२०८२ भाद्र २ गते सोमवार
इंग्ल्यान्डलाई पराजित गर्दै भारत अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा भारतसँग इंग्ल्यान्ड ६८ रनले पराजित भएको हो।
प्रोभिडेन्समा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले १७२ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १०३ रनमै अलआउट भयो। योसँगै भारत जारी विश्वकपमा आफ्नो अपराजित लय कायमै राख्न सफल भयो।
इंग्ल्यान्डको इनिङ ध्वस्त पार्न भारतीय बलर सफल भए। भारतका अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट हात पार्दा जसप्रित बुमराहले २ विकेट लिए। अर्शदीप सिंह, रविन्द्र जडेजा र हार्दिक पाण्ड्याले विकेट लिन सकेनन्।
इंग्ल्यान्डका जस बटलर २३, ह्यारी ब्रुक २५, जोफ्रा आर्चर २१ रन जोड्न सफल भए पनि अन्य ब्याट्सम्यान भारतीय बलरसामु टिक्न सकेनन्।
ओपनर फिल साल्ट ८ बल खेलेर आउट हुँदा मोइन अली १० बलमा ८ रन मात्र जोड्न सफल भए। जोनी बेर्स्टो ३ बल खेलेर शून्य रनमा आउट भए भने साम करानले २ रन, लियाम लिभिंगस्टोन ११, क्रिस जोर्डन १, अदिल रशिद २ र रिस टपले ३ रनमा नटआउट रहे। भारतीय बलरबाट इंग्ल्यान्डले २ रन उपहार पाएको थियो।
दक्षिण अफ्रिकासँग फाइनल भिडन्त
इंग्ल्यान्डविरुद्धको जितपछि भारत फाइनलमा पुगेको छ। यसअघि नै अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको दक्षिण अफ्रिकासँग भारतले उपाधिका लागि खेल्नेछ। फाइनल खेल शनिबार राति सवा ८ बजे बार्बाडोसमा हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij