२०८२ भाद्र २४ गते मंगलवार
दिल्लीका पूर्वमुख्यमन्त्री एवम् आम आदमी पार्टीका केन्द्रीय संयोजक अरविन्द केजरीवालले भारतीय जनता पार्टीलाई बधाई दिएका छन्।
विधानसभा चुनावको मतगणना जारी रहँदा भाजपा बहुमततर्फ उन्मुख भएपछि केजरीवालले बधाई दिएका हुन्। केजरीवाल स्वयं पनि यसपालि पराजित भए।
उनले जनताले दिएको म्याडेट सहर्ष स्वीकार गर्ने बताए। र जनताले भाजपालाई जुन विश्वासका साथ बहुमत दिएको त्यसअनुसार काम गर्न केजरीवालले अनुरोध गरे। आम आदमी नेतृत्वमा १० वर्षको अवधिमा दिल्लीमा राम्रो काम भएको उनले बताए। चुनावी परिणामअनुसार पराजय निश्चित भएपछि उनले एक भिडिओ सन्देश जारी गरेका छन्।
पछिल्लो १० वर्षमा हामीले शिक्षा स्वास्थ्य पानी बिजुली लगायतका क्षेत्रमा धेरै काम गर्यौं। अलग अलग क्षेत्रमार्फत नागरिकहरूलाई राहत पुग्ने गरी काम गर्ने कोशिस गर्यौं। दिल्लीको भौतिक संरचना पनि सुधार्ने कोशिस गर्यौं, उनले भने।
चुनाव हारेपछि पनि जनताको आदेशअनुसार जिम्मेवार प्रतिपक्षीमात्र नभई समाजसेवामार्फत जनताको सुखदुखमा निरन्तर जोडिने उनले बताए।
सत्ताका लागि राजनीतिमा आएका होइनौं। राजनीति माध्यम मात्रै हो। जसमार्फत जनताको सुख दुखमा काम आउन सकिन्छ। त्यो काम हामी गरिरहनेछौं उनले भने।
केजरीवालले आम आदमी पार्टीका सबै नेता कार्यकर्ताहरूलाई पनि बधाई दिए। उनीहरूले सानदार ढंगले चुनाव लडे। धेरै मेहनत गरे। धेरै सहे। यसका लागि सबैलाई बधाई, उनले भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij