२०८३ श्रावण १६ गते शनिवार
काठमाडौं । लिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी आज नेपाल आएकी छन् । उनको नेपाल भ्रमण कुनै चलचित्रको प्रचार, छायाङ्कन वा व्यक्तिगत बिदाका लागि होइन, बरु नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विश्वसामु चिनाउने उद्देश्यले आयोजना गरिएको हो ।
भारतको अग्रणी इभेन्ट तथा बेडिङ उद्योगको संस्था (EMF Global) ले पहिलो पटक नेपालमा आयोजना गरेको १३औँEMF ACE Global Convention & Awards 2026 मा सहभागी हुन शिल्पा काठमाडौँ आएकी हुन् । साउन १५ देखि १७ गतेसम्म द सोल्टी काठमाडौँमा सञ्चालन हुने सम्मेलनमा भारतसहित सात देशका करिब ५५० जना इभेन्ट व्यवस्थापक, बेडिङ प्लानर, पर्यटन व्यवसायी, लगानीकर्ता तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी हुँदैछन्।
शिल्पा शेट्टीको सहभागिताले सम्मेलनलाई अन्तर्राष्ट्रिय आकर्षण थप्ने विश्वास आयोजकको छ। सम्मेलनमार्फत नेपाललाई लक्जरी बेडिङ, अन्तर्राष्ट्रिय सम्मेलन, कर्पोरेट इभेन्ट र प्रोत्साहन भ्रमणका लागि उपयुक्त गन्तव्यका रूपमा विश्व बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
शिल्पा शेट्टीसँगै सम्मेलनमा बलिउड अभिनेता शक्ति कपूर, विक्रान्त मेसी तथा नेपाली अभिनेत्री मनीषा कोइरालाको पनि सहभागिता रहनेछ।
सम्मेलनका सहभागीहरूले काठमाडौँसँगै पोखरा, चितवन र जनकपुरको पनि भ्रमण गर्नेछन्। यसबाट नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक पर्यटन, स्तरीय होटल तथा आतिथ्य सेवाको प्रत्यक्ष अनुभव अन्तर्राष्ट्रिय इभेन्ट उद्योगका निर्णयकर्ताहरूले गर्नेछन्, जसले भविष्यमा नेपालमा ठुला अन्तर्राष्ट्रिय कार्यक्रम तथा गन्तव्य विवाह आयोजना हुने सम्भावना बढाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij