२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौँ। निर्वाचन आयोगले समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरेको छ।
समानुपातिकतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। निर्वाचन कानुनअनुसार, समानुपातिकमा ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउने ६ दलको सिट निर्धारुण गरिएको भट्टराईले बताए।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरेको हो।
सिट निर्धारण गरेसँगै आयोगले ६ वटै दललाई पत्राचार गरेको छ। आयोगले गरेको बाँडफाँड अनुसार, ३ दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको छ। आयोगका अनुसार, समानुपातिकमा एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। त्यसमध्ये एक करोड ८ लाख ३५ हजार २५ अर्थात ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।
त्यस्तै, प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। त्यसमध्ये ९४.५५ प्रतिशत अर्थात एक करोड ५ लाख ५९ हजार १७ मत सदर भएको आयोगले जनाएको छ।
प्रतिनिधि सभा निर्वाचनमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij