२०८२ माघ २९ गते बिहिवार
इन्सोम्नियालाई धेरैले केवल निन्द्रा नआउने समस्या मात्र ठान्छन्, तर यसको पनि विभिन्न प्रकार हुन्छन् । केही मानिसलाई निन्द्रा लाग्न समय लाग्छ, कसैको बिहानै छिटो निन्द्रा खुल्छ भने कतिपयको आधी रातमा निन्द्रा टुट्छ । रातभरि निन्द्रा निरन्तर कायम राख्न नसक्ने अवस्थालाई ‘मेन्टेनेन्स इन्सोम्निया’ भनिन्छ ।
तनाव र चिन्ता
मेन्टेनेन्स इन्सोम्नियाको सबैभन्दा सामान्य कारण तनाव र चिन्ता हो । आधी रातमा अचानक निन्द्रा खुलेपछि व्यक्तिलाई दैनिक कामकाज, कार्यालयको दबाब वा निन्द्रा नआउने चिन्ताले सताउन सक्छ । राति देखिने डरलाग्दा सपना, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर वा अन्य मानसिक समस्याले पनि निन्द्रामा बाधा पुर्याउन सक्छ ।
शरीरमा दुखाइ
इन्सोम्नियाको सम्बन्ध शारीरिक पीडासँग पनि जोडिएको छ । दीर्घकालीन रोगका साथै ढाड दुखाइ जस्ता अस्थायी समस्याले समेत रातको निन्द्रा बिगार्न सक्छ ।
उमेर र लिङ्ग
उमेर बढ्दै जाँदा न्युरोप्याथी, पिसाबसम्बन्धी समस्या र एसिड रिफ्लक्स जस्ता समस्या बढ्न सक्छन्, जसले निन्द्रामा असर पुर्याउँछ । सन् २०१५ मा अमेरिकामा गरिएको एक अध्ययनले रजोनिवृत्ति नजिकिँदै गर्दा महिलामा हुने हार्मोनल परिवर्तनका कारण मेन्टेनेन्स इन्सोम्नियाको जोखिम बढ्न सक्ने देखाएको छ ।
सुत्ने वातावरण उपयुक्त नहुनु
वरिपरिको वातावरणले पनि निन्द्रामा खलल पुर्याउन सक्छ । अत्यधिक आवाज, उज्यालो, धेरै चिसो वा गर्मी, असहज ओछ्यान वा जीवनसाथीको ठूलो खर्राटाले निन्द्रा प्रभावित हुन सक्छ ।
उपचारका विकल्प
कग्नेटिभ बिहेभियरल थेरापी फर इन्सोम्निया स् यस उपचारमा सोच्ने तरिका, बानी र व्यवहारको मूल्याङ्कन गरिन्छ । सामान्यतया ६ देखि ८ सत्रसम्म गरिन्छ ।
औषधिः डाक्टरले बिरामीको अवस्थाअनुसार सीमित अवधिका लागि औषधि सिफारिस गर्न सक्छन् ।
सुत्ने नियमित तालिकाः सुत्नुअघि शान्त र आरामदायी दिनचर्या अपनाउनु आवश्यक छ । सुत्नुभन्दा ३०–६० मिनेटअघि डिजिटल उपकरण बन्द गर्नु राम्रो हुन्छ । गहिरो सास फेर्ने अभ्यास र मांसपेशी रिल्याक्स गर्ने प्रविधि उपयोगी हुन सक्छ ।
यी कुराबाट जोगिनुहोस्
साँझ ढिलो क्याफिनयुक्त पेय पदार्थ (जस्तै कफी वा एनर्जी ड्रिंक) सेवन नगर्नुहोस्, यसले इन्सोम्निया झन् बढाउन सक्छ । दिनको समयमा लामो समय सुत्ने बानीबाट टाढा रहनुहोस्, यसले सुत्ने–उठ्ने चक्र बिगार्न सक्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij