Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण ड्रागन बोट रेसमा चिनियाँ टिमलाई दोहोरो उपाधि

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण ड्रागन बोट रेसमा चिनियाँ टिमलाई दोहोरो उपाधि


  • 1.3K
    Shares

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण ड्रागन बोट रेसमा चिनियाँ टिमलाई दोहोरो उपाधि

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण ड्रागन बोट रेसमा चिनियाँ टोलीले उपाधिमा क्लीन स्वीप गरेको छ । फेवातालमा आइतबार र सोमबार भएको २०० र ५०० मिटर इभेन्ट रेसको दुवैतर्फ पाहुना टोलीले उपाधिमा कब्जा जमाएको हो । नेपाली टिम उपाधिविहीन भयो ।

    २० टिमले भाग लिएको प्रतियोगितामा डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जित्यो । २०० मिटर रेसमा उसले निर्धारित दूरी पार गर्न ४७.७२० सेकेण्ड लगायो । सोही इभेन्टमा चीनकै युन्नान मिन्जु युनिभिर्सिटी दोस्रो भयो । उसले निर्धारित दुरी ४८.२२० सेकेण्डमा पूरा गरेको हो । चीनकै लाइओचेङ युनिभर्सिटी टिमले उक्त दूरी ५०.८३० सेकेण्डमा पूरा गरी तेस्रो भयो ।

    यस्तै, ५०० मिटरको रेसमा उपाधि जितेको डोङग्वान लाओयू क्लबले निर्धारित दुरी २.०४.४७० मिनेटमा पूरा गरेको थियो । लाइओचेङ युनिभर्सिटीको टिम दोस्रो भयो । उसले निर्धारित दूरी २.०७.३४० मिनेटमा पूरा गरेको थियो । यस्तै, २.०८.४४० मिनेटमा दूरी पार गरी युहान स्पोर्टस् युनिभर्सिटी तेस्रो भएको ड्रागन बोट एसोसिएसन गण्डकी प्रदेशका सचिव विवेक भुजेलले जनाए ।

    २०० मिटर र ५०० मिटर दूरीको विजेता समूह डोङग्वान लाओयू क्लबले ५–५ हजार अमेरिकी डलर (नेपाली करिब ६ लाख ७९ हजार) प्राप्त गरेको छ ।

    उपविजेताले २ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार) र तेस्रो हुनेले १२०० डलर (नेपाली करिब १ लाख ६३ हजार) नगदसँगै प्रमाणपत्र र ट्रफी पुरस्कार प्राप्त गरेका छन् । सहभागी सम्पूर्ण टोलीलाई पाँच सय डलर नेपाली करिब ६८ हजार नगद पुरस्कार दिइयो ।

    गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनीज एसोसिएसनको सहआयोजनामा पोखरामा दोस्रोपल्ट यो फेस्टिभल आयोजना भएको हो ।

    संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै यसप्रकारका खेलले पोखराको पर्यटन प्रबद्र्धनमा मात्रै नभई नेपाली र चिनियाँ नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्न सघाउने बताएका थिए । २० टिममा नेपालका ११, चीनका ८ र सिंगापुरका १ टिमले भाग लिएका हुन् । एउटा टिममा १२ जना खेलाडी सहभागी थिए । तीमध्ये एक जनाले चाइनीज ड्रम बजाउने र सोही तालमा अन्य खेलाडीहरूले डुंगा खियाउँदै निर्धारित दूरी पूरा गरेका हुन् ।

    विजेता टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपालका लागि चीनका राजदूत छन् सोङलगायतले पुरस्कार वितरण गरे ।

    ड्रागन बोट रेसमा सहभागी हुने चीनियाँ खेलाडी, प्राविधिक र पाहुनासहित १ सय २९ जनालाई बोकेर सिचुवान एयरलाइन्सको विमानको गत ११ पुसमा चीनको छिन्चुबाट चार्टर उडानमार्फत पोखरा आएको थियो । यो खेल चीनको प्रमुख चार परम्परागत पर्वमध्येको एक हो । परम्परागत चिकित्सा र स्वास्थ्य उत्सवको रुपमा मनाइने ड्रागन बोटरेस फेस्टिभल पोखराको फेवातालमा गत असारमा पनि भएको थियो ।

    गत संस्करणमा चीनको सिचुवान ड्रागन बोटले दोहोरो उपाधि जितेको थियो । २०० र ५०० मिटर इभेन्टमा सिचुवानले उपाधि जित्दा नेपाली टोली नारा दुवैमा उपविजेता भएको थियो । चीनको युनान ड्रागन बोट टिम दुवै विधामा तेस्रो भएको थियो । गत वर्ष ८ टिमले मात्र भाग लिएका थिए ।

    प्रकाशित मिति :पौष १६ २०८१ मंगलवार - ०७:३३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij