२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । विदेश वा नेपालकै अन्य विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले अब बीचमै पढाइ रोकिए पनि आफ्नो शैक्षिक क्रेडिट सुरक्षित राखेर पुनः अध्ययनलाई निरन्तरता दिन सक्ने भएका छन्।
विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा प्रणालीलाई थप लचिलो, आधुनिक र विद्यार्थीमैत्री बनाउने उद्देश्यले ‘एकेडेमिक क्रेडिट बैंक स्थापना तथा सञ्चालन निर्देशिका, २०८२’ जारी गरेसँगै यस्तो व्यवस्था लागू भएको हो।
निर्देशिकाअनुसार विद्यार्थीले नेपाल वा विदेशका मान्यताप्राप्त विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाबाट हासिल गरेको क्रेडिट डिजिटल प्रणालीमार्फत सुरक्षित राख्न र आवश्यक पर्दा अर्को विश्वविद्यालयमा ट्रान्सफर गर्न सक्नेछन्।
अब विदेशमा अध्ययन गरिरहेका विद्यार्थी नेपाल फर्किनुपरेमा वा नेपालकै अर्को विश्वविद्यालयमा जान चाहेमा पहिले अध्ययन गरेको विषयको क्रेडिट प्रयोग गरी पढाइ पूरा गर्न सक्नेछन्।
यसका लागि प्रत्येक विद्यार्थीको व्यक्तिगत ‘एकेडेमिक बैंक खाता’ खोलिनेछ। उक्त खातामा विद्यार्थीले प्राप्त गरेको शैक्षिक क्रेडिट, अध्ययन विवरण र प्रमाणपत्र सुरक्षित राखिनेछ।
निर्देशिकाअनुसार क्रेडिट ट्रान्सफर गर्न विद्यार्थीले कम्तीमा एउटा सेमेस्टर वा शैक्षिक वर्ष पूरा गरेको हुनुपर्नेछ। स्नातक तहको क्रेडिट ७ वर्षभित्र र स्नातकोत्तर तहको क्रेडिट ५ वर्षभित्र प्रयोग गरिसक्नुपर्ने समयसीमा तोकिएको छ।
तर, विद्यार्थीले कुनै विश्वविद्यालयबाट प्राप्त गरेको कुल क्रेडिटमध्ये अधिकतम ५० प्रतिशतसम्म मात्र अर्को संस्थामा स्थानान्तरण गर्न पाउनेछन्। पाठ्यक्रम र विषयको समानता तथा सम्बन्धित विश्वविद्यालयको स्वीकृतिपछि मात्रै क्रेडिट स्वीकार गरिनेछ।
आयोगका अनुसार एकेडेमिक क्रेडिट बैंकले विद्यार्थीको शैक्षिक प्रगति डिजिटल रूपमा सुरक्षित राख्नेछ। यस प्रणालीमार्फत अध्ययन बीचमै छाडेका विद्यार्थीलाई पुनः उच्च शिक्षा पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ।
विद्यार्थीको व्यक्तिगत विवरण र क्रेडिट सुरक्षाका लागि डाटा एन्क्रिप्सन, प्रयोगकर्ता प्रमाणीकरण तथा साइबर सुरक्षा प्रणाली लागू गरिने आयोगले जनाएको छ।
नयाँ व्यवस्थाले नेपालका विश्वविद्यालयबीच शैक्षिक गतिशीलता बढाउनुका साथै विदेश अध्ययन गरेर फर्किएका विद्यार्थीलाई पनि आफ्नो पढाइ सहज रूपमा निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij