२०८२ फाल्गुण २८ गते बिहिवार
१. स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न र नागरिकलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउन सरकारले स्वदेशी उत्पादकहरूबाट एकमुष्ट (बल्कमा) औषधि खरिद गर्ने नीति ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले औषधिको मूल्य र खरिद प्रक्रियामा रहेको विरोधाभासपूर्ण अवस्थालाई अन्त्य गर्न सरकारले उत्पादकहरूसँग सिधै खरिद गर्ने अवधारणा अघि सारेको बताउनुभएको हो । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हाल नेपालमा एकातिर सर्वसाधारणलाई औषधि अत्यन्तै महँगो परिरहेको र अर्कोतिर कच्चा पदार्थको मूल्य बढे पनि उत्पादकहरूले पुरानै मूल्यमा औषधि बेच्नुपर्दा मर्कामा परेको गुनासो आइरहेको बताउनु भयो । मन्त्री गौतमले ‘विन–विन’ (दुवै पक्षलाई फाइदा हुने) समाधान खोजिएको बताउनु भयो । भारतमा सञ्चालित ‘प्रधानमन्त्री जनऔषधि कार्यक्रम’मा ८० प्रतिशतसम्म छुटमा औषधि विक्री भइरहेको उदाहरण दिँदै उहाँले नेपालमा पनि त्यस्तै मोडल लागू गर्न सकिने बताउनु भयो । यस विषयमा आफूले निजी क्षेत्रका औषधि उत्पादकहरूसँग छलफल गरिसकेको र उहाँहरू सकारात्मक रहेको मन्त्री गौतमले जानकारी दिनुभयो ।
२. राजनीतिक परिवर्तनमा भूमिगत राजनीति गरेका महिलाहरूको योगदान अतुलनीयः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा भूमिगत राजनीति गरेका महिलाहरूको योगदान अतुलनीय रहेको बताउनुभएको छ । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले इतिहासको कठिन कालखण्डमा महिलाले पु¥याएको योगदानलाई राज्य र समाजले सधैँ स्मरण गर्नुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रममा ‘वर्गीय मुक्ति, लैंगिक समानता र सामाजिक न्यायको योद्धाः भूमिगत महिला’ नामक पुस्तक तथा वृत्तचित्र सार्वजनिक गर्दै उहाँले समाजको प्रगतिशील रूपान्तरणका लागि महिलाहरूले खेलेको भुमिकाको उच्च प्रशंसा गर्नुभयो । राजनीतिक परिवर्तनमा नेतृत्व तहमा पुगेकाहरूलाई मन्दिरको गजुरसँग तुलना गर्दै उहाँले जग खन्ने महिलाहरूको पसिना पनि सम्झनुपर्ने बताउनु भयो । गजुर जतिसुकै उज्यालो देखिए पनि त्यसलाई थामेर राख्ने जग खन्दा पसिना बगाउने हातहरूको पौरख र योगदान सदा स्मरणीय र सम्मानित हुने उहाँको भनाइ छ ।
३. बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छः विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीहरूलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताउनुभएको छ । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली महिलाहरू अझै पनि सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । समाजमा बढ्दै गएको घरेलु हिंसा, एसिड आक्रमण, यौन दुव्र्यवहार, बलात्कार तथा हत्या जस्ता घटनाहरूप्रति लक्षित गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्ता अमानवीय कार्यले सिंगो समाजलाई नै कलंकित बनाएको बताउनु भयो । अपराधीहरूले उन्मुक्ति पाउने वा कानूनी छिद्रको प्रयोग गरेर उम्कने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । राज्यको ध्यानाकर्षण गराउन र पीडितलाई न्याय दिलाउन नागरिक समाज र महिला अधिकारवादी संगठनहरूको भुमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
४. नेपाली औषधि उद्योगलाई ‘जस्ट पास’बाट ‘डिस्टिङ्सन’मा पु¥याउने सरकारको लक्ष्य, आत्मनिर्भर बन्न आग्रह
अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपाली औषधि उद्योगहरूलाई ‘म्यासिभ प्रोडक्सन’ (व्यापक उत्पादन) तर्फ लाग्न र देशलाई औषधिमा आत्मनिर्भर बनाउन आग्रह गर्नुभएको छ । नेपालमा औषधि उद्योगको धेरै विकास भएपनि अझै थुप्रै काम गर्न बाँकी रहेको भन्दै उहाँले सरकारले यस क्षेत्रलाई आक्रामक रूपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । फार्मा एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । हाल नेपालमा करिव ८८ वटा औषधि उत्पादक कम्पनीहरू रहेको र तीमध्ये ५० वटाले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लुएचओ जिएमपी) प्रमाणपत्र पाएको बताउनु भयो । उहाँले यसलाई अझै परिष्कृत गर्नुपर्ने बताउनु भयो ।
५. नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत बन्दै गरेको यो पुल नेपालकै पहिलो ‘एक्स्ट्रा डोज केबल स्टे’ प्रविधिको नमूना पुल हो । एशियाली विकास बैंक (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालकाअनुसार यस पुलको डिजाइन कैलालीको चिसापानीस्थित कर्णाली पुलको संरचनासँग मिल्दोजुल्दो छ । यद्यपि, कर्णाली पुलमा बीचमा एउटा मात्र टावर छ भने यसमा दुईवटा टावर रहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुरक्षालाई ध्यानमा राख्दै (हाइट रेस्ट्रिक्सनका कारण) पुलको टावरको उचाई १२ मिटर मात्र राखिएको छ । सामान्यतया यस्ता पुलका टावर २० देखि ३० मिटर अग्ला हुने भए पनि उचाइ कम गर्नुपरेकाले ‘एक्स्ट्रा डोज’ प्रविधि अपनाइएको हो ।
६. देशमा राजनीतिक स्थिरताको चुनौती कायमै, समाजवादको लक्ष्यमा पुग्न राष्ट्रिय एकता आवश्यकः अष्टलक्ष्मी शाक्य
नेकपा एमालेकी नेतृ तथा वागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताउनुभएको छ । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको हो । सबै नेपालीले देशलाई माया गर्नुपर्नेमा उहाँको जोड छ । देश कसरी अगाडि बढ्छ भन्ने आम नागरिकको जिज्ञासालाई सम्बोधन गर्दै उहाँले वर्तमानका चुनौतीहरुलाई सामना गर्न सम्पूर्ण नेपालीबीच एकताको आवश्यकता औंल्याउनु भयो । नेतृ शाक्यले देश रहे मात्र नागरिकको अस्तित्व रहने कुरामा जोड दिनुभयो । देकशलाई माया गर्न र नेपाली–नेपालीबीच एकताको भावना विकास गर्न उहाँले सबैमा आह्वान गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
७. गुणस्तरीय औषधि उत्पादन र निर्यातका लागि राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गरिँदै
अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा उत्पादित औषधिको गुणस्तर मापन गर्न र निर्यात प्रवद्र्धन गर्न राष्ट्रिय औषधि प्रयोगशालाको तत्काल स्तरोन्नति गरिने बताउनुभएको छ । हाल बजारमा उपलब्ध हजारौं प्रकारका औषधिहरूको परीक्षण गर्ने क्षमता राज्यसँग नभएको यथार्थलाई स्वीकार गर्दै मन्त्री गौतमले प्रयोगशालाको भौतिक तथा जनशक्ति विकासमा सरकारले काम शुरु गरिसकेको बताउनुभएको हो । बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री गौतमले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको प्रारम्भिक विश्लेषणअनुसार नेपालको औषधि व्यवस्था विभाग हाल ‘लेभल वान’ (स्तर एक) मा मात्र रहेको र यसलाई कम्तीमा ‘लेभल थ्री’ वा ‘लेभल फोर’मा पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । गुणस्तरहीन र म्याद गुज्रिन लागेका कच्चा पदार्थ (र–म्याटेरियल) भित्रिन नदिन र उत्पादित औषधिको सही विश्लेषण गर्न अत्याधुनिक प्रयोगशाला अनिवार्य रहेको उहाँको भनाइ छ ।
८. कानूनले मात्र समाज परिवर्तन हुँदैनः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान र कानूनले महिला अधिकारको क्षेत्रमा उल्लेखनीय व्यवस्था गरे पनि समाजमा विद्यमान पितृसत्तात्मक सोच र कुप्रथाका कारण त्यसको व्यावहारिक कार्यान्वयनमा अझै ठूलो चुनौती रहेको बताउनुभएको छ । मोतिदेवी स्मृति केन्द्रद्वारा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नीतिगत उपलब्धिहरू प्राप्त भए पनि समाजको तल्लो तहसम्म त्यसको अनुभूति हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । नेपालको संविधानले महिला समानताको हक, समानुपातिक सहभागिताको हक, प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार र महिलाविरुद्धको हिंसामा प्रतिवन्ध लगायतका विषयलाई मौलिक हककै रूपमा स्थापित गरेको बताउनु भयो । आजको आधुनिक युगमा पनि नेपाली समाजमा बालविवाह, बहुविवाह, दाइजो तथा तिलक प्रथा, छाउपडी र बोक्सीको आरोप जस्ता अमानवीय कुपरम्पराहरू कायमै रहनु दुःखद् भएको उहाँको भनाइ छ । यस्ता गहिरोसँग जरा गाडेका प्रथा, परम्परा र मान्यताहरू केवल कानुन बनाएर मात्र परिवर्तन नहुने कुरामा उनले जोड दिनुभयो ।
९.कर्णाली र सुदूरपश्चिमलाई आयुर्वेद औषधिको केन्द्र बनाउने स्वास्थ्यमन्त्रीको घोषणा
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आयुर्वेद औषधिको अनुसन्धान र उत्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपालका हिमाली तथा उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटीको सदुपयोग गर्दै आयुर्वेद औषधि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने सरकारको दीर्घकालीन सोच रहेको उहाँले प्रस्ट पार्नुभयो । फार्मा एक्स्पोमा उपस्थित विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरूलाई सम्बोधन गर्दै मन्त्री गौतमले एलोपेथिक (आधुनिक) औषधिको उत्पादन मध्य र पूर्वी नेपालमा केन्द्रित रहेकाले अब आयुर्वेदलाई पश्चिम नेपालमा विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । यसो गर्न सकेमा देशको सन्तुलित विकास हुने र नेपाललाई आवश्यक पर्ने सबै प्रकारका औषधिहरू स्वदेशमै उत्पादन हुने उहाँको भनाइ छ । हालै जुम्लाको भ्रमण गरेर फर्किनुभएकी मन्त्री गौतमले भन्नुभयो, ‘हाम्रो जडीबुटी सबै हिमालमा छ । जुम्लास्थित मेडिकल कलेज र इन्स्टिच्युटहरूमा आयुर्वेदिक तर्फको अनुसन्धान र खोजलाई तीव्रता दिनुपर्छ । अहिले हाम्रा धेरैजसो औषधि उद्योग र प्रयोगशालाहरू बारा, पर्सा र गण्डकी प्रदेशमा केन्द्रित छन् ।
१०. ‘खादा र टिका लगाएर रातारात नेता बन्ने प्रवृत्तिले राजनीति सस्तो र विकृत बन्यो’ः पम्फा भुसाल
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले राजनीति अत्यन्तै सस्तो र विकृत बन्दै गएको बताउनुभएको छ । मोतीदेवी स्मृति केन्द्रको कार्यक्रममा बोल्दै नेतृ भुसालले यस्तो बताउनुभएको हो । उहाँले विगतका राजनीतिक आन्दोलनहरूमा नेता तथा कार्यकर्ताले गरेको कठोर त्याग, तपस्या र जेलनेलको स्मरण गर्दै अहिले बिना कुनै संघर्ष ‘खादा र टिका’ को भरमा पद र अवसर प्राप्त गर्ने होडबाजी चलेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले त्यागको ठाउँमा सस्तो लोकप्रियता र अवसरवाद हाबी हुनु नेपाली राजनीतिको ठूलो विडम्बना भएको बताउनु भयो । आन्दोलनमा रगत पसिना बगाएका, कितावमा नाम नलेखिएका र मञ्चमा उपस्थित गराउन नसकिएका हजारौँ योद्धाहरू ओझेलमा परेको तर संघर्ष नै नगरेकाहरूले राजनीति गरिरहेको बताउनु भयो । न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र राजनीतिमा महिलाहरूको बढ्दो उपस्थितिले केही आशा जगाए पनि राजनीतिमा भित्रिएको ‘सस्तो अवसरवाद’ ले समग्र आन्दोलनको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गर्नुभयो ।
११. अजरबैजानले आगामी ३ वर्षमा ग्यास उत्पादन १० अर्ब घनमिटरले बढाउने
अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले बुधवार अजरबैजानले आगामी दुई देखि तीन वर्षभित्र आफ्नो ग्यास उत्पादन कम्तीमा १० अर्ब घनमिटरले बढाउने लक्ष्य राखेको बताउनुभएको छ । राष्ट्रपतिको आधिकारिक वेबसाइटकाअनुसार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासँगको संयुक्त पत्रकार सम्मेलनमा अलियेभले अजरबैजानले यस वर्ष ग्यास उत्पादन बढाउने योजना बनाएको कुरा स्मरण गराउनुभएको हो । अलियेभले अजरबैजानले पाँच देखि ६ वर्षभित्र निर्यातका लागि ६ देखि आठ गिगावाट नवीकरणीय ऊर्जा क्षमता तयार गर्ने लक्ष्य राखेको छ । युरोपेली ऊर्जा सुरक्षामा अजरबैजानको बढ्दो भुमिकालाई जोड दिँदै अलियेभले युरोपेली संघका १० सदस्य राष्ट्रहरूले अजरबैजानबाट ग्यास प्राप्त गरिरहेको बताउनु भयो । अजरबैजानी राष्ट्रपतिले जनवरीमा देशको कुल व्यापारको आधा हिस्सा युरोपेली संघको रहेको र यसले संघलाई देशको प्रमुख व्यापारिक साझेदार बनाएको कुरा पनि उल्लेख गर्नुभयो ।
१२. अर्थतन्त्रलाई विविधिकरण गर्न अफगानिस्तानद्वारा थप माछा फार्महरू निर्माण गर्ने योजना
आर्थिक मामिलाका उपप्रधानमन्त्रीको कार्यालयकाअनुसार अफगानिस्तानभर थप ७ हजार ७ सय माछा फार्महरू निर्माण गर्ने योजना रहेको छ । यो कदम परम्परागत कृषिभन्दा बाहिर अर्थतन्त्रलाई विविधीकरण गर्ने र दिगो विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले देशको व्यापक राष्ट्रिय रणनीतिहरूसँग मेल खान्छ । कार्यालयले प्रमुख प्रान्तहरूमा ४ हजार ६ सय ७० माछा फार्महरू सञ्चालनमा रहेको र देशको माछापालन उद्योगले करिव १२ हजार व्यक्तिहरूलाई रोजगारी दिएको बताएको छ । यी फार्महरूको वार्षिक उत्पादन क्षमता १३ हजार मेट्रिक टन रहेको छ र यसमा करिव १२ अर्ब अफगानी (१९ करोड अमेरिकी डलरभन्दा बढी) को लगानी रहेको कार्यालयले जनाएको छ ।
१३. केन्याका राष्ट्रपतिद्वारा आर्थिक वृद्धिलाई बढावा दिन पूर्वाधार कोषसम्बन्धी कानूनमा हस्ताक्षर
केन्याका राष्ट्रपति विलियम रुटोले सोमबार आर्थिक वृद्धिलाई गति दिन राष्ट्रिय पूर्वाधार कोषलाई कानूनको रूपमा हस्ताक्षर गर्नुभएको छ । उहाँले यस कोषको स्थापनालाई देशको विकास इतिहासकै सबैभन्दा महत्वपूर्ण पहलको रूपमा वर्णन गरेका छन् । केन्याको राजधानी नैरोबीमा बोल्दै उहाँले स्वदेशी पुँजी परिचालनले विकासका लागि अत्यधिक रूपमा विदेशी ऋणमा निर्भर हुँदा उत्पन्न हुने प्रमुख चुनौतीहरू समाधान गर्न मद्दत गर्ने बताउनु भयो । उहाँले जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार यस कोष अन्तर्गत वित्तपोषण हुने पहिलो परियोजना हुने बताउनु भयो । यसमा कोष र स्वदेशी संस्थागत लगानीकर्ताहरूबाट करिव २० अर्ब केन्याली सिलिङ (करिब १५ करोड ५० लाख अमेरिकी डलर) को इक्विटी सहभागिता रहनेछ ।
१४. जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
जापानी प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले अघि बढाएका मिसाइल तैनाथी र घातक हतियार निर्यातलाई सहज बनाउने जस्ता नीतिहरूको विरोध गर्न मध्य टोकियोमा करिव १० हजार मानिसहरू भेला भएका छन् । चिसो मौसमको बाबजुद, जापानको राष्ट्रिय डायट (संसद) भवन बाहिर प्रदर्शनकारीहरूले युद्ध चाहिँदैन र संविधान कुल्चिन बन्द गर लेखिएका प्लेकार्डहरू बोकेका थिए । उनीहरूले देशको शान्तिवादी सिद्धान्तहरूप्रति आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गर्दै जापानको संविधानको धारा ९ पनि सामूहिक रूपमा पढेर सुनाए । अघिल्ला विरोध प्रदर्शनहरूको तुलनामा यस ¥यालीमा युवा सहभागीहरूको ठूलो संख्या देखियो । एक प्रदर्शनकारी, अया यासुईले भर्खरै जापानको रक्षा मन्त्रालयले कुमामोतो प्रिफेक्चरमा लामो दूरीको मिसाइल लन्चरहरू तैनाथ गरेकोमा चिन्ता व्यक्त गरिन् ।
१५. दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले टर्मिनल हाई एल्टिच्युड एरिया डिफेन्स (थाड) ब्याट्रीका इन्टरसेप्टर क्षेप्यास्त्रहरू मध्यपूर्वमा सार्ने तयारी गरिरहेको एक स्थानीय पत्रिकाले बुधवार जनाएको छ । डोङ–ए इल्बोले एक अज्ञात उच्च पदस्थ दक्षिण कोरियाली सरकारी अधिकारीलाई उद्धृत गर्दै थाड इन्टरसेप्टर क्षेप्यास्त्रहरूलाई उत्तर ग्योङसाङ प्रान्तको सियोन्जु काउन्टीबाट राजधानी सियोलबाट करिव ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकस्थित ओसान एयर बेसमा सारिएको बताएको छ । यसलाई युएस फोर्सेस कोरियाले क्षेप्यास्त्रहरूलाई मध्यपूर्वमा पुनः तैनाथ गर्ने तयारी गरिरहेको रूपमा हेरिएको अर्का अधिकारीले उल्लेख गरे । वासिङ्टन पोस्टकाअनुसार पेन्टागनले दक्षिण कोरियाबाट थाड ब्याट्रीका केही भागहरू मध्यपूर्वमा सार्दै छ भने इन्डो–प्यासिफिक क्षेत्र र अन्य ठाउँहरूमा रहेको आफ्नो प्याट्रियट इन्टरसेप्टरहरूको आपूर्तिबाट पनि तानिरहेको छ ।
१६. पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा
प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित संयुक्त राष्ट्रसंघीय स्थिरीकरण मिसनले बुधवार उत्तरी किभु प्रान्तको राजधानी गोमा सहरमा ड्रोनको प्रयोग गरिएको घटनाको निन्दा गरेको छ । बुधवार बिहान गोमामा विस्फोटका आवाजहरू सुनिएका थिए । ‘मार्च २३ मुभमेन्ट’ विद्रोही समूहले उक्त ड्रोन आक्रमण कंगो सरकारको सेनाले गरेको आरोप लगाएको छ । मुभमेण्टले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार आक्रमणमा संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मा कार्यरत एक फ्रान्सेली नागरिकसहित तीन जनाको मृत्यु भएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार स्थानीय समयअनुसार बिहान करिव ४ बजे बम खसालिएको थियो । जसका कारण सहरका केही बस्तीहरूमा शक्तिशाली विस्फोट भएको थियो । यस विषयमा कंगो सरकारले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । प्रमुख क्षेत्रीय सहरी केन्द्रको रूपमा रहेको गोमा शहर जनवरी २०२५ को अन्त्यदेखि मार्चः २३ विद्रोहीहरूको नियन्त्रणमा छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार पछिल्ला केही हप्तायता उत्तरी किभु र दक्षिणी किभु प्रान्तका विभिन्न मोर्चाहरूमा कंगोका सरकारी सेना र मार्चः२३ विद्रोहीहरूबीचको लडाइँ तीव्र बनेको छ ।
१७. मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधवार मध्यपूर्व र सोभन्दा बाहिरका सबै पक्षहरूलाई आफ्ना सैन्य गतिविधिहरू तुरुन्त रोक्न, थप तनाव नबढाउन र नागरिक तथा नागरिक पूर्वाधारमाथिका सबै आक्रमणहरूको निन्दा गर्ने मस्यौदा प्रश्ताव पारित गर्न असफल भएको छ । परिषद्ले रुसद्वारा प्रायोजित उक्त मस्यौदा प्रश्तावलाई अस्वीकार ग¥यो । जसमा पक्षमा चार मत, विपक्षमा दुई मत र नौ सदस्यहरू मतदानमा अनुपस्थित रहेका थिए । रुस, चीन, पाकिस्तान र सोमालियाले प्रश्तावको पक्षमा मतदान गरे भने संयुक्त राज्य अमेरिका र लाटभियाले यसको विपक्षमा मतदान गरे । यसअघि सुरक्षा परिषद्ले मध्यपूर्वको वर्तमान संकटसम्बन्धी एउटा अर्को मस्यौदा प्रश्ताव पारित गरेको थियो । यो संकट फेब्रुअरी २८ मा शुरु भएको अमेरिका र इजरायलको इरानमाथिको संयुक्त सैन्य आक्रमण र त्यसपछि यस क्षेत्रभरि इरानले गरेको जवाफी कारबाहीका कारण उत्पन्न भएको हो । खाडी सहयोग परिषद्को तर्फबाट बहराइनले पेश गरेको उक्त मस्यौदा प्रश्ताव १३ मतको समर्थन र दुई मतको अनुपस्थितिमा पारित भएको थियो ।
१८. म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी
आधिकारिक टेलिभिजन च्यानल एमआरटीभीका अनुसार २०२६ को परीक्षाको पहिलो दिन बुधवार म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा कुल २ लाख ५५ हजार २ सय २८ विद्यार्थी सहभागी भएका छन् । यो संख्या परीक्षाका लागि दर्ता भएका विद्यार्थीहरूको ९४.९७ प्रतिशत हो । रिपोर्टमा थपिएको छ कि ८ सय ८७ परीक्षा केन्द्रहरूमा कुल २ लाख ६८ हजार ७५३ विद्यार्थीले दर्ता गराएका थिए । आधिकारिक तथ्याङ्कअनुसार यस वर्ष परीक्षा दिने विद्यार्थीको कुल संख्या २०२५ मा म्याट्रिक परीक्षा दिएका २ लाख ८ हजार ८८९ विद्यार्थीको तुलनामा बढेको छ । केन्द्रीय शिक्षामन्त्री चो चो सेनले परीक्षाको निरीक्षण गर्न कायिन राज्यका विद्यालयहरूको भ्रमण गरेको रिपोर्टमा उल्लेख छ । म्यानमारका अधिकारीहरू जसमा प्रशासनिक अधिकारीहरू, स्वास्थ्यकर्मीहरू, अग्नि नियन्त्रकहरू, सुरक्षा अधिकारीहरू र ट्राफिक प्रहरीहरू समावेश छन् । उनीहरूले देशभर परीक्षा प्रक्रियालाई सहज बनाउन सहयोग गरिरहेका छन् । यस वर्षको परीक्षा मार्च १७ सम्म चल्नेछ । म्यानमारमा यो परीक्षा उत्तीर्ण गरेपछि मात्र विद्यार्थीलाई विश्वविद्यालयमा भर्ना हुने अवसर मिल्छ ।
१९. युद्धले पूरै क्षेत्रलाई गाँज्नुअघि नै रोकिनुपर्छः एर्दोगान
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इरानमाथिको आक्रमणबाट शुरु भएको युद्ध थप फैलिनु र पूरै क्षेत्रलाई आगोमा धकेल्नु अघि नै रोकिनुपर्ने बताउनुभएको छ । उहाँले कुटनीतिले अझै पनि तनाव कम गर्ने बाटो देखाउने कुरामा जोड दिनुभयो । संसदमा आफ्ना पार्टीका सदस्यहरूलाई सम्बोधन गर्दै एर्दोगानले उक्त टिप्पणी गर्नुभएको हो । एर्दोगानले टर्कीले कुटनीतिक प्रयासहरू जारी राखेको बताउनु भयो । उहाँले अंकाराले यस क्षेत्रमा साम्प्रदायिक द्वन्द्व भड्काउने प्रयास र अन्य अस्थिरता निम्त्याउने परिदृश्यहरू विरुद्ध पनि सावधानी अपनाइरहेको बताउनु भयो ।
२०. लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५७० पुग्यो
बेरुतः लेबनानमा जारी इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ५७० पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को प्रकोप जोखिम व्यवस्थापन इकाईले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत मार्च २ देखि शुरु भएको तनावमा हालसम्म १ हजार ४ सय ४४ जना घाइते भएका छन् । यस द्वन्द्वले देशभर ठूलो स्तरमा विस्थापन निम्त्याएको छ । सरकारी तथ्याङ्कअनुसार हालसम्म करिब ७ लाख ५९ हजार ३०० जना विस्थापितका रूपमा दर्ता भएका छन् । अधिकारीहरूका अनुसार युद्धका कारण घर छोड्न बाध्य भएका परिवारहरूका लागि विभिन्न क्षेत्रमा ५८० वटा आश्रयस्थलहरू स्थापना गरिएका छन्, जहाँ हाल १ लाख २२ हजार ६०० विस्थापित मानिसहरू बसोबास गरिरहेका छन् । यसैबीच लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायलले मंगलबार दिउँसो बेरुतको दक्षिणी उपनगरीय क्षेत्रमा तीनवटा हवाई आक्रमण गरेको छ । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा पनि इजरायली आक्रमणहरू जारी रहेका छन् ।
२१. स्पेनमा इन्धनको मूल्य वृद्धि
स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको भूराजनीतिक तनावका कारण मूल्य वृद्धि भएको हो । जसले गर्दा जीवनयापनको लागत बढ्ने भन्दै जनमानसमा चिन्ता छाएको छ । दुई हप्ताअघि डिजेलको मूल्य प्रतिलिटर करिव १.५७ युरो थियो । तर अहिले बढेर १.८५ युरो पुगेको छ । जुन झन्डै ३० सेन्टको वृद्धि हो । अन्य अन्तर्वार्तादाताहरूले इन्धनको मूल्यमा भएको यो वृद्धिले यात्रा खर्च मात्र नबढाई ढुवानी (लजिस्टिक) को लागत पनि बढाउन सक्ने बताएका छन् । जसको असर अन्ततः खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा देखिन सक्छ । केहीले भने तनाव जारी रहेमा तेलको मूल्य अझै बढ्न सक्ने र यसले अर्थतन्त्र तथा मानिसहरूको जीविकोपार्जनमा थप दबाब सिर्जना गर्ने चिन्ता पनि व्यक्त गरेका छन् ।
२२. अर्थमन्त्रीले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रसँग समसामयिक आर्थिक विषयमा छलफल गर्नुभएको छ । अर्थमन्त्री खनालले बिहीवार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारी लगायतसँग छलफल गर्नुभएको हो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको लगायतका विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिनुभयो । छलफलमा निजी क्षेत्रले वर्तमान अवस्थामा राजश्व अभिवृद्धिका लागि केही नीतिगत संशोधन आवश्यक रहेको विषय उठाएको पनि उहाँले बताउनु भयो । उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रणमा विषय पनि छलफल भएको बताउनु भयो ।
२३. कम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजे कोही पनि रहँदैनन्ः पम्फा भुसाल
नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पछिल्लो राजनीतिक परिस्थितिले मुलुकमा वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता झनै बढेको बताउनुभएको छ । बिहीवार विविध क्षेत्रका प्रेरणादायी महलिाहरुको सम्मान तथा वृत्तचित्र सार्वजनिक गर्न मोतीदेवी स्मृति केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजेको अवस्थामा कोही पनि नरहने स्थिति रहेको भुसालको भनाइ छ । उहाँले वामपन्थीहरूबीच एकता गरेर अघि बढे मात्रै वाम आन्दोलनको त्याग, तपस्या र बलिदानको औचित्य पुष्टि हुने जिकिर गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको राजनीति सस्तो बन्दै गएको टिप्पणी गर्नुभयो । उहाँले खादा–टिका लगाएर पार्टी नेतृत्व पुग्ने र राजनीतिक अवसर प्राप्त गर्ने प्रवृत्ति देखापरेको भन्दै यसलाई राजनीतिक विकृतिका रुपमा व्याख्या गर्नुभयो । भुसालले नेपालमा महिला आन्दोलनको उपलब्धि ठूलो संघर्षको परिणाम भएको उल्लेख गर्दै अहिले राजनीतिमा, न्यायपालिकामा, प्रशासनिक र सुरक्षा क्षेत्रमा देखिएको महिला सहभागिताको पछाडि दीर्घ संघर्ष रहेको बताउनु भयो ।
२४. निर्वाचन प्रहरीको बिदाई
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको कार्यावधि समाप्त भएसँगै बिदाई गरिएको छ । फागुन २१ मा सम्पन्न निर्वाचन गराउनको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर भर्ना गरेका निर्वाचन प्रहरीको बिहीवार बिदाई गरिएको हो । उनीहरुलाई ४० दिनका लागि भर्ना गरिएकोमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुका साथै मतगणना समेत सम्पन्न भइसकेको छ । निर्वाचन प्रहरी अर्जुन खत्रीले शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सफल भएमो खुशी व्यक्त गर्नुभयो । उहाँले अब बन्ने सरकारले निर्वाचन प्रहरीको लागि उचित रोजगारको व्यवस्था गर्नुपर्ने माग समेत गर्नुभयो ।
२५. ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक अस्थीरता घटाउन सक्ने निष्कर्ष निकालेको छ । रास्वपाको पक्षमा आएको चुनावी नतिजाले नीतिगत स्थिरता, सुशासन र आर्थिक सुधार कार्यान्वयनका लागि नयाँ अवसर प्रदान गर्ने सम्भावना रहेको फिचले निष्कर्ष निकालेको हो । मुलुकमा पछिल्ला वर्षहरुमा कुनै पनि पार्टीले जनादेश नल्याउँदा राजनीतिक अस्थिरता हुनुका साथै लगानीकर्ताको मनोबल पनि कमजोर बन्दै आएको थियो । फिचकाअनुसार रास्वपाको जितले सत्तका लागि बारम्बार गरिने अप्राकृतिक गठबन्धनको जोखिमलाई टारेको छ । विगतका वर्षहरूमा हुने गरेका बारम्बारको सरकार परिवर्तनको शृंखला रोकिने सम्भावनाले गर्दा लगानीकर्ताहरूको मनोबल बढ्न सक्ने फिचको प्रक्षेपण छ ।
२६. धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
चालु आर्थिक वर्षको सात महीनाको अवधीमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघसम्मको तथ्यांक अनुसार ०८२ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम भएको छ । त्यसअघि २०८१ माघ मसान्तमा बजार पुँजीकरण ४४५८ अर्व ५२ करोड रहेको थियो । सो अवधिमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७८.०९ प्रतिशत रहेकोमा २०८२ माघमा ७३.४३ प्रतिशत रहेको छ । राष्ट्र बैंककाअनुसार ०८१ माघ मसान्तमा २६८५.७३ रहेको नेप्से सूचकांक रहेकोमा ०८२ माघ मसान्तमा २६७१.०७ कायम भएको छ भने नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८४ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । जलविद्युत कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ माघमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो ।
२७. नयाँ सरकारले स्थायी नीति लिनुपर्छ– अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताउनुभएको छ । बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको बताउँदै त्यो पूरा हुन लागेको बताउनुभएको हो । उहाँकाअनुसार स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि बढाउन सक्छ । अहिले करिव दुई तिहाई बहुमत नजिकको सरकार बन्न लागेको भन्दै ढकालले निजी क्षेत्रसँग सम्बन्धित विषयहरू रास्वपाको वाचापत्रमा पनि समावेश गरिएको स्मरण गराउनु भयो । उहाँले रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिवद्धताहरू व्यक्त गरेको उल्लेख गर्दै ती प्रतिवद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताउनु भयो । ढकालकाअनुसार ती प्रतिबद्धताहरू प्रभावकारी रूपमा लागू भएमा छोटो समयमा नै धेरै काम गर्न सम्भव हुनेछ । वाह्य तथा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने खालका नीतिहरू अबको सरकारले लिनुपर्ने समेत उहाँले बताउनु भयो ।
२८. विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने
विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह दिने भएको छ । बिहीवारदेखि विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर सो बैंकले विशेष कस्टमर सर्भिस एरिया शुभारम्भ गरेको हो । शुभारम्भ कार्यक्रममा ग्लोवल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा बसेका नेपाललाई लक्षित गरेर बैंकले २४ सै घण्टा सेवा प्रवाह आजैदेखि थाल्न निर्देशन दिनुभयो । ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड सबै पक्षबाट नम्बर १ बैंक भएकाले विदेशमा बस्ने नेपालीका लागि सेवा सुविधाका लागि छुट्टै डिभिजन स्थापना गरेर सेवा प्रवाह बैंकिङ इतिहासमै पहिलोपटक थालिएको बताउनु भयो । अध्यक्ष ढकालले भन्नुभयो–‘ग्लोवल आइएमई बैंक जुन रुपमा नम्बर वान बनिरहेको छ । हाम्रा हरेक आउटपुट त्यही अनुरुप प्यारामिटरमा आउनुपर्छ । नेपालीहरु अष्टेलिया, युरोप, अमेरिका, मध्यपूर्वीदेशदेखि कोरिया, जापान लगायत विभिन्न देशमा नेपालीहरु रहेका कारण आजै देखि २४ सैँ घण्टा कस्टुमर सर्भिस दिने हिसाबले काम थाल्नुपर्छ ।
२९. समानुपातिक सीटको बाँडफाँट टुङ्गियो, कुन दललाई कति सिट ?
निर्वाचन आयोगले समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरेको छ। समानुपातिकतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। निर्वाचन कानुनअनुसार, समानुपातिकमा ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउने ६ दलको सिट निर्धारुण गरिएको भट्टराईले बताए। आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरेको हो। सिट निर्धारण गरेसँगै आयोगले ६ वटै दललाई पत्राचार गरेको छ। आयोगले गरेको बाँडफाँड अनुसार, ३ दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको छ। आयोगका अनुसार, समानुपातिकमा एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। त्यसमध्ये एक करोड ८ लाख ३५ हजार २५ अर्थात ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ। –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij