२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । जेनजी नेपालले नेपाल वायुसेवा निगममा भएको अनियममितता छानविन गर्न माग गरेको छ ।
जेनजी समुहले आइतवार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटी उक्त माग गरेको हो । जेनजी समुहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले निगमका भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएको जानकारी दिए।
उनले वाइडबडी र लाउडा एयर घोटालाको छानविन गरी दोषी ठहर भएकालाई कारबाही गर्न माग गरेको बताए। अदालतबाट दोषि ठहर भएर कार्यन्वयन नभएकाहरुलाई तत्काल कानुनी दायरमा ल्याउन आग्रह गरेको समेत उनले बताए।
साथै, करार कर्मचारीहरु संख्या कटौती गर्नुपर्ने माग राखेको जानकारी दिए। निगमले जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनुपर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने जेनजी समूहको माग छ । आफूहरुको माग पूरा नभए सबैले स्वेछिक राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको शाहीले जानकारी दिए।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा चरम राजनितिक हस्तक्षेप भएको स्वीकार गरे । जेनजीले उठाएका वाइडवडी र लाउडा लगायतका काण्ड २०४६ सालपछि भएको उनले बताए। उनले जहाज खरिदमा मात्रै नभएर विक्रीमा पनि अनियमितता हुने गरेको पाइएको बताए। जहाज विक्री गर्दा ग्राउण्डेड गराएर मात्रै विक्री गर्ने गरिएको उनको भनाई छ । उनले निगमको अनियमितताको छानविनमा कर्मचारीहरुले छानविन समितिलाई सहयोग गरेको पनि बताए ।
जेनजी समुहले सवै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पती विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । निगमले दुर्गममा हवाई रुट थप्नुपर्ने, विद्यार्थी, असहाय तथा गरिबलाई ५० प्रतिशत छुट दिनुपर्ने उनीहरुको माग छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij