन् ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij