२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ। बुधबार सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेट गरी प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल गरेका हुन्।
विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। भेटवार्तामा संसद्को कार्य सञ्चालन, आगामी बैठकका कार्यसूची र संसद्को भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुख सचिवालयले जनाएको छ।
यसअघि सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन्।
सभामुख अर्यालले मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
यस्तै, उनले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग समेत छलफल गरेका थिए। छलफलमा प्रतिनिधिसभाको कामकारबाहीलाई व्यवस्थित बनाउने र आगामी बैठकका कार्यसूची प्रभावकारी रूपमा अघि बढाउने विषयमा कुराकानी भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij