२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। हलको अधिकांश संरचनागत काम सकिए पनि माइक तथा साउन्ड प्रणाली जडानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ।
पटक-पटक म्याद थपिए पनि काममा ढिलाइ भएपछि सभामुख डीपी अर्याल ले असार १ गते निर्माणाधीन संसद् हलको निरीक्षण गरेका थिए। संसद् सचिवालयका कर्मचारीहरूसहित निरीक्षणमा पुगेका उनले निर्माण सम्पन्न हुने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए।
निरीक्षणका क्रममा उनले सहरी विकास मन्त्री र सचिवलाई तत्काल काम सक्न निर्देशन दिँदै भनेका थिए, “रातदिन काम गरेर भए पनि बोलेको कुरा पुर्याउनुपर्यो। बहाना बनाइरहनुभएको छ। यो हामीमाथिको मात्र होइन, राष्ट्रकै अपमान हो। अब मलाई स्पष्ट निष्कर्ष चाहियो।”
निर्माण कार्य पूरा नभएकाले प्रतिनिधि सभाको बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभा कक्ष तयार भएपछि संसद्का बैठक नियमित रूपमा यहीँ सञ्चालन गर्ने तयारी गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij