२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलको बहुप्रतिक्षित फिल्म ‘परालको आगो’ को ‘उडि जाउँ भने, म पन्छी होइन’ गीतलाई दर्शक तथा स्रोताले अत्यधिक रुचाएका छन् ।
सोमवार ओएसआर यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो यो गीतलाई शनिवार दिउँसोसम्म झण्डै साढे ११ लाखभन्दा बढी पटक हेरिएको छ । हरेक दिन दुई लाख पटक भन्दा बढी पटक हेरिएको गीतले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।
यो समाचार तयार पार्दासम्म यो गीतलाई १५ हजारले लाइक गरेका छन् भने ८ सय ५० बढीले कमेन्ट गरेका छन् । अधिकांशको प्रतिक्रिया सकारात्मक रहेको छ ।
४५ वर्षअघि निर्माण भएको पुरानो फिल्म ‘परालको आगो’ को रिलिजका समयमा पनि उतिकै चर्चामा रहेको थियो । यो गीत अहिले पनि नयाँ पुराना पुस्तालाई उत्तिकै मन छोएको देखिन्छ । यस फिल्मका निर्माता सुशील पोखरेल गीतको चर्चा र प्रशंसाले उत्साहित बनेको देखिन्छन् ।
उनले शनिवार बिहानै गीतले एघार लाखभन्दा बढी दर्शक पाएको भन्दै दर्शकमाझ खुशी साटेका छन् । उनी भन्छन्– ‘छोटो समयमै ११ लाख भन्दा धेरैपटक क्लिक भइसकेको ‘उडि जाउँ भने,म पंक्षी होइन’ बोलको गीत हेरेर प्रतिक्रिया पनिदिनु होला । यो माया, यो साथको लागि धेरै–धेरै धन्यवाद । साथै हामी आभारी छौँ ।’
गीतको भिडियोमा परालको आगोका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत तथा बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन् । उनीहरुको अभिनयलाई दर्शकले मन पराउनु साथै यस गीतको शब्दमा टिकटक तथा फेसबुक रिल्स समेत दर्शकले बनाएका छन् ।
नेपाली गीत–संगीतको पहिलो महिला संगीतकार तथा एरेन्जर शान्ति ठटालको संगीतमा रहेको यस गीतमा निशु शर्माले गाएकी छिन् ।
यस गीतको म्युजिक एरेन्ज बिनोद भुजेलले गरेका छन् । गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् ।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् । सुशील पोखरेलको लगानीमा निर्माण भएको यस फिल्मको निर्देशक भने लक्ष्मण सुनार हुन् ।
फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाको छ भने टिजर तथा ट्रेलर निर्माणको काम साहिल खानको छ । मुकेश शाहको मिक्सिङ रहेको यस फिल्मको निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन् ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij