२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सरकारले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार दिएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरे ।
गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको प्रतियोगितामा नेपाल दोस्रो भएको थियो । प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे।
‘हाम्रा खेलाडी छोरीहरूलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ। खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ। तपाईँहरु जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस्।’
उनले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नती गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरे।
दशरथ रंगशालाको खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र रंगशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन ध्यानाकर्षण प्रधानमन्त्री ओलीले गराएका छन्। यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गरेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij