२०८२ माघ २९ गते बिहिवार
१. विद्युतीय पोलले अल्झाइरहेको पृथ्वी राजमार्गः लाइफलाइनमा सरकारी निकायको बेवास्ता
नौबिसे–मलेखु सडक खण्डको स्तरोन्नति कार्यमा विद्युतीय पोल मुख्य वाधक बनेको छ । समयमै काम सम्पन्न भएको भए यतिबेला यो सडक कालोपत्रे भइसकेको हुन्थ्यो । तर विद्युत प्राधिकरणले समयमै सडकमा रहेको पोल हटाउन नसक्दा निर्माणमा गम्भीर चुनौति थपिएको छ । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यस आयोजनाले लक्ष्यअनुसारको प्रगति गर्न सकिरहेको छैन । विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो ४३.५४ किलोमिटर लामो सडक नेपालको ‘लाइफलाइन’ मानिन्छ । आयोजना प्रमुख केशव ओझाकाअनुसार प्राधिकरणको खातामा डेढ वर्ष अगाडि नै पोल सार्न आवश्यक बजेट दाखिला गरिएको थियो । तर प्राधिकरणले लगाएको ठेक्का प्रभावकारी नहुँदा काम सुस्त छ । विशेषगरी धार्के बजार र बन्छेटार खण्डमा २ सयभन्दा बढी पोल सार्नुपर्ने छ ।
२. वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पती शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पु¥याएको बताउनुभएको छ । सम्पती शुद्धिकरण सम्बन्धी कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले विश्वव्यापी रूपमा वार्षिक ३.६ बिलियन डलर बराबरको राजश्व नोक्शानी गराउने वित्तीय अपराध र सम्पती शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पु¥याएको बताउनुभएको हो । गभर्नरकाअनुसार वित्तीय अपराधको आर्थिक प्रभावभन्दा मानवीय मूल्य अझ बढी भयावह छ । यसले सामाजिक–आर्थिक खाडललाई गहिरो बनाउने मात्र नभई युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम बढाएको छ । नवीन सोच र सिर्जनशीलतामा लाग्नुपर्ने युवा पुस्तालाई अपराधको माध्यम बनाइनु सबैभन्दा खतरनाक परिणाम भएको उहाँको तर्क छ ।
३. भ्रष्टाचारमुक्त नेपाल र सुशासनका लागि नेपाली काँग्रेसको ५ वर्षे संकल्प
नेपाली काँग्रेसले देशको विद्यमान राजनीतिक र सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्दै आगामी पाँच वर्षलाई रूपान्तरणको अवधि बनाउने घोषणा गरेको छ । विगतका आन्दोलनहरूबाट प्रेरणा लिँदै र नयाँ पुस्ताको आवाजलाई आत्मसात गर्दै पार्टीले भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य बीमाको सुदृढीकरण र प्रशासनिक खर्च कटौतीलाई मुख्य एजेण्डा बनाएको छ । काँग्रेसका सभापति गगन थापाले पार्टीको गौरवमय इतिहासबाट प्रेरणा लिँदै आगामी ५ वर्षलाई नेपालको रूपान्तरणको वर्ष बनाउने उद्घोष गर्नुभएको हो । सिरहामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूहरू पुरानो इतिहासको जगमा उभिएको भएपनि नयाँ सोच र संकल्पका साथ अगाडि आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी २००७, २०१५, २०३६ र २०४६ का घटनाहरूबाट प्रेरणा लिन्छौँ, तर आजको कमजोरीलाई स्वीकार्दै नयाँ पुस्ताको कुरा सुनेर पार्टीलाई बदल्न तयार छौँ ।’
४. भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण पहिलो शर्त भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अङ्गकै भएको स्पष्ट पार्नुभएको हो । कुनैपनि कार्यालयमा हुने अनियमितताका लागि सोही कार्यालयका प्रमुखलाई नै जिम्मेवार बनाइनुपर्ने उहाँको भनाइ छ । जबसम्म भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्ग भन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफू भित्र सुधार गर्न नसक्ने बताउनु भयो । जेन–जी युवाहरूको आन्दोलनको जगमा बनेको वर्तमान सरकारले सार्वजनिक सेवालाई नागरिकमैत्री बनाउन राहदानी र नागरिकता जस्ता सेवामा सरलीकरण गरेको उहाँको दाबी छ । साथै आगामी फागुन २१ गते हुने निर्वाचनमा स्वच्छ छवि भएका प्रतिनिधिहरू छनोट गरी सदाचारको महाअभियान सफल पार्न उहाँले सबैमा आग्रह गर्नुभयो ।
५. भ्रष्टाचार नियन्त्रण नभई लोकतन्त्रको प्रतिफल नागरिकको घरदैलोमा पुग्दैनः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताउनुभएको छ । भ्रष्टाचार नियन्त्रणलाई विकास र समृद्धिको अनिवार्य शर्तका रूपमा उल्लेख गर्दै उहाँले अख्तियार दुरुपयोग गर्ने जो कोहीलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं) स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार केवल कानूनी उल्लङ्घन मात्र नभई नागरिकको आस्था र भविष्यमाथिको प्रहार भएको टिप्पणी गर्नुभयो । उहाँकाअनुसार सार्वजनिक शक्तिको दुरुपयोगले राज्य र नागरिकबीचको भरोसा कमजोर बनाउँछ । जसले अन्ततः शासन प्रणालीप्रति नै निराशा पैदा गर्दछ । युवा पुस्ताले सङ्घर्षमार्फत प्रकट गरेको सुशासनको चाहनालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ छ ।
६. भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सरकारी र सार्वजनिक सम्पतीको दोहन रोक्न कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो । प्रमुख आयुक्त राईकाअनुसार भूमि प्रशासनमा उजुरीहरूको छानबिन गर्दा सार्वजनिक, सरकारी र वन क्षेत्रको जग्गा निश्चित व्यक्ति र समूहलाई फाइदा हुने गरी न्युन मूल्यमा लिजमा दिने गरिएको पाइएको छ । विभिन्न स्वार्थ समूहले सरकारी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गरेको र हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने कानूनी व्यवस्था कार्यान्वयनमा नआउनु चिन्ताको विषय रहेको उहाँले बताउनु भयो ।
७. ‘घोषणा पत्र’ होइन ‘प्रतिज्ञा पत्र’ लिएर आउँछौँ, हरेक ३० दिनमा प्रधानमन्त्रीले जनतालाई हिसाव बुझाउनुपर्छः गगन थापा
नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति ५ वर्षे योजनामा मात्र सिमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिनुभयो । सभापति थापाले प्रश्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा चुनाव र चैतमा सरकार बनेपछि वैशाख १ गतेदेखि नै प्रधानमन्त्रीले जनताका नाममा जवाफदेहिताको नयाँ अध्याय शुरु गर्ने बताउनु भयो । काँग्रेसको सरकार बन्दै गर्दा प्रधानमन्त्रीले ५ वर्षको अमूर्त कुरा नगर्ने स्पष्ट पार्नुभयो । हरेक ३० दिनमा प्रधानमन्त्री देशवासीको सामु उभिएर गएको महिना के काम भयो र के हुन सकेन भन्ने स्पष्ट हिसाव दिने पनि बताउनु भयो ।
८. ‘गल्ती स्वीकार्ने र सच्याउने नै बहादुर हो, अब नयाँ संकल्पसहित काँग्रेस अगाडि बढ्छ’ः गगन थापा
नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको बताउनुभएको छ । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले ती घटनाहरूलाई केवल सुरक्षाको दृष्टिकोणबाट मात्र नहेरी त्यसको गहिराइ बुझ्न आवश्यक रहेकोमा जोड दिनुभएको हो । ‘हामी ८४ सालको निर्वाचनको तयारीमा थियौँ, तर भदौका ती दुई दिनले हाम्रो आँखा खोलिदिएको छ’ थापाले भन्नुभयो, ‘२३ गते हाम्रा निहत्था नौजवानहरू मारिए, २४ गते देशले ठुलो क्षति व्यहोर्यो। यो क्षति र आक्रोश सरकार, प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो ।’
९.अफगान गलैंचा उद्योगले १२ लाख मानिसलाई रोजगारी प्रदान गर्दै
अफगानिस्तानमा गलैंचा उद्योग कृषि पछिको दोस्रो ठूलो क्षेत्र हो, जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख मानिसहरूलाई रोजगारीको अवसर प्रदान गरी जीविकोपार्जन गर्न सक्षम बनाएको छ । अफगानिस्तानका गलैंचा उत्पादकहरूको प्रतिनिधित्व गर्ने युनियनका एक सदस्यले बताए । विगतमा गलैंचा उद्योग करिव पाँच देखि ६ वटा प्रान्तमा मात्र लोकप्रिय थियो । तर हाल अफगानिस्तानका लगभग सबै भागका मानिसहरू यस व्यवसायमा संलग्न छन् र परम्परागत उद्योगलाई जीवित र फस्टाउनका लागि गलैंचा बुनिरहेका छन् । मोहिबुल्लाह कोहीले सोमबार अफगानिस्तानको आधिकारिक रेडियो र टेलिभिजनलाई बताए ।
१०. इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानसँग सम्बन्धित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । बल प्रयोग गर्दा समस्याहरू झन् बल्झिने मस्कोको ठहर रहेको उहाँले बताउनु भयो । मस्कोमा आयोजित भाल्डाई इन्टरनेशनल डिस्कसन क्लवको साइडलाइनमा भएको मध्यपूर्व सम्मेलनमा बोल्दै लाभरोभले आफूहरु इरानसँग सम्बन्धित घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो । ओमानको सल्तनतले प्रश्ताव गरेको मध्यस्थता प्रयासको स्वागत गरेको पनि बताउनु भयो । अमेरिकी राष्ट्रपतिले इरानलाई नयाँ परमाणु सम्झौताका लागि बाध्य पार्ने प्रयासस्वरूप निरन्तर चेतावनी दिइरहेका बेला ट्रम्प प्रशासनले मध्यपूर्वमा एउटा विमानवाहक युद्धपोत स्ट्राइक समूह र धेरै युद्धपोतहरू तैनाथ गरेको छ ।
११. कोपेनहेगन लाइट रनमा १ हजार धावकहरू सहभागी
कोपेनहेगनको ‘लाइट रन’ मा करिव १ हजार धावकहरूले भाग लिएका छन् । जुन एक विशेष रात्रिकालीन दौड थियो । यसमा सहभागीहरूले बत्तीले सजिएका लुगा लगाएर सहरभरिका चम्किला कलाकृतिहरूका बीचबाट दौडिँदै ती कलाकै हिस्सा बनेका थिए । खेलकुद, सार्वजनिक स्थल र समकालीन प्रकाश कलालाई संयोजन गरिएको यस कार्यक्रममा सहभागीहरूलाई विशाल प्रकाश संरचनाहरू र उज्यालो पारिएका शहरी क्षेत्रहरूबाट हिँडाइएको थियो । लाइट रन कोपेनहेगन लाइट फेस्टिभलको एक हिस्सा थियो । अहिले नवौं वर्षमा पुगेको यो महोत्सव शुरुमा १६ वटा कलाकृतिहरूबाट शुरु भएर यस वर्ष ४५ भन्दा बढी प्रकाश संरचनाहरूमा विस्तार भएको छ । यो महोत्सव फेब्रुअरी २२ सम्म चल्नेछ ।
१२. पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु
पूर्वी प्रशान्त महासागरमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको एक डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ । अमेरिकी दक्षिणी कमान्डकाअनुसार सोमबार पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न रहेको भनिएको एक डुङ्गामाथि सेनाले कारबाही गरेको हो । सो कारबाहीमा दुई ‘नार्को–आतङ्ककारी’ मारिएको र एक जना जीवितै फेला परेको अमेरिकी सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको छ । उक्त डुङ्गा सूचीकृत आतङ्ककारी सङ्गठनहरूद्वारा सञ्चालित रहेको र लागुऔषध कारोबारमा प्रयोग भइरहेको कमान्डको दाबी छ ।
१३. प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण
इजरायली राष्ट्रपति आइज्याक हर्जोग सिड्नी पुग्नुभएको छ । उहाँको यो चार दिने अष्ट्रेलिया भ्रमण गत डिसेम्बरमा बोन्डी बीचमा भएको आतंकवादी हमलापछि यहुदी समुदायप्रति समर्थन जनाउने उद्देश्यले गरिएको हो । यद्यपि प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिका कारण यो भ्रमण विवादित समेत बनेको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) काअनुसार हर्जोगले एक विज्ञप्ति जारी गर्दै हमलापछिको परिस्थितिमा समुदायप्रति ऐक्यवद्धता प्रकट गर्न र शक्ति प्रदान गर्न अष्ट्रेलियाभरका यहुदी समुदायहरूको भ्रमण गर्ने बताउनुभएको छ । अष्ट्रेलियाका गभर्नर जनरल र प्रधानमन्त्रीको निमन्त्रणामा आउनुभएका हर्जोगले अष्ट्रेलियाली यहुदी समुदायका नेताहरूसँग प्रमुख सामुदायिक कार्यक्रमहरूमा भाग लिने र वरिष्ठ राजनीतिज्ञहरूसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।
१४. काँग्रेस सांसद परियार भन्छन्ः ‘प्रधानमन्त्रीज्यु राष्ट्रिय जिम्मेवारी महशुस गर्नुहोस्, गुण तिर्नेतिर नलाग्नुहोस्’
नेपाली काँग्रेसका सांसद पदम परियाले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महशुस गरेर काम गर्न आग्रह गनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उहाँले प्रधानमन्त्रीलाई निर्वाचनको लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो । सरकारले गरेको पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका उत्पन्न भएको उहाँको भनाई छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्याधिवक्ताको कार्यलय र गैरआवासीय नेपाली संघको महाविधेशनको आयोजक सरकार रहेने विषमा असन्तुष्टी जनाउनु भयो ।
१५. चुनाव नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरियोः सांसद रिजाल
नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा बजारमा काला बजारीहरु सक्रिय भएको आरोप लगाउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उहाँले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गराएर सर्वसाधारणलाई सास्ती दिन थालिएको बताउनुभयो । चुनावी समयमा आपूर्ति प्रणाली अस्थिर पार्ने र अनावश्यक नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृतिम अभाव देखाएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘चुनाव नजिँकिदै जाँदा कालाबजारीहरुले दैनिक उपभोग्य बस्तुको कृतिम अभाव देखाई मुल्यवृद्धि गराएर जनतालाई दुःख दिने कार्य शुरु भएको छ । बजार अनुगमन गरि दोषिलाई कारबाही गर्न सरकारलाई आग्रह गर्दछु ।’ उहाँले बजार अनुगमन गरेर दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
१६. छुटेका भूभाग नक्शामा समावेश ग¥यौँ तर उपभोग गर्न सकेका छैनौँः एमाले सांसद भट्टराई
नेकपा एमालेका सांसद नेपालको नक्शामा छुटेका भूमी लिपुलेक, कालापनी र लिम्पियाधुरालाई नेपालको नक्शामा समावेश गर्न सफल भएपनि उपभोग गर्न नपाएको बताउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बिदाई सम्बोधन गर्नुहुँदै उहाँले सुदूरपश्चिमको सीमावर्ती भूभागलाई नेपालको नक्शामा समावेश गरी संविधानमा व्यवस्था गरिएको निर्णयलाई ऐतिहासिक अवसरका रूपमा लिएको बताउनु भयो । नेकपा एमाले राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहनुभएका उहाँले उक्त निर्णयमा हस्ताक्षर गर्ने क्षणलाई आफ्नो राजनीतिक जीवनकै महत्वपूर्ण क्षणका रूपमा स्मरण गर्नुभयो । भट्टराईकाअनुसार संविधान संशोधनमार्फत समेटिएको सो भूभाग हालसम्म पनि व्यवहारिक रूपमा उपभोग गर्न सकिएको छैन ।
१७. प्राकृतिक स्रोतसाधनको बाँडफाँडमा तीन तहका सरकारबीच सहकार्य आवश्यकः वनमन्त्री चौलागाईं
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले प्राकृतिक स्रोतसाधनको बाँडफाँडमा तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल वातावरण पत्रकार समूहले बुधवार आयोजना गरेको राष्ट्रिय नीति संवाद कार्यक्रममा उहाँले स्रोतसाधनको असमान बाँडफाँड र अन्तरसरकारी समन्वय अभावका कारण संघीय शासन व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको बताउनुभएको हो । संविधानले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहअस्तित्व र सहकार्यको सिद्धान्त अवलम्वन गरेको उल्लेख गर्दै उहाँले व्यवहारमा भने त्यसअनुसार कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । स्रोत बाँडफाँड उपयुक्त रूपमा हुन नसक्दा संघीयताको अभ्यासमाथि नै प्रश्न उठ्न थालेको उहाँको भनाई छ । उहाँले सुशासन, वातावरण संरक्षण र वन व्यवस्थापनसँग जोडिएका मुद्दा स्रोतसाधनको वितरणसँग पनि जोडिएको उल्लेख गनुभयो ।
१८. वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागी सुरक्षा चुनौती बढायोः सांसद रोकाय
नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकको शान्ति–सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठ्न थालेको बताउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उहाँले वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागि सुरक्षा चुनौती बढाएको बताउनुभएको हो । नेपाली काँग्रेसको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहुनुभएका रोकायले प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ कि हुँदैन भन्नेबारे आम नागरिकमा चासो र चिन्ता बढिरहेको बताउनु भयो । उहाँकाअनुसार निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न सुरक्षा चुनौतीका घटनाहरू सार्वजनिक भइरहेका छन् । माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैध रूपमा तस्करी गरी ल्याइएको सामान बरामद गर्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि आक्रमण भएको घटना गम्भिर भएको उहाँको भनाई छ ।
१९. स्थगन गरिएका आयोजनाहरुको बजेट फुकुवा हुने क्रममा छः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरुको आवश्यकताको आधारमा बजेट फुकुवा हुने क्रम जारी रहेको बताउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भूवनबहादुर सुनारले राख्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले कतिपय आयोजनाहरुको बजेट फुकुवा भएर कार्यान्वयनमा समेत गइसकेको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार गठनको समयमा आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा सार्वजनिक सेवाको पुनःसञ्चालनका लागि ठूलो आर्थिक स्रोतको जोहो गर्नुपर्ने अवस्थामा अनुत्पादक आयोजना स्थगन गरिएको बताउनु भयो । उहाँले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न समेत उल्लेख्य बजेट आवश्यक परेको उल्लेख गर्नुभयो ।
२०. चलचित्र विकास बोर्डलाई पुनःसंरचना गर्नुपर्छः सांसदहरु
सांसदहरुले चलचित्र विकास बोर्डलाई स्वायत्त र समावेशी संरचनासहित पुनःसंरचना गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनीहरुले यस्तो धारणा राखेका हुन् । विधेयकलाई थप समावेशी, विज्ञसम्मत र चलचित्रमैत्री बनाउनुपर्नेमा उनीहरुले जोड दिए । बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद गंगाकुमार वेल्वासेले चलचित्र प्रदर्शन अनुमतिका लागि वर्गीकरण गर्ने केन्द्रिय समितिको संरचना चलचित्र क्षेत्रसँग सम्बन्धित दक्ष र प्रतिष्ठित व्यक्तिको नेतृत्वमा हुनुपर्ने बताउनु भयो । उहाँले चलचित्र विकास बोर्डको पदाधिकारी सिफारिस समितिको सिफारिसको आधारमा गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘चलचित्र प्रर्दशन अनुमतिको लागि वर्गीकरण गर्न केन्द्रियस्तरमा रहने समितिको चलचित्र क्षेत्र सम्बन्धित दक्ष र प्रतिष्ठित व्यक्तिको नेतृत्व र उपस्थित बहुमत चलचित्रकर्मीहरुको धारणामा बनाउउनुपर्छ ।
२१. पुरातत्व विभागले भन्यो–पुरातात्विक महत्वका अवशेषहरुको संरक्षण गरौँ
पुरातत्व विभागले पुरातात्विक महत्वका अवशेषहरुको संरक्षणमा ध्यान दिन आग्रह गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुरातत्व विभागले मानव सभ्यता नै नासिने भएकाले पुरातात्विक महत्वका वस्तुको अवशेषहरु भेटिए तत्काल पुरातत्व विभागलाई जानकारी गराउन पनि सर्वसाधारणमा समेत अपिल गरेको हो । विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले काठमाडौं लगायतका पुरातात्विक महत्वका क्षेत्रहरुमा भेटिएमा तत्काल विभागमा जानकारी गराई मानव सभ्यतालाई नासिनबाट जोगाउने काममा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले विकास निर्माणको काम गर्दा पनि पुरातात्वक महत्वका वस्तुहरु भए, नभएको यकिन गरेर मात्रै अघि बढाउन पनि सचेत गराउनु भयो । मानव सभ्यतालाई जोगाउन र यसको पहिचान कायमै राख्न पनि प्रमाणको रुपमा यस्ता अवशेषहरुले महत्वपूर्णं भुमिका खेल्ने भएकाले यसको संरक्षण गर्न अति आवश्यक रहेको महानिर्देशक प्रधानाङ्गको भनाई थियो ।
२२. विपक्षहरुले नै नेकपाले निर्वाचनमा सोचेभन्दा राम्रो नतिजा ल्याउँछ भन्न थालेः पुष्पकमल दाहाल
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गर्नुभएको छ । बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले विपक्ष राजनीतिक दलहरुले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको जिकिर समेत गर्नुभयो । संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले नयाँ भनिएका राजनीतिक दलहरुले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरुमा त्यो नदिएको समेत बताउनु भयो । संयोजक दाहालले आफ्नो पार्टी, काँग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिष्पर्धा हुने पनि बताउनु भयो ।
२३. विकास सहायता प्रतिवद्धतासँगै प्राप्ति पनि बढ्यो
पछिल्लो समय विकास सहायता प्रतिवद्धतासँगै दातृ निकायले दिने त्यस्तो सहायता पनि बढ्दै गएको छ । अर्थ मन्त्रालयकाअनुसार चालु आर्थिक वर्षको ६ महीनाको समीक्षा अवधिमा ६५ अर्ब ३९ करोडको विकास सहायताको प्रतिवद्धता प्राप्त भएको छ । सो मध्ये अनुदान सहायता १९ अर्ब २५ करोड र सहुलियतपूर्ण ऋण सहायता ४६ अर्ब १४ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ५ अर्ब ८४ करोडको विकास सहायताको प्रतिवद्धता प्राप्त भएको थियो, जसमध्ये अनुदान सहायता ५४ अर्ब ७६ करोड र सहुलियतपूर्ण ऋण सहायता १ खर्ब ५१ अर्ब ४० करोड रहेको थियो । चालु आर्थिक वर्षमा विश्व बैंकतर्फ तीनवटा आयोजनाको वार्ता सम्पन्न भईसकेको र एशियाली विकास बैंकतर्फ एउटा आयोजनाको वार्ता हुने क्रममा रहेकोले तेस्रो त्रैमासिक अवधिमा प्रतिवद्धता रकममा उल्लेख्य वृद्धि हुने अवस्था रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
२४. सरकारले किन उठाउन सकिरहेको छैन लक्ष्यअनुसार राजश्व ?
आर्थिक वर्ष २०८२/८३ मा १४ खर्ब भन्दा बढिको राजस्व उठाउने लक्ष्य राखेपनि बजेटको अर्धवार्षिक समीक्षासम्ममा राजश्व न्युन उठिरहेको छ । अर्थ मन्त्रालयकाअनुसार चालु आर्थिक वर्षको पुस महिनासम्ममा मात्रै सरकारले ७ खर्ब ११ अर्ब २० करोड ७८ लाख राजस्व प्राप्तिको लक्ष्य राखेको थियो । तर यो अवधिमा जम्मा ५ खर्ब ८१ अर्ब ४० करोड ७२ लाख संकलन भएको छ । यो रकम राजस्व प्राप्तिको अर्धबार्षिक लक्ष्यको तुलनामा ८१.७५ प्रतिशत संकलन भएको छ तर वार्षिक लक्ष्यको तुलनामा भने यो निकै कमजोर संकलन हो । अर्थ मन्त्रालयकाअनुसार भन्सार विभागबाट संकलन हुने राजस्व आर्थिक वर्ष २०८१/८२ को तुलनामा समीक्षा अवधिमा ८.४८ प्रतिशतले वृद्धि भएको छ । कूल वैदेशिक व्यापार १७.३६ प्रतिशतले र आर्थिक वर्ष २०८१/८२ को तुलनामा समिक्षा अवधिमा प्रमुख १० वस्तुको आयात २७.१० प्रतिशतले वृद्धि भएता तापनि ती वस्तुहरूबाट संकलित राजस्वमा भने ४.७६ प्रतिशतले मात्र वृद्धि भएको देखिन्छ ।
२५. मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुँजीगत खर्च हुन नसक्नुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पनि जिम्मेवार रहेको टिप्पणी गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसको अवसर पारेर बुधवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो । मुख्यमन्त्री यादवले विकास निर्माणको काममा अख्यिारमा उजुरीहरु पर्ने र त्यो आयोजनाको काम नै अघि नबढने अवस्था आउने भएकाले मुलुकमा ५० प्रतिशत पनि पूँजीगत खर्च हुन नसक्ने अवस्था आएको उल्लेख गर्दै त्यसमा सहज वातावरण बनाउने काममा लाग्नुपर्ने बताउनु भयो । उहाँले अख्तियारमा उजुरी परेपछि कर्मचारीहरु निलम्बनमा पर्ने डरले कामै गर्न नसक्ने अवस्था आउँदा पनि विकास, निर्माणको कामले गति लिन नसकेको समेत स्पष्ट पार्नु भयो ।
२६. सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा कहिल्यै पनि विचलित हुनु नहुने बताउनुभएको छ ।्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसको अवसर पारेर बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेश प्रमुख कर्णले मुलुकलाई भ्रष्टाचार मुक्त बनाउनका लागि सार्वजनिक पद धारण गरेकाहरुले आफ्नो पदलाई केवल सेवाभावले मात्रै बुझन आवश्यक रहेको समेत बताउनु भयो । उहाँले जनप्रतिनिधिहरु वा सरकारी कर्मचारीहरुले पदीय मर्यादामा रहँदा जन सेवाको कामलाई आत्मासात गरेर अघि बढे भ्रष्टाचारको जरो आफै उखेलिने समेत स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,‘भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा हामी कहिल्यै विचलित हुनुहुँदैन ।
२७. हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
वागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको अवसरमा हेटौंडास्थित कार्यालयले बुधवार आयोजना गरेको समारोहमा प्रदेश प्रमुख देवकोटाले सार्वजनिक पद धारण गरेको व्यक्तिमा स्वच्छता र सदाचारिता हुनुपर्ने बताउनुभएको हो । अख्तियारको हरेक कदमलाई आम नागरिकले नियालिरहेको उहाँले बताउनु भयो । नियम कानूनको परिधीभित्र रहेर परिणामुखी कार्य गरी जनताको भरोसा जित्न सक्नुपर्ने उहाँको धारणा छ । प्रदेश प्रमुख देवकोटाले संख्यात्मक र सस्तो लोकप्रियता तर्फ अख्तियार लाग्न नहुनेमा पनि सचेत गराउनु भयो । सुशासन र कानूनी सर्वोच्चताका बारेमा विद्यालय शिक्षादेखि नै गहन रुपमा पाठ्यक्रममा विषयवस्तु समावेश गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।—न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij