२०८२ फाल्गुण १० गते आइतवार
काठमाडौं । जावलाखेल युथ क्लबलाई हराउँदै आयोजक सहारा क्लबले २५औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ।
आयोजक सहारा क्लबले १२ वर्षपछि आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको हो। शनिबार पोखरा रगंशालामा भएको फाइनलमा सहाराले ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो।
खेलको पहिलो हाफमा १–० गोलले अग्रता बनाएको सहाराले दोस्रो हाफमा थप १ गोल गरेको थियो। जितसँगै सहाराले १४ लाख रुपैयाँ हात पारेको छ। उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँ पाएको छ।
प्रतियोगितामा ३ गोल गरेका प्लानिङ ब्वाइज युनाइटेडका पापा आइवौ केवे सर्वाधिक गोलकर्ता बने। उत्कृष्ट गोलरक्षक सहारा क्लबका टिकेन्द्र थापा बने। सहारा क्लबकै डाय डानियल उत्कृष्ट डिफेन्डर बने।
जावलाखेलका बौबोकार सिसोको उत्कृष्ट मिडफिल्डर, धर्वेन्द्र कुँवर उत्कृष्ट फरवार्ड बने। १२ वर्षपछि घरेलु टोलीलाई उपाधि दिलाउन सफल सुनिल रानामगर उत्कृष्ट प्रशिक्षक बने। सहारा क्लबकै मुकुन्दकुमार निउरे उदीयमान खेलाडी बन्दा फेयर प्ले टिमको अवार्ड उज्वेकिस्तानको आभा एफसीले पाएको छ।
उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहाराकै मुकुन्द कुमार निउरे बने, उनले टेलजीको स्कुटर प्राप्त गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij