२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीले नेपालको राजनीति र नेतृत्व विकासमा विदेशी हस्तक्षेप भइरहेको भन्दै सरकारसँग जवाफ माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर पार्टीका प्रमुख सचेतक आरेन राईले ‘द ग्रे जोन’को रिपोर्ट तथा सार्वजनिक कागजातले विदेशी सहयोगमा सञ्चालित राजनीतिक र नेतृत्व विकासका कार्यक्रममाथि गम्भीर प्रश्न उठाएको बताए।
कसैको नाम कुनै कागजातमा उल्लेख हुनु मात्रै विदेशी हस्तक्षेपको प्रमाण नभए पनि उठेका प्रश्नको सरकारले जवाफ दिनुपर्ने उनको भनाइ छ। उनले नेपालमा विदेशी सहयोगमा सञ्चालित राजनीतिक, नेतृत्व विकास र युवा परिचालनसम्बन्धी कार्यक्रम, त्यसको बजेट र उद्देश्य सार्वजनिक गर्न माग गरे।
राईले विदेशी सहयोग राजनीतिक दलको निर्वाचन, नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रयोग भएको छ कि छैन भन्ने विषयमा स्वतन्त्र छानबिन गर्नुपर्ने बताए। साथै, भविष्यमा नेपालको राजनीति र निर्वाचनमा विदेशी प्रभाव रोक्न स्पष्ट कानुनी व्यवस्था र संसदीय निगरानी आवश्यक रहेको उनको भनाइ छ।
जेनजी आन्दोलनलाई कुनै दल वा व्यक्तिसँग जोडेर हेर्न नहुने बताउँदै राईले सत्तापक्षले प्रश्न उठ्दा आन्दोलनकारीलाई देखाएर विषय ढाकछोप गर्न खोजेको आरोप पनि लगाए।
उनले नेपालको राजनीतिक भविष्य नेपाली जनताको मत, संविधान र राष्ट्रिय स्वार्थबाट निर्देशित हुनुपर्नेमा जोड दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij